News Summary
Generated by OK AI. Editorially reviewed.- क्रिस्टोफर नोलन निर्देशित बहुप्रतीक्षित हलिउड फिल्म ‘द ओडिसी’ शुक्रबारदेखि विश्वव्यापी रूपमा प्रदर्शन हुँदैछ।
- उत्तर अमेरिकी बजारसहित विश्वभर यो फिल्मले पहिलो सप्ताहन्तमा २०० मिलियन डलरभन्दा बढी कमाउने प्रक्षेपण गरिएको छ।
- आइम्याक्स क्यामेरामा छायाङ्कन गरिएको यो फिल्म युरोप र अस्ट्रेलियाका कतिपय हलमा प्रदर्शन हुनुअगावै सोल्डआउट भैसकेको छ।
लस एन्जलस । क्रिस्टोफर नोलन निर्देशित प्रतीक्षित हलिउड फिल्म ‘द ओडिसी’ शुक्रबारदेखि विश्वब्यापी प्रदर्शनमा आउँदैछ । अस्कर विजेता फिल्म ‘ओपेनहाइमर’ पछि आउन लागेको नयाँ फिल्म बहुप्रतीक्षित पनि छ ।
गत साता डिज्नीको ‘मोआना’ ले विश्वव्यापी बक्सअफिसमा करिब १३० मिलियन डलर कमाउने अनुमान सार्वजनिक भए पनि, होमरको महाकाव्यमा आधारित ‘द ओडिसी’ त्यसबाट प्रभावित नहुने विश्वास गरिएको छ । अहिलेको मुख्य प्रश्न फिल्मले अनुमानभन्दा कति राम्रो प्रदर्शन गर्छ भन्ने हो । यो फिल्म आइम्याक्स क्यामेरामा छायांकन गरिएको र त्यही माध्यममा हेर्नका लागि निर्माण गरिएको हो ।
फिल्मको दोस्रो सप्ताहन्तमा म्याट डेमन, रोबर्ट प्याटिन्सन, जेन्डाया, टम हल्यान्ड, एन ह्याथवे, जोन बर्नथल र लुपिटा नियोङ’ओ अभिनित यस फिल्मसँग प्रतिस्पर्धा गर्ने कुनै ठूलो स्टुडियोको प्रतीक्षित रिलिज छैन ।
प्राप्त जानकारीअनुसार, ‘द ओडिसी’ ले उत्तर अमेरिकी बजारमा पहिलो सप्ताहन्तमा ८५ देखि १०० मिलियन डलर कमाउने अनुमान गरिएको छ । यसबाहेक, ७३ अन्तर्राष्ट्रिय बजारका २२,७०० स्क्रिनबाट करिब ११० मिलियन डलर आम्दानी हुने अपेक्षा गरिएको छ । यससँगै फिल्मको विश्वव्यापी प्रारम्भिक कमाइ २०० मिलियन डलरभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।
युनिभर्सलले ‘ओपेनहाइमर’ रिलिज गर्दा प्रयोग गरेका अधिकांश बजारमा नै ‘द ओडिसी’ पनि प्रदर्शन गर्न लागेको हो । यद्यपि, यसपटक इटाली र ग्रीसमा पहिलो दिनदेखि नै प्रदर्शन हुनेछ, जबकि ‘ओपेनहाइमर’ त्यहाँ अगस्टको अन्त्यतिर रिलिज भएको थियो । दक्षिण कोरिया, जापान र चीनमा भने फिल्म पछि रिलिज हुनेछ ।
‘ओपेनहाइमर’ ले १७,५०० अन्तर्राष्ट्रिय स्क्रिनबाट ९८.७ मिलियन डलर कमाउँदै विश्वभर १८१.१ मिलियन डलरको ओपनिङ गरेको थियो । त्यसबेला वार्नर ब्रदर्सको ‘बार्बी’ जस्तो ठूलो प्रतिस्पर्धी फिल्म पनि एकैसाथ प्रदर्शनमा थियो । यसपटक भने सप्ताहन्तमा कुनै अर्को ठूलो स्टुडियोको नयाँ व्यापक रिलिज छैन ।
यसबीच, फुटबल विश्वकपले फिल्मको व्यापारमा प्रभाव पार्ने हो कि भन्ने प्रश्न पनि उठेको छ । नोलनका लागि महत्वपूर्ण बजार मानिने बेलायत विश्वकपमा प्रतिस्पर्धामा छ र बुधबार इंग्ल्यान्ड तथा अर्जेन्टिनाबीच सेमिफाइनल हुँदैछ । यदि इंग्ल्यान्ड आइतबारको फाइनलमा पुगे पनि दर्शकले विश्वकप नभएको दिन फिल्म हेर्ने विश्वास उद्योग स्रोतको छ ।
स्रोतका अनुसार धेरै दर्शकले पहिले नै अग्रिम टिकट खरिद गरिसकेका छन् । युरोप र अस्ट्रेलियाका कतिपय हलमा फिल्मको टिकट सोल्डआउट भैसकेको विवरणमा जनाइएको छ ।
यदि फिल्मले उत्तर अमेरिकामा अनुमानित दायराको तल्लो सीमा अर्थात् ८५ मिलियन डलर मात्रै कमाए पनि त्यसको अर्थ दर्शकले राम्रो सिट र शो समय पर्खिरहेको हुन सक्ने विश्लेषण गरिएको छ ।
नोलनका अघिल्ला फिल्मको कमाइ हेर्दा पनि दीर्घकालीन प्रदर्शन बलियो रहने देखिन्छ । ‘ओपेनहाइमर’ ले ८२.४ मिलियन डलरको ओपनिङपछि उत्तर अमेरिकामा ३३० मिलियन डलर कमाएको थियो । ‘डन्कर्क’ ले ५०.५ मिलियन डलरबाट सुरु गर्दै १८९.७ मिलियन डलर र ‘इन्सेप्सन’ ले ६२.७ मिलियन डलरको ओपनिङपछि २९२.५ मिलियन डलर कमाएको थियो ।
हालसम्म दर्शकको प्रतिक्रिया त आइसकेको छैन तर, फिल्म हेरेका सञ्चारकर्मीबाट सकारात्मक प्रतिक्रिया आएको छ र धेरैले यसलाई अवार्ड सिजनको सम्भावित दाबेदारका रूपमा हेर्न थालेका छन् ।
यो फिल्मले जेन्डाया र टम हल्यान्डका लागि पनि विशेष महत्व राख्छ । वैवाहिक सम्बन्धमा रहेका यी दुई कलाकार ‘द ओडिसी’ मा सहकलाकार भए पनि उनीहरूको कुनै संयुक्त दृश्य छैन । उनीहरू जुलाई ३१ मा रिलिज हुने सोनी र मार्भल स्टुडियोको ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ मा मुख्य भूमिकामा देखिनेछन् ।
‘ओपेनहाइमर’, ‘टेनेट’, ‘डन्कर्क’, ‘इन्टरस्टेलार’, ‘इन्सेप्सन’ र ‘द डार्क नाइट’ श्रृंखलासहित नोलनका फिल्मले विश्वव्यापी बक्स अफिसमा ६ अर्ब डलरभन्दा बढी कमाइसकेका छन् । ती फिल्मले १८ वटा अस्कर पुरस्कार जितेका छन् भने ४९ वटा अस्कर मनोनयन प्राप्त गरेका छन् । ‘ओपेनहाइमर’ ले उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशकसहितका प्रमुख अस्कर पुरस्कार जितेको थियो ।
प्रतिक्रिया 4