News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले सबल कम्पनीको सेयर धितोमा अब मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था लागू गरेको छ ।
- बैंक तथा वित्तीय संस्थाले कम्पनीको सबलता विश्लेषण गरेर मात्र सेयर धितो कर्जाको सीमा १० प्रतिशतसम्म थप गर्न सक्नेछन् ।
- कर्जा प्रवाहका लागि बैंकहरूले प्रडक्ट पेपर बनाई आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
३२ असार, काठमाडौं । सबल कम्पनीको सेयर धितो राख्दा अब मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने भएको छ । राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीको सबलताका आधारमा ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था गरेको हो ।
हाल सबै कम्पनीका सेयरमा मूल्यको ७० प्रतिशतसम्म मात्रै कर्जा पाइने व्यवस्था छ । अब भने कम्पनीको सबलता विश्लेषण गरेर सेयर धितो कर्जा लिन चाहेको हकमा १० प्रतिशत थप कर्जा पाइने व्यवस्था गरिएको हो । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेखित विषयलाई राष्ट्र बैंकले निर्देशनमार्फत लागु गरेको छ ।
धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको यस्तो कर्जामा धितो मूल्याङ्कन गर्दा नेप्सेबाट प्रकाशित पछिल्लो १८० कार्यदिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था छ ।
तर, सूचीकृत संस्थाको सबलताको आधारमा कर्जा प्रवाहको लागि प्रडक्ट पेपर बनाउँदा मूल्याङ्कन गर्ने विधि अवलम्बन गर्नुपर्नेछ । सबलता मूल्याङ्कनको आधारमा उच्च मूल्याङ्कन हुने संस्थाको सेयरको कर्जा मूल्य अनुपात बढीमा १० प्रतिशत बिन्दुसम्म थप गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
संस्थाको सबलता विश्लेषण गर्दा चुक्ता पुँजीको आकार, धितोपत्र सूचीकरण भएको न्यूनतम अवधि, नाफा रहेको तथा लाभांश वितरण गरेको अवस्था र समयावधि, क्रेडिट रेटिङ्ग, नियामकीय व्यवस्थाको पालना, नियमित साधारणसभा सम्पन्न भए/नभएको जस्ता विषय अध्ययन हुनेछ ।
यस्तो प्रडक्ट पेपर बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा राख्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । एकपटक कर्जा प्रवाह गरिसकेको यस्तो कर्जाको सुरक्षणमा रहेको सेयरको पुनर्मूल्याङ्कन गरी सोको आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा भने नपाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
प्रतिक्रिया 4