२५ असार, काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले बुधबार सवारीसाधनको प्रदूषण परीक्षण गरिएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले गरेको छड्के जाँचमा आधाभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् ।
विभागका अनुसार बबरमहलस्थित सडक विभाग अगाडि गरिएको परीक्षणमा जम्मा ३८ वटा सवारीसाधन जाँच गरिएको थियो । त्यसमध्ये २० वटा (५२.६४ प्रतिशत) सवारीसाधनले सरकारले तोकेको प्रदूषण मापदण्ड पूरा नगरेको पाइएको हो ।
वातावरण विभागका उपनिर्देशक सरोजकुमार चौधरीले मापदण्ड पूरा नगर्ने ती सवारीसाधनलाई तत्कालै कानुनी कारबाही दायरामा ल्याइएको जानकारी दिए ।
‘बबरमहलमा गरिएको जाँचमा ३८ मध्ये २० वटा सवारीसाधन मापदण्ड विपरीत पाइयो,’ उनले भने, ‘नियम उल्लंघन गरी अत्यधिक धुवाँ फाल्ने ती सवारीलाई प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाएका छौं ।’
काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्नुको मुख्य कारणमध्ये सवारीसाधनबाट उत्सर्जन हुने धुवाँ प्रमुख मानिन्छ । यसलाई नियन्त्रण गरी स्वच्छ वातावरण निर्माण गर्न विभाग र ट्राफिक प्रहरीले यस्ता संयुक्त जाँच अभियानलाई तीव्रता दिएका हुन् ।
विभागले आगामी दिनमा पनि यस्ता प्रदूषण जाँच अभियानलाई निरन्तरता दिने र मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिएको छ ।
साथै, सम्बन्धित निकायले सबै सवारीधनीलाई समयमै आफ्नो सवारीसाधन मर्मत–सम्भार गर्न, नियमित प्रदूषण परीक्षण गराउन र मापदण्डभित्र रहेर मात्रै गाडी चलाउन आग्रह समेत गरेको छ ।
प्रतिक्रिया 4