१ साउन, कपिलवस्तु । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहका समर्थकले उनी र कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहविरुद्ध प्रहरीमा दर्ता भएको जाहेरी फिर्ता लिन माग गर्दै दबाब दिएका छन् ।
शुक्रबार कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममालाई ज्ञापनपत्र बुझाउँदै सांसद शाह र मेयर शाहविरुद्ध जारी भएको पक्राउ पुर्जी समेत खारेज गर्न माग गरिएको छ ।
ज्ञापनपत्रमा कृष्णनगर नगरपालिका–२ स्थित भन्सार कार्यालयको छेउमा रहेको शाह कम्प्लेक्समा असार २८ गते दिउँसो भएको घटनाको वास्तविकता बुझ्न मात्रै सांसद शाह र मेयर शाह द्वयले पहल गरेको उल्लेख छ ।
सोही विषयलाई लिएर केही व्यक्तिले राजनीतिक प्रतिशोधका आधारमा खुवै जनाविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा झुटा जाहेरी दर्ता गराएको दाबी ज्ञापनपत्रमा गरिएको छ ।
ज्ञापनपत्रमा घटनासँग सम्बन्धित सीताराम शर्मा (रितेश शर्मा) ले अदालत तथा जिल्ला प्रहरी कार्यालयमा दिएको बयानमा आफू डिप्रेसनको औषधि सेवन गरिरहेको उल्लेख गरेको भन्दै त्यस्तो व्यक्तिको जाहेरीका आधारमा राजनीतिक स्वार्थ प्रेरित मुद्दा अघि बढाउन नहुने जिकिर गरिएको छ ।
ज्ञापनपत्रमार्फत सांसद शाह र मेयर शाहमाथिको मुद्दा तत्काल फिर्ता लिन, निष्पक्ष अनुसन्धान गर्न तथा निर्दोष व्यक्तिमाथि धरपकड नगर्न प्रशासनसँग माग गरिएको छ ।
मुद्दा फिर्ता नलिए वा धरपकडको प्रक्रिया अघि बढाइए शान्तिपूर्ण आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि ज्ञापनपत्रमा दिइएको छ ।
प्रतिक्रिया 4