News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा जानकीकुमारी तुलाधरले सम्हालेकी छिन्।
- पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका छन्।
- संवैधानिक परिषद्ले सिफारिस गरेका पदाधिकारीको सुनुवाइ प्रक्रिया संसदीय सुनुवाइ समितिले सुरु गरेको छ।
२७ असार, काठमाडौं । निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा जानकीकुमारी तुलाधरले सम्हालेकी छिन् ।
यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार २३ गते ६५ वर्षे उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहेका आयुक्त डा तुलाधरलाई सो जिम्मेवारी सरेको हो ।
आयुक्त भण्डारीकै नेतृत्वमा गत फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो । पाँच सदस्यीय हुने आयोगका हाल आयुक्त डा तुलाधर र आयुक्त सगुनशमशेर जबरा कायम छन् ।
तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको २०८२ वैशाख ५ गते र तत्कालीन निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको २०७९ फागुन ४ गते कार्यकाल सकिएको थियो ।
संवैधानिक परिषद्ले मानबहादुर कार्र्की (मोरङ) लाई प्रमुख निर्वाचन आयुक्त तथा डा राजीव सुब्बा (काठमाडौँ) र गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) लाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ ।
संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वानसहित सुनुवाइ प्रक्रिया सुरु गरेको छ । रासस
प्रतिक्रिया 4