२५ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश कुमार हमालले सरकारले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउन खोजेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अध्यादेशले शासन चलाउन खोजिएको बताए । यसअघि पनि संसद अधिवेशन सुरु हुनु केही दिन अगाडि अध्यादेश ल्याएको स्मरण गरे ।
‘संसद छलेर ल्याएका आठ अध्यादेशमध्ये अहिले चारवटा पास हुने वाला छ,’ उनले भने, ‘अब यहाँ एउटा प्रश्न उठेको छ फेरि बाँकी रहेको काम गर्नको निमिक्त के गर्ने ? फेरि संसदलाई अहिले फेरि बन्द गरेर त्यसपछि अध्यादेशमा जाने ?’
यो विषयमा सभामुखले कुनै संकेत नगरेको भए पनि आफूहरूलाई यस्तो शंका लागेको बताए । ‘संसद छलेर अध्यादेशको बाटोबाट निजामती ऐन ल्याउने कुरा उठिरहेको छ’ उनले भने ।
यसका साथै अभिव्यक्ति स्वतन्त्रता प्रति सत्तापक्षबाट प्रहार हुन थालेको उनले बताए ।
‘म अन्तर्राष्ट्रिय समितिसँग सम्बन्धित छु । म अलि ढिलो पुगेको थिए । त्यहाँ पत्रकारहरु थिएनन्’ उनले भने, ‘यसबारे व्यापक रुपमा प्रश्न उठेको छ ।’
प्रतिक्रिया 4