+
+
Shares

नेपालको विकासमा रुसको योगदान महत्वपूर्ण छ : वर्षमान पुन

नेकपा नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल र रुसबीचको सात दशक लामो कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, समानता र मित्रतामा आधारित रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १५:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित फोटो प्रदर्शनीको पूर्वअर्थमन्त्री वर्षमान पुनले उद्घाटन गरे।
  • पूर्वअर्थमन्त्री पुनले नेपालको विकास र पूर्वाधार निर्माणमा रुसले पुर्‍याएको सहयोग उल्लेखनीय रहेको चर्चा गर्दै द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए।
  • पुनले शिक्षा, प्रविधि र पर्यटनलगायतका क्षेत्रमा आगामी दिनमा दुई देशबीच थप सहकार्य र संवाद आवश्यक रहेको उल्लेख गरे।

५ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल र रुसबीचको सात दशक लामो कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, समानता र मित्रतामा आधारित रहेको बताएका छन् ।

नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा नेपालस्थित रुसी दूतावासद्वारा काठमाडौंको ‘रसियन कल्चर सेन्टर’ मा सोमबार आयोजित फोटो प्रदर्शनी उद्घाटन गर्दै पुनले विगत सात दशकमा दुई देशबीच शिक्षा, विज्ञान–प्रविधि, स्वास्थ्य, संस्कृति, पर्यटन र मानव स्रोत विकासलगायत क्षेत्रमा भएको सहकार्यले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको बताए ।

उनले नेपालको विकास यात्राको प्रारम्भिक चरणमा भौतिक पूर्वाधार निर्माण तथा औद्योगिकीकरणमा रुसले गरेको सहयोग उल्लेखनीय रहेको स्मरण गर्दै रुसमा अध्ययन गरेका हजारौँ नेपालीले चिकित्सा, इन्जिनियरिङ, विज्ञान तथा अन्य विभिन्न क्षेत्रमा नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।

‘नेपाल–रुस सम्बन्ध केवल कूटनीतिक आदानप्रदानमा मात्र सीमित छैन । शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य, संस्कृति, पर्यटन र मानव स्रोत विकासलगायतका क्षेत्रमा भएको लामो र निरन्तरको सहकार्यले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाएको छ’, पुनले भने, ‘नेपालको विकास यात्राको प्रारम्भिक चरणमा भौतिक पूर्वाधार निर्माण तथा औद्योगिकीकरणमा रुसले पुर्‍याएको सहयोगले नेपालको सामाजिक–आर्थिक विकासमा उल्लेखनीय योगदान दिएको छ । त्यसैगरी, रुसमा उच्च शिक्षा हासिल गरेका हजारौँ नेपालीले चिकित्सा, इन्जिनियरिङ, विज्ञान तथा अन्य विभिन्न पेशागत क्षेत्रमा नेपालका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। यस्ता जनस्तरका सम्बन्ध आज पनि नेपाल–रुस मित्रताको सबैभन्दा बलियो आधारमध्ये एक हुन् ।’

पूर्वअर्थमन्त्री पुनले नेपाल दिगो आर्थिक विकास र समृद्धितर्फ अघि बढिरहेको वर्तमान अवस्थामा दुई द देशबीच पारस्परिक सम्मान र लाभ तथा साझा आकांक्षामा आधारित अन्तर्राष्ट्रिय साझेदारीको महत्त्व अझ बढ्दै गएको उल्लेख गरे । नेपाल–रुसबीच विगत ७० वर्षमा निर्माण भएको मित्रता र सहकार्यको बलियो आधारलाई टेकेर व्यापार तथा लगानी, ऊर्जा, पर्यटन, शिक्षा, विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कृषि र सांस्कृतिक आदानप्रदानलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना औंल्याए ।

उनले दुवै देशका सरकारी निकाय, निजी क्षेत्र, शैक्षिक समुदाय तथा जनस्तरका सञ्जालबीच थप सहकार्य र संवाद आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा नेपाल–रुस सम्बन्धलाई अझ सुदृढ, गतिशील र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए ।

पुनले नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विगतका उपलब्धिको उत्सव मात्र नभई भविष्यको सहकार्यलाई अझ मजबुत बनाउने अवसरसमेत भएको बताए ।

कार्यक्रममा पुनले नेपाल र रुसबीच सात दशकमा भएका उच्चस्तरीय भ्रमण, सहकार्य र जनस्तरका सम्बन्ध समेटिएका तस्बिर संग्रह राखिएको प्रदर्शनीको उद्घाटन गरेका थिए । उक्त फोटो प्रदर्शनी नेपाल र रुसबीचको सात दशक लामो मित्रता, पारस्परिक सम्मान र सहकार्यको जीवन्त दस्तावेज भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?