News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धनकुटाले नौ महिनापछि जिल्ला तहको संगठनात्मक एकता टुंग्याउँदै दुई सय ५१ सदस्यीय जिल्ला समिति गठन गरेको छ।
- समितिको संयोजकमा कुसुमकुमारी श्रेष्ठ तथा सहसंयोजकहरूमा डिप्लव राई, हेमचन्द्र किराती र ओमप्रकाश निरौला चयन हुनुभएको छ।
- नेकपाका कोशी प्रदेश इन्चार्ज राजेन्द्र राईले अबको प्रदेश सरकारको नेतृत्व नेकपाले पाउनुपर्ने दाबी गर्नुभएको छ।
४ साउन, धनकुटा । गत वर्ष कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका वामपन्थी दलहरूबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको ९ महिनापछि बल्ल धनकुटामा एकता भएको छ । केन्द्र र त्यसपछि प्रदेश तहमा पार्टी एकता सम्पन्न भएपछि धनकुटामा जिल्ला तहको एकता टुंगिएको छ ।
नेकपा धनकुटाले जिल्ला एकता बैठक तथा प्रशिक्षण कार्यक्रम आयोजना गरी २ सय ५१ सदस्यीय जिल्ला समिति घोषणा गरेको छ । समितिको संयोजकमा कुसुमकुमारी श्रेष्ठ तथा सहसंयोजकमा डिप्लव राई, हेमचन्द्र किराती र ओमप्रकाश निरौला चयन भएका छन् ।
जिल्ला एकता भेला सम्पन्न भई समितिले पूर्णता पाएसँगै धनकुटामा लामो समयदेखि प्रतीक्षामा रहेको संगठनात्मक एकताले औपचारिक रूप पाएको छ । केन्द्र र प्रदेश तहको संरचना निर्माणपछि जिल्लामा संगठनलाई थप सुदृढ बनाउने, जनपरिचालनलाई प्रभावकारी बनाउने तथा स्थानीय तहसम्म पार्टी गतिविधि विस्तार गर्ने उद्देश्यका साथ नयाँ समिति गठन गरिएको संयोजक श्रेष्ठले जानकारी दिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा कोशी प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले अब कोशी प्रदेश सरकारको नेतृत्व नेकपाले पाउनुपर्ने बताए । कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गरिसकेको उल्लेख गर्दै उनले अब प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने अवस्था सिर्जना भएको दाबी गरे ।
राईले लोकतन्त्रका मूल्य–मान्यता र संविधानको भावनाअनुसार सरकार सञ्चालन हुन नसकेको आरोप लगाए । राज्यसत्ता अत्यधिक केन्द्रिकृत बन्दै गएको उल्लेख गर्दै उनले सिंहदरबारले प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुको सट्टा उनीहरूको भूमिका कमजोर पार्ने प्रयास गरिरहेको बताए ।
कार्यक्रममा प्रदेश सहइन्चार्ज पर्शुराम बस्नेत, प्रदेश संयोजक हर्कबहादुर नेम्बाङ ‘मिक्सो’, जिल्ला इन्चार्ज धर्मराज पौडेल, सहइन्चार्जहरू विष्णुमाया कन्दङ्वा र आरपी बास्तोला लगायतका नेताहरूको उपस्थिति रहेको नेकपा कोशी प्रदेश कमिटी सदस्य सानु कार्की बस्नेतले जानकारी दिइन् ।
उनका अनुसार नौ महिनापछि सम्पन्न भएको जिल्ला एकतालाई नेकपाले संगठन विस्तारको नयाँ सुरुआतका रूपमा लिएको छ । नवगठित जिल्ला समितिले स्थानीय तहसम्म संगठन सुदृढीकरण, राजनीतिक प्रशिक्षण तथा जनआधारित कार्यक्रमलाई तीव्रता दिने लक्ष्य लिएको छ ।
प्रतिक्रिया 4