२६ असार, खोटाङ । खोटाङमा खुकुरी प्रहार गरी हत्यामा संलग्न भएको अभियोगमा थप दुई जना पक्राउ गरेका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा मोहोरियाका ३८ वर्षीय ध्रुब भनिने भक्तबहादुर अधिकारीको हत्यामा संलग्न भएको अभियोगमा सोही ठाउँका ५२ वर्षीय भोटीमाया सार्की र २२ वर्षीया सीता कार्की पक्राउ परेका हुन् ।
आपसी लेनदेनको विषयमा झगडा हुँदा ५७ वर्षीया तिलबहादुर सार्कीले खुकुरी प्रहार गर्दा अधिकारीको असार २५ गते घटनास्थलमै मृत्यु भएको थियो । घटना लगत्तै तिलबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
अहिले पक्राउ परेका भोटीमायाँ र सीता तिलबहादुरका श्रीमती र छोरी हुन् । मृतक परिवारले असार २६ गते तिलबहादुरसँगै भोटीमायाँ र सीताविरुद्ध किटानी जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रकाश बुढाथोकीले बताए । भोटीमायाँ र सीतालाई थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
विपन्न अवस्थाका भक्तबहादुरले आफ्नै हातेट्याक्टरले खेतबारी जोतेवापत आउने ज्यालाबाट परिवार चलाउँदै आएका थिए । भक्तबहादुरले मकै छर्नका लागि गत फागुनमा तिलबहादुरको खेत जोतिदिएका थिए ।
त्यही खेत जोतिदिएको ज्याला माग्नेक्रममा विवाद हुँदा तिलबहादुरले खुकुरी प्रहार गर्दा भक्तबहादुरको घट्नास्थलमै मृत्यु भएको थियो ।
प्रारम्भिक अनुसन्धानमा खेत जोतेको रकम ‘४ हजार कि २ हजार ५००’ भन्ने विषयमा विवाद हुँदा तिलबहादुरले भक्तबहादुरलाई खुकुरी प्रहार गरेको खुलेको डीएसपी बुढाथोकीले बताए ।
भक्तबहादुरको मृत्यु भएपछि गर्भवती अवस्थाकी श्रीमती र दुई नाबालिक छोरीको बिचल्ली भएको छ ।
प्रतिक्रिया 4