+
+
Shares

लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने

उपभोक्ताको स्वास्थ्य एवं अधिकारमाथि खेलबाड गर्ने जुनसुकै व्यवसायीलाई पनि कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी विभागको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते १४:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा लेबल नभएका, न्यून गुणस्तरका र अवैध रूपमा चोरी पैठारी गरिएका सामान बिक्री नगर्न व्यवसायीलाई निर्देशन दिएको छ।
  • अनलाइन र भौतिक बजारमा भइरहेका यस्ता गैरकानुनी गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विभागले दोषीलाई कानुन बमोजिम हदैसम्मको कारबाही गरिने चेतावनी दिएको छ।
  • उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ अनुसार सबै व्यवसायीलाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन मन्त्रालयले कडा निर्देशन जारी गरेको छ।

४ साउन, काठमाडौं । बजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामान बिक्री वितरण भइरहेको भन्दै सरकारले त्यस्ता कार्य नगर्न सूचित गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै गैरकानुनी व्यापारिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने बताएको छ ।

विभिन्न भौतिक बजारका साथै डिजिटल (अनलाइन) प्ल्याटफर्मका माध्यमबाट समेत दैनिक उपभोगका अत्यावश्यक खाद्य, पेय पदार्थ र लत्ताकपडा अवैध रूपमा बिक्री भइरहेको भनी प्राप्त उजुरी र जनगुनासोप्रति मन्त्रालय र विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

सूचनामा उपभोक्ता संरक्षण ऐन २०७५ एवं नियमावली २०७६ बमोजिम उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरिएको स्मरण गराइएको छ ।

कानुन विपरीत गरिने मिसावट, चोरी पैठारी र कम गुणस्तरका सामान बिक्री गर्ने जस्ता कार्य पूर्णरूपमा दण्डनीय र अक्षम्य रहेको विभागले जनाएको छ ।

उद्योग मन्त्रालयको बजार स्वच्छता कायम गर्ने नीति अनुरूप विभागले उत्पादन, पैठारी, ढुवानी, सञ्चय र बिक्री वितरणमा संलग्न सबै व्यवसायीलाई कानुनले तोके बमोजिम दायित्व, सर्त र बन्देज पूर्णरूपमा पालना गर्न निर्देशन दिएको छ ।

विभागले बजार अनुगमन थप तीव्र बनाउने र कानुन उल्लंघन गरी उपभोक्ताको स्वास्थ्य एवं अधिकारमाथि खेलबाड गर्ने जुनसुकै व्यवसायीलाई पनि कानुन बमोजिम हदैसम्मको कारबाही गरिने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?