+
+
Shares

तराई गाईसँग जर्सी र होलिस्टिनको क्रस गराएर तेस्रो पुस्ता तयार

बढी दूध दिने तर गर्मी सहन नसक्ने होलिस्टिन र जर्सी गाईसँग गर्मी सहन सक्ने रैथाने तराई गाईको क्रस गराएर पहिलो, दोस्रो हुँदै तेस्रो पुस्ता तयार गरिएको हो ।

सुवास पण्डित सुवास पण्डित
२०८३ साउन ८ गते ७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमले रैथाने तराई गाई र उन्नत जर्सी तथा होलिस्टिन जातको क्रस गरी तीन पुस्ताका गाई तयार पारेको छ ।
  • अनुसन्धानमा ५० प्रतिशत उन्नत जातको बिज प्रयोग गर्दा दूध उत्पादन दैनिक दुई लिटरबाट बढेर १० लिटर पुगेको पाइएको छ ।
  • प्राविधिक अधिकृत यज्ञराज पाण्डेले भने, ‘अहिलेसम्मको अनुसन्धानले सकारात्मक नतिजा नै दिएको छ ।’

८ साउन, चितवन । चितवनमा रहेको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले तराई गाईसँग जर्सी र होलिस्टिन जातको बिज क्रस गराएर पहिलो, दोस्रो र तेस्रो पुस्ता तयार पारेको छ ।

नेपालको तराई क्षेत्रमा पाइने रैथाने तराई गाईमा गर्मी र रोग सहन सक्ने क्षमता भएको मानिन्छ । तर यो गाईको दूध उत्पादन क्षमता निकै कम हुने हुँदा दुधालु होलिस्टिन र जर्सी गाईको उन्नत बिजसँग क्रस गरेर अनुसन्धान गरिएको हो ।

कार्यालय प्रमुख देवीप्रसाद अधिकारीले होलिस्टिन र जर्सी गाईले बढी दूध दिने तर गर्मी सहन नसक्ने हुँदा गर्मी सहन सक्ने रैथाने तराई गाईसँग दूध दिने गाईको जातको क्रस गराएर पहिलो, दोस्रो हुँदै तेस्रो पुस्ता तयार गरिएको जानकारी दिए । उनका अनुसार अनुसन्धानका विभिन्न चरणहरूमा केही प्रगतिहरूसमेत हात लागेको छ ।

उन्नत जात र तराई गाईको ५०/५० प्रतिशत क्रस गराउँदा पहिलो वंशमा गाईको दूध २ लिटरबाट बढेर १० लिटर पुगेको पाइएको छ । शुद्ध तराई गाईले दैनिक २ लिटर दूध दिने गर्छ भने जर्सीले दैनिक २५/३० लिटर तथा होलिस्टिन शुद्ध जातले दैनिक ४० लिटरसम्म दूध दिन्छ ।

पहिलो पुस्ताको तराई र जर्सी तथा होलिस्टिन जातको क्रस गाई

अनुसन्धानकै क्रममा ७५ प्रतिशत उन्नत जातका बिज र २५ प्रतिशत रैथाने तराई गाईका बीचमा क्रस गराउँदा दूधको मात्रा दैनिक १८.७५ लिटरसम्म पुगेको पाइएको छ ।

अनुसन्धान कार्यक्रमले ८७.५ प्रतिशत उन्नत जातको बिज र १३ प्रतिशत रैथाने तराई जातको राखेर तेस्रो पुस्ता पनि तयार गरेको छ । यो तेस्रो पुस्ता भर्खर हुँर्कदै छ । पोखराबाट जर्सी र होलिस्टिनको सेक्स सिमेन ल्याएर एआई गरी लगाउने गरिएको छ । कहिलेकाहीँ बाहिरबाटसमेत ल्याउने गरिन्छ ।

दोस्रो पुस्ताको क्रस गाई तस्वीर

पहिलो पुस्ता र दोस्रो पुस्ताको क्रस जातमा गर्मी सहन सक्ने, उत्पादन बढ्ने र रोगसँग लड्न सक्ने क्षमता उन्नत जातका गाईको भन्दा बढी देखिएको छ भने दूध उत्पादनको अनुपात पनि क्रस गरिएको पुस्तामा बढी पाइएको अनुसन्धान कार्यक्रमका प्राविधिक अधिकृत यज्ञराज पाण्डेले जानकारी दिए ।

‘रेकर्ड सबै लिएका छौं, कुनकुन अवस्थामा कस्तो प्रकृतिको रेस्पोन्स आएको छ भन्ने विवरणहरू सबै छन् । ती सबैको विश्लेषण गरेपछि मात्रै हामी किसानलाई व्यावसायिक पालनका लागि सिफारिस गर्छौं,’ प्राविधिक अधिकृत पाण्डेले भने, ‘अहिलेसम्मको अनुसन्धानले सकारात्मक नतिजा नै दिएको छ ।’

क्रसको दोस्रो पुस्तामा ५० प्रतिशतसम्म थुनेलोमा सुधार देखिएको छ । शुद्ध होलिस्टिन जातको गाईमा जीवनको एउटा बेतमा एक पटक थुनेलो देखिने सम्भावना अधिक हुन्छ ।

तेस्रो पुस्ताका बाच्छीहरू भने हुँर्कदै छन् । प्राविधिक अधिकृत पाण्डेका अनुसार कुनै बाच्छीहरू दुई वर्ष भएका छन् भने कुनै अलि सानै छन् । यी बाच्छीले दूध दिने भएपछि उत्पादन, गुणस्तरदेखि रोग र गर्मी सहन सक्ने क्षमताको जाँच गरिने पाण्डेले बताए ।

तेस्रो पुस्ताको भन्दा बढी क्रस गराउँदा शुद्ध जात नै निस्कन सक्ने भएकोले त्यतातिर नलागेर पहिलो, दोस्रो र तेस्रो पुस्तालाई नै अझै अनुसन्धानका विविध पाटाहरूबाट निखार्ने र हेर्ने काम गरिने कार्यक्रमका प्रमुख अधिकारीको भनाइ छ ।

तेस्रो पुस्ताको गाई 

अहिले राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमसँग तराई गाई शुद्ध जातका १३ वटा, पहिलो लाइन (क्रसिङ) ८ वटा, दोस्रो लाइन (क्रसिङ) ७ वटा, तेस्रो लाइन (क्रसिङ) का ४ वटा छन् । २०७४ सालबाट सुरु भएको यो कार्यक्रम अझै केही वर्ष चल्ने देखिएको छ । गाईका बाच्छी हुर्किन ३/४ वर्ष लाग्ने भएकोले अर्को लाइनमा जानसमेत समय लाग्ने गरेको प्राविधिक अधिकृत पाण्डेले बताए ।

गाईको क्रसिङ गर्दा पहाडी जातको गाईमा धेरैजसो ६२.५ प्रतिशत उन्नत जात र बाँकी ३७.५ प्रतिशत रैथाने जातको गर्ने चलन छ ।

न्यूजर्सीबाट आयात गरिएको जर्सी गाई र नेदरल्यान्ड्सबाट ल्याइएको होलिस्टिनलाई साधारणतय चिसो ठाउँमा हुने र गर्मी सहन नसक्ने जातका रूपमा लिने गरिन्छ । जसका कारण गाईमा बाँझोपना देखिनेदेखि अनेकन शारीरिक समस्या पनि आउँछन्् । तर तराई गाईको ३० देखि ४२ डिग्री तापक्रमसम्म पनि सजिलोसँग बाँच्न सक्ने क्षमता हुन्छ ।

जर्सी र होलिस्टिन गाईमा थुनेलोको समेत बढी सम्भावना हुन्छ । गाईको दूध दिने बेलामा बढी मात्रामा थुनेलोले दु:ख दिने गर्छ । क्रस गरिएका जातमा थुनेलोको सम्भावना एकदमै काम मात्रै देखिएको पाइएको छ । क्रसको दोस्रो पुस्तामा ५० प्रतिशतसम्म थुनेलोमा सुधार देखिएको छ ।

तराईमा घाँस बढी पाइने, उत्पादित दूध तथा अन्य दुग्धजन्य उत्पादनले बजार पनि लिन सक्ने र गर्मी सहन सक्ने जात भएकोले तराई गाई नै छनोट गरिएको हो । दौडिन सक्ने क्षमता पनि तराईको गाईमा छ । यी क्षेत्रमा बढी दुग्धजन्य उद्योगसमेत छन् । त्यसकारण उत्पादनको विविधीकरणका लागि पनि सहज गर्छ ।

नेपालमा करिब ५२ लाख गाई रहेको अनुमान छ । त्यसको २० प्रतिशत बाहिरबाट ल्याइएका जर्सी होलिस्टिन गाई रहेको भन्ने गरिन्छ । २३ लाख तराई गाई रहेका छन् ।

पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म नै तराई गाईहरू पाइन्छन् । मधेश प्रदेशका ८ जिल्लामा पनि यी गाई पाइन्छ । तराईका गाईभित्र गाईको जातीय शुद्धताबारे यसको मौलिक आनुवंशिक पहिचान, विदेशी जीनको मिश्रण तथा भारतको सीमावर्ती गाईसँगको आनुवांशिक सम्बन्धका विषयमा सचेत रहनुपर्ने अवस्था रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु प्रजनन् विभागका प्रा.डा. निराजन भट्टराईले जानकारी दिए ।

अहिले राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमसँग २८० वटा गाई छन्  । गाईको अनुसन्धानका लागि स्ट्यान्डर्ड साइजका ४० वटा हुनुपर्ने प्रावधान छ । तर, त्यति संख्या पुर्‍याउन सकस भएको छ ।

रोगब्याधी कम लाग्ने, दूध पनि बढ्ने, अन्य समस्याहरू पनि कम देखिने कुन पुस्तामा देखिन्छ, त्यहीँ पुस्तालाई अनुसन्धानको उचित निष्कर्षका रूपमा मानिने कार्यालय प्रमुख अधिकारीले बताए ।

कुन पुस्तामा सबैभन्दा राम्रो नतिजा आउँछ त्यहीँ नै पछि किसानका लागि व्यावसायिक रूपमा पाल्नका लागि सिफारिस गरिने कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए । अबको केही वर्षभित्र नै यो अनुसन्धानले पूर्णता पाउने अधिकारीको भनाइ छ ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?