News Summary
Generated by OK AI. Editorially reviewed.- मिटरब्याज पीडित र सरकारबीच बाराको निजगढमा बुधबार राति चौथो चरणको वार्ता सुरु भएको छ।
- आन्दोलनरत पक्षले फर्जी तमसुक खारेजी र विशेष कानुन निर्माणसहितका ६ बुँदे माग सरकारसमक्ष राखेका छन्।
- लिखित सहमति नभएसम्म पीडितहरूले आफ्नो पैदल न्याय मार्च स्थगित नगर्ने अडान कायम राखेका छन्।
३१ असार, जनकपुरधाम । मिटरब्याज पीडित र सरकारबीच चौथो चरणको वार्ता सुरु भएको छ ।
बाराको निजगढमा गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बुधबार राति सवा ८ बजेदेखि वार्ता सुरु भएको मिटरब्याज पीडितका अभियन्ता निर्घ नविनले जानकारी दिए ।
यसअघि मंगलबार रातिसम्म तीन चरणमा वार्ता भएको थियो ।
गृहमन्त्री गुरुङले सुरुमा मिटरब्याज पीडितहरूको गुनासा सुनेपछि आन्दोलनको नेतृत्वसँग पहिलो, दोस्रो र तेस्रो चरणको छलफल गरेका थिए । तर तेस्रो चरणको वार्ता कुनै ठोस निष्कर्षमा नपुगी टुंगिएको थियो ।
चौथो चरणको वार्ता बुधबार दिउँसो १२ बजेका लागि तय गरिएको भए पनि प्राविधिक कारणले निर्धारित समयमा सुरु हुन सकेको थिएन । केही घण्टापछि दुवै पक्ष पुनः वार्तामा बसेका हुन् ।
मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनको नेतृत्वले सरकारसमक्ष ६ बुँदे माग अघि सारेको छ।
आन्दोलनरत पक्षले मिटरब्याजसँग सम्बन्धित फर्जी तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन तथा चेकलगायतका लिखत खारेज, विशेष कानुन निर्माण, विशेष न्यायाधिकरण गठन र विगतका सम्झौताको कार्यान्वयनको माग गर्दै आएको छ ।
सरकारले मंगलबार मिटरब्याज समस्या समाधानका लागि सक्रियता देखाउँदै विगतमा गठन गरिएका आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
यद्यपि आन्दोलनरत पक्षले आफ्ना मागमा लिखित सहमति नभएसम्म पैदल न्याय मार्च स्थगित नगर्ने अडान कायम राखेको छ ।
प्रतिक्रिया 4