News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लीमा अधिकारीले मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
- उनले प्रश्न गरिन्, 'विपन्न नागरिक न्यायका लागि कति पटक सडकमा आउनुपर्ने हो? कति किलोमिटर पैदल हिँड्नुपर्ने हो ? कति रात सडकमा भोकभोकै धर्ना दिनुपर्ने हो ?'
- सांसद अधिकारीले सरकारसँग मिटरब्याज पीडितको हडपिएको जग्गा फिर्ता गराउन र पीडितविरुद्ध दर्ता भएका मुद्दा तत्काल रोक्का गर्न माग गरेकी छन् ।
३१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लीमा अधिकारीले मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेकी छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद अधिकारीले न्यायका लागि विपन्न नागरिक पटक–पटक सडकमा आउन बाध्य हुनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले ‘विपन्न नागरिक न्यायका लागि कति पटक सडकमा आउनुपर्ने हो? कति किलोमिटर पैदल हिँड्नुपर्ने हो ? कति रात सडकमा भोकभोकै धर्ना दिनुपर्ने हो ?’ भन्दै प्रश्न गरिन् ।
उनले मिटरब्याज पीडितसँग सरकारले पटक–पटक सहमति गरे पनि ती सहमति कार्यान्वयन हुन नसकेको बताइन्। कानुन बने पनि पीडितले न्यायको अनुभूति गर्न नसकेको र उनीहरूको अवस्था अझै उस्तै रहेको उनको भनाइ थियो।
अधिकारीले असार २५ गते धनुषाबाट करिब ५०० जना मिटरब्याज पीडित ‘न्याय नपाएसम्म घर नफर्किने’ अठोटसहित फेरि पैदल मार्चमा निस्किएको उल्लेख गर्दै यो सामान्य लेनदेनको विषय नभई राज्यको न्याय प्रणालीमाथिको गम्भीर प्रश्न भएको बताइन्।
उनले सरकारसँग पीडितहरू रहेकै स्थानमा पुगेर समस्या समाधानको पहल गर्न, मिटरब्याज पीडितविरुद्ध दर्ता भएका सबै मुद्दा तत्काल रोक्का गर्न, हडपिएको जग्गाजमिन फिर्ता गराउन र मिटरब्याजको समस्या स्थायी रूपमा अन्त्य हुने गरी प्रभावकारी कानुनी संयन्त्र तत्काल निर्माण गर्न माग गरिन्।
सांसद अधिकारीले गरिब तथा निमुखा नागरिकको आँसु पुछ्ने काम राज्यको दायित्व भएको उल्लेख गर्दै न्यायका लागि नागरिकलाई पटक–पटक सडकमा आउन बाध्य बनाउने अवस्था अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइन्।
प्रतिक्रिया 4