News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र एफएओकी उपनिर्देशक हुआ याङबीच खाद्य सुरक्षा तथा कृषि रूपान्तरणका विषयमा शिष्टाचार भेटवार्ता भएको छ ।
- मन्त्री चौधरीले कृषि क्षेत्रको सुदृढीकरण र वित्तीय स्रोत परिचालनका लागि खाद्य तथा कृषि संगठनसँगको सहकार्य फराकिलो बनाउन नेपाल इच्छुक रहेको बताइन् ।
- सीमापार पशुरोग नियन्त्रण, जलवायु अनुकूलित कृषि र प्रयोगशालाको क्षमता अभिवृद्धि गर्ने विषयमा दुवै पक्षबीच सहकार्य बढाउने सहमति भएको छ ।
५ साउन, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) की दक्षिण- दक्षिण तथा त्रिपक्षीय सहयोग महाशाखाकी निर्देशक एवम् महानिर्देशक कार्यालयकी क्याबिनेट उपनिर्देशक हुआ याङबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा नेपालमा खाद्य सुरक्षा, कृषि क्षेत्रको रूपान्तरण, दिगो कृषि–खाद्य प्रणालीको विकास र दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहयोग विस्तारलगायतका विषयमा गहन छलफल भएको थियो ।
त्यस अवसरमा मन्त्री चौधरीले कृषि क्षेत्रको रूपान्तरण, खाद्य सुरक्षाको सुदृढीकरण र अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालन गर्न खाद्य तथा कृषि संगठनसँगको सहकार्यलाई अझ फराकिलो बनाउन नेपाल इच्छुक रहेको बताइन् ।
छलफलमा सीमापार पशुरोग नियन्त्रण, जलवायु अनुकूलित कृषि विकास र कृषि प्रयोगशालाको क्षमता अभिवृद्धिका विषयमा विचार आदानप्रदान भएको थियो ।
मान्यताप्राप्त प्रयोगशालाको स्थापना, उच्च मूल्ययुक्त कृषि उपजको निर्यात प्रवद्र्धन र भौगोलिक संकेतसम्बन्धी कानुनी तथा संस्थागत व्यवस्थालाई बलियो बनाउने विषयमा पनि दुई पक्षबीच छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटमा उपनिर्देशक हुआ याङले आफूले हालै मात्र दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहयोग महाशाखाको नेतृत्व सम्हालेको जानकारी गराउँदै नेपाललाई उच्च प्राथमिकतामा राखेर सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
साथै, उनले आगामी दिनमा आयोजना हुने कृषि विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम र रोमस्थित खाद्य तथा कृषि संगठनको मुख्यालयमा हुने कार्यक्रमका लागि नेपाललाई सहभागिताको निमन्त्रणासमेत दिइन् ।
दुवै पक्षबीच नेपाल सरकार र खाद्य तथा कृषि संगठनको आपसी सहकार्यलाई अझ मजबुत बनाउँदै दिगो, उत्थानशील र समावेशी कृषि तथा खाद्य प्रणाली विकासका लागि साझेदारीलाई थप सशक्त बनाउने सहमति भएको बताइएको छ ।
प्रतिक्रिया 4