News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सञ्चारगृह र विपक्षी नेताको घरअगाडि शंकास्पद सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउनुभयो ।
- उहाँले यस घटनालाई स्वतन्त्र प्रेस र विपक्षीलाई दबाबमा राख्ने तथा आलोचनात्मक आवाज थुन्ने नियोजित प्रयासका रूपमा टिप्पणी गर्नुभयो ।
- काठमाडौंका विभिन्न स्थानमा छोडिएका ती शंकास्पद गाडीहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि जयसवाललगायतका व्यक्तिको संलग्नता खुलेपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको छ ।
३० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विभिन्न सञ्चारगृह तथा कांग्रेस सभापति गगन थापाको घर अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।
उनले यस घटनालाई सरकारको आलोचना सहन नसक्ने प्रवृत्तिसँग जोड्दै लोकतन्त्रमा आलोचना सहन सक्ने क्षमता नै सरकारको सबैभन्दा ठूलो शक्ति हुने बताएका छन् ।
‘लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता हो । तर, जब सरकार आलोचनाबाट डराउन थाल्छ, तब उसले प्रश्न गर्नेहरूलाई नै निशाना बनाउन खोज्छ,’ उनले फेसबुकमा लेखेका छन् ।
आङ्देम्बेका अनुसार गेट अगाडि गाडी पार्क गर्ने कार्यको उद्देश्य स्वतन्त्र प्रेस र प्रतिपक्षलाई दबाबमा पार्नु हो । ‘गेटअगाडि गाडी राखिएको घटना बाटो छेक्ने मात्रै होइन, आलोचनात्मक आवाज थुन्ने प्रयास पनि हो,’ उनले भनेका छन्, ‘यो घटना स्वतन्त्र प्रेससँगै विपक्षी नेतृत्वलाई मनोवैज्ञानिक दबाबमा राख्ने, डर देखाउने र प्रश्न गरे परिणाम भोग्नुपर्छ भन्ने सन्देश दिने प्रयास हो ।’
सञ्चारमाध्यम र प्रतिपक्ष सरकारका शत्रु नभएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘सञ्चारमाध्यम र प्रतिपक्ष सरकारका शत्रु होइनन् । उनीहरू जनताका आँखाअघि राज्यका कामकारबाही जस्ताको तस्तै देखाउने ऐना हुन् । ऐना फुटाएर अनुहार सुन्दर देखिँदैन ।’
सहकारीपीडित, मिटरब्याजपीडित, सुकुम्वासी समस्या, मुगुका गणेश नेपालीले राज्यको दुर्व्यवहारका कारण तथा सर्लाहीका विवेक मण्डलले बेरोजगारीका कारण आत्मदाह गर्नुपरेको घटनाजस्ता विषयमा सरकारलाई प्रश्न गर्ने सञ्चारगृह र प्रतिपक्षी नेताको गेट छेक्दैमा जनताको आवाज रोक्न नसकिने उनको भनाइ छ ।
‘गाडीले गेट त छेकिएला, तर जनआवाज छेक्न सकिँदैन । इतिहासले पुष्टि गरेको छ, गेट छेकिए पनि प्रश्नको बाटो बन्द हुँदैन,’ उनले भनेका छन् ।
सोमबार कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजन, कांग्रेस सभापति गगन थापाको निवास अगाडि शंकास्पद ढंगले सवारीसाधन पार्क गरेर चालक सम्पर्कविहीन भएका थिए । उक्त घटनामा रास्वपाका केही नेताको समेत संलग्नता खुलेको थियो ।
कान्तिपुर पब्लिकेसन्स्को गेटमा शंकास्पद रुपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालको हो । यस्तै अनलाइनखबर अगाडि राखिएको शंकास्पद गाडी भने काठमाडौं ठेगाना भएका सुनिल पौडेलको नाममा रहेको भेटिएको छ ।
हिमालय टेलिभिजनको गेटमा पार्किङ गरिएको गाडी डीआर अटो मोबाइल्सको नाममा रहेको पाइएको छ । १ कात्तिक २०६९ यो गाडी सानिमा विकास बैंकबाट ऋण लिएको देखिन्छ । सवारी दर्ता किताबमा राजीवकाजी श्रेष्ठको नाम समेत उल्लेख छ । ती गाडीहरु प्रहरीले क्रेनले उठाएर लगेको थियो ।
प्रतिक्रिया 4