+
+
Shares

कंक्रिटको जंगलमा लुकेको गाउँले घर

परम्परागत शैलीको नेपाली घरभित्र गाउँले तरकारी, गाउँले पोशाक र गाउँले कोसेली पसल सञ्चालन गरिएको छ । तीनवटै पसलमा नेपालका रैथाने र प्रांगारिक उत्पादन राखिएका छन् । 

टोपराज शर्मा टोपराज शर्मा
२०८३ असार २८ गते १६:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुटवलका युवा उद्यमी समुन्द्र घिमिरे क्षेत्रीले ग्रामीण मौलिकता झल्काउने परम्परागत नेपाली घर निर्माण गरी रैथाने कला, संस्कृति र प्रांगारिक उत्पादनको प्रवर्द्धन थालेका छन् ।
  • घिमिरेले पचास लाख रुपैयाँभन्दा बढी लगानीमा सञ्चालन गरेको उक्त घरमा गाउँका तरकारी, हस्तकलाका सामग्री र रैथाने पोसाक बिक्रीका लागि राखिएका छन् ।
  • युवाहरूलाई गाउँ फर्केर कृषि तथा उद्यम गर्न प्रेरित गर्ने उद्देश्यले स्थापना गरिएको यो केन्द्रले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुर्‍याउने विश्वास लिइएको छ ।

२७ असार, बुटवल । आधुनिक डिजाइनका सिमेन्टेड घरहरूले झाँगिएको बुटवललाई क्रंक्रिटको जंगल भन्दा फरक पर्दैन । यही घना क्रंक्रिट वस्तीको एक छेउमा ग्रामीण परिवेश झल्किने परम्परागत नेपाली घर बनेको छ ।

माटो र गेरु रङको बाहिरी भित्तो, कालो काठका कलात्मक झ्याल–ढोका, ढल्किएको छाना, चौडा बरन्डा तथा खुला आँगनले नेपाली गाउँको मौलिकता झल्काएको छ यो घरले ।

युवा उद्यमी समुन्द्र घिमिरे क्षेत्रीले बनाएको यो घर वासस्थानका लागि नभई नेपालका रैथाने कला, संस्कृति र परम्परा संरक्षण तथा ग्रामीण भेगका प्रांगारिक उत्पादन प्रवर्द्धन र बिक्रीका लागि बनाइएको हो । घिमिरे प्रकृति, रैथाने सिप, कला, उत्पादनका संरक्षक, गाउँ फर्कौं अभियन्ता र ग्रामीण पर्यटन प्रवर्द्धक हुन् ।

यो घरमा घिमिरेले गाउँको तरकारी, गाउँको पोशाक र गाउँको कोसेली गरी तीनथरीका पसल सञ्चालन गरेका छन् । पसल र घरमा गरी ५० लाख बढी लगानी भएको उनले बताए । यसलाई पसल नभनी नेपाली मौलिक कला, संस्कृति र परम्परा संरक्षण गर्ने संग्रहालय भन्छन् घिमिरे ।

यो घर बाहिर पनि नेपालका विभिन्न जातजातिले प्राचीन समयमा प्रयोग गर्ने गरेका मौलिक वस्तु, हस्तकला सामग्री, भाँडाकुँडा, राउटेले बनाएका सामग्री, पोशाक, उपहार सामग्री आदि देख्न सकिन्छ ।

यस्तै, पसलमा गाउँका तरकारी र फलफूल, हिमाली जिल्लाका दाल, गेडागुडी, सिस्नोको साग र पाउडर, सिन्की, गाँजा र अल्लोबाट बनेका महिला–पुरुषका लागि अलगअलग रेडिमेड कपडा, झोला, ब्याग, पर्स, जुत्ता, चप्पल आदि राखिएका छन् । गाउँको तरकारीमा ७७ जिल्लाकै रैथाने उत्पादन ल्याएर बिक्री र प्रवर्द्धन गर्ने उनको लक्ष्य छ ।

गाउँको कोसेलीमा राउटेदेखि नेपालका सबै आदिवासी जनजातिले बनाउने हस्तकलाका सामग्री संकलन, बिक्री र प्रवर्द्धन तथा अतिथिलाई उपहार दिइने वस्तु विदेशबाट आयातित नभई स्वदेशी रैथाने सिप कलामा आधारित वस्तु दिने थिति बसाल्ने उनको अभियान छ ।

पसलमा ५ जना कर्मचारी र घिमिरे दम्पती काम गर्छन् ।

सञ्चालनमा आएको छोटै समयमा गाउँले घर (पसल) हेर्न र घरसँगै फोटो खिच्न आउनेको भिड लाग्ने गरेको समुन्द्रले बताए ।

सर्वसाधारणसँगै समाजका विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वहरू आएर सकारात्मक प्रतिक्रिया र सुझाव दिइरहनु भएको छ,’ घिमिरेले भने ।

बैंकर यम पुनले शहरको बीचमा गाउँको झल्को दिन मौलिक घरको फोटो सामाजिक सञ्जालमा देखेपछि खोज्दै आउँदा गज्जब लागेको प्रतिक्रिया दिए ।

‘झट्ट हेर्दा आवासीय घर होला भन्ने लागेको थियो । तर यहाँ त गाउँका उत्पादनको बजारीकरण र बिक्रीसमेत हुँदो रहेछ । यसले साँच्चिकै ग्रामीण अर्थतन्त्र चलायमान बनाउन योगदान दिन्छ,’ पुनले भने, ‘यो घर र पसल मात्र नभई नेपालका विभिन्न समुदाय, जातजातिका मौलिक परम्परा, कला संस्कृति, रैथाने वस्तु संरक्षण, प्रवर्द्धन गर्ने साझा थलो र नेपाली संग्रहालय जस्तो लाग्यो ।’

वैदेशिक रोजगारीको सिलसिलामा सात वर्ष दुबई बसेका घिमिरे आफ्नै देशमा केही गर्नुपर्छ भनेर आफू नेपाल फर्किएको बताउँछन् ।

‘बुटवलको घना क्रंक्रिट शहरमा गाउँले घर बनाउनुको उद्देश्य व्यवसाय गरेर नाफा कमाउनु होइन । यो घरमार्फत गाउँलाई माया गरौं, गाउँ सुन्दर छ, गाउँमै भविष्य छ भन्ने सन्देश दिन खोजेको हुँ,’ घिमिरेले भने, ‘यो घर हेर्न आउनेहरूले जब गाउँका प्रांगारिक र स्वच्छ वस्तु, उत्पादन देख्छन्, उपभोग गर्छन् अनि उनीहरूलाई गाउँप्रति माया र सम्मान जाग्छ । उनीहरू गाउँ फर्केर कृषि वा अन्य उद्यम गर्न प्रेरित हुन सक्छन् ।’

शहरमा मात्रै जनसंख्याको चाप र अवसर, रोजगारी छ भन्ने मान्यता बदल्न युवालाई गाउँमा उद्यम गर्न गाउँ फर्काउने आफ्नो मुख्य लक्ष्य भएको घिमिरे बताउँछन् ।

‘शहरमा हुर्केको पुस्तालाई ग्रामीण जनजीवन सिकाउने, गाउँका वनजंगल, रित्तिएका घर जग्गा, नदीनालाको सदुपयोग गरी आयआर्जन गर्न सकिन्छ, गाउँमा शान्तिपूर्वक बस्न, रमाउन सकिन्छ भन्ने सन्देश फैलाउन बुटवलको यो गाउँले घरले भूमिका खेल्नेछ,’ घिमिरे भन्छन्, ‘नयाँ पुस्ता र शहरका विद्यार्थीलाई ग्रामीण जनजीवन, ग्रामीण अर्थतन्त्र, सिक्ने सिकाउने र ग्रामीण जीवनलाई ब्रान्ड बनाउँदै युवालाई गाउँघरमै उद्यम गर्न प्रेरित गर्ने उद्देश्य छ ।’

बढ्दो शहरीकरण, आधुनिकीकरणले युवादेखि पाको उमेरसम्मका मान्छे चिन्ता, डिप्रेसन, आवेगको सिकार भएकाले उनीहरूलाई गाउँघरमा प्रकृतिसँग रमाएर ध्यान, योगमार्फत शान्ति दिलाउन गाउँ फर्काउनुपर्ने घिमिरेको तर्क छ ।

उनले पाल्पाको तिनाउ गाउँपालिका–६ मा २० रोपनी जग्गा खरिद गरी गाउँको घर इको फार्म र रिसोर्ट पनि सञ्चालन गरेका छन् । रिसोर्टसँगै तरकारी, कफी, दालचिनी, रुद्राक्ष खेती गरेका छन् । त्यसलाई बोटानिकल गार्डेनको रूपमा विकास गर्ने उनको लक्ष्य छ ।

बसाइँसराइले रित्तिएका गाउँका घरजग्गा लिजमा लिएर होमस्टे र कृषि फार्म सञ्चालन गर्न सकिने र त्यहाँ शहरका विद्यार्थीलाई कृषि कर्म सिकाउन, पढ्दै कमाउँदै अभियानमा आवद्ध गराउन सकिने घिमिरे औंल्याउँछन् । हाल गाउँको घर (इको फार्म) नजिकै केही घर र जग्गा लिजमा लिई कफी, डल्ले खुर्सानी, काउली, बन्दा, धनिया, क्याप्सिकमको व्यावसायिक उत्पादन र बिक्री सुरु गरेको उनले बताए ।

घिमिरेले रैथाने उत्पादनको प्रदर्शनी र बिक्रीका लागि बुटवलमा हरेक शनिबार खुला रूपमा खस्यौली बजार सञ्चालन गर्ने गरेका छन् । जहाँ करिब २५ उद्यमीका रैथाने उत्पादनका स्टल रहने गरेको उनी बताउँछन् ।

घिमिरेले प्रकृति र पर्यावरण संरक्षण, सरसफाइ र डढेलो नियन्त्रण जस्ता सामाजिक काम गर्न इको यात्री संस्थाको नेतृत्व पनि गरेका छन् ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?