११ असार, विराटनगर । झुटो विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताका लागि सिफारिस दिएको आरोपमा मोरङको रंगेली नगरपालिकाका दुई जनप्रतिनिधि पक्राउ परेका छन् ।
अंगीकृत नागरिकताका लागि झुटो विवरणका आधारमा सिफारिस गरेको आरोपमा बिहीबार रंगेली नगरपालिका – ५ का वडाध्यक्ष ५५ वर्षीय महानन्द मण्डल र सोही वडाका सदस्य ४६ वर्षीय गणेश ऋषिदेव पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार, मनुवाकुमार महतो नाम गरेका एक व्यक्तिले अधनुनिया महतोलाई आफ्नो नक्कली आमा खडा गरी अंगीकृत नागरिकताका लागि आवेदन दिएका थिए । सो आवेदनका लागि आवश्यक पर्ने सर्जमिन मुचुल्का र सिफारिस वडाध्यक्ष मण्डल र वडा सदस्य ऋषिदेवले उपलब्ध गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मोरङ प्रहरीका सूचना अधिकारी एवं डीएसपी मकेन्द्रकुमार मिश्रले प्रशासनको निर्देशनका आधारमा जनप्रतिनिधिहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको उनले बताए । नक्कली आमा देखाएर नागरिकता लिन खोज्ने मनुवाकुमार महतो भने फरार छन् ।
प्रतिक्रिया 4