+
+
Shares

२०० र ५०० दरका भारु नोट विधिवत् चलनचल्तीमा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले २०० र ५०० दरका भारतीय नोट नेपालमा विधिवत रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ ।
  • सन् २०१६ नोभेम्बर ९ पछि निष्कासित भारु नोटहरू नेपाल ल्याउन, लैजान र नेपाली बजारमा कारोबार गर्न अनुमति दिइएको छ ।
  • केन्द्रीय बैंकका प्रवक्ता गुरु पौडेलले प्रक्रियागत व्यवस्था पूरा भएपछि भारुको प्रयोग खुलाइएको जानकारी दिनुभएको छ ।

७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले २०० र ५०० दरका भारतीय नोट विधिवत रुपमा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आवश्यक प्रक्रियागत व्यवस्था गरेर ती नोटको प्रयोग पनि खुला गरेको हो ।

केन्द्रीय बैंकका अनुसार २०१६ नोभेम्बर ९ पछि निष्कासन भएका ५ सयसम्मका भारु नेपाल ल्याउन वा भारत लैजान सकिने व्यवस्था भएको छ । नेपाली बजारमा ५ सय सम्मका भारुको कारोबार गर्न सकिने र ती दरका नोट बैंकहरूले पनि सहज सटही लिने व्यवस्था केन्द्रीय बैंकले गरिदिएको हो ।

बिहीबार केन्द्रीय बैंकले निर्देशन जारी गर्दै नेपाल सरकारको निर्णय कार्यान्वयन गर्नेगरी भारुको प्रयोग खुलाएको हो । तर, २०१६ नोभेम्बरअघि निष्कासन भएका ५ सय तथा १ हजारका नोट भने प्रयोगमा ल्याउन पाइने छैन ।

त्यसैगरी अहिले प्रचलनमा रहेको २ हजारको नोट ओसारपसार गर्न वा साथमा राख्न पनि नपाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । भारत बाहेक अन्य मुलुकबाट भने भारु ल्याउन वा लैजान नपाइने केन्द्रीय बैंकले जनाएको छ ।

भारत सरकारले सन् २०१६ नोभेम्बर ८ बाट त्यसअघिका भारु ५०० र १००० दरका नोट प्रचलनमा प्रतिबन्ध लगायो। त्यसको असर नेपालमा पनि पर्‍यो ।

त्यो बेलासम्म नेपालमा पनि भारतीय ठूला दरका नोटको सहज कारोबार हुने गर्दथ्यो । नेपालको बैंकिङ प्रणलीमा ५०० र १००० भारुका ७ करोडभन्दा बढी रकम थिए । सो रकम साट्नका लागि बारम्बार पहल गरिएको भएपनि भारत सरकारले मानेन । त्यसपछि नेपालमा ठूला दरका भारुको प्रयोगमा रोक लगाइएको थियो ।

अब नेपाली बैंकले सर्वसाधारणबाट लिने र नेपाल राष्ट्र बैंकसम्म पुर्‍याउने तथा केन्द्रीय बैंकले भारतीय रिजर्भ बैंकमा रहेको आफ्नो खातामा जम्मा गर्न सक्ने व्यवसथा गरिएपछि ठूला दरका नोटको प्रयोग खुलाइएको केन्द्रीय बैंकका प्रवक्ता गुरु पौडेलले बताए ।

रिजर्भ बैंक अफ इन्डियाले गत वर्ष विदेशी विनिमय व्यवस्थापन नियमावली २०१५ संशोधन गर्दै ठूला दरका नोट पनि नेपाल भारत ल्याउन, लैजान पाउने व्यवस्था गरेको थियो । आरबीआईले गरेको नयाँ व्यवस्था अनुसार १ सय भारुसम्मका नोटमा जतिसुकै रकम पनि भारत भित्र्याउन वा भारतबाट नेपाल ल्याउन पाइने व्यवस्था छ । यसमा कुनै सीमा तोकिएको छैन ।

तर, १ सयभन्दा माथिका नोटका हकमा भने २५ हजार भारुसम्म भारतबाट नेपाल ल्याउन वा लैजान पाइने व्यवस्था आरबीआईले गर्‍यो । त्यसपछि नेपाल सरकारले पनि ठूला दरका भारतीय नोटको प्रयोग खुलाएको थियो । तर, प्रक्रियागत व्यवस्था मिलाउनका लागि केन्द्रीय बैंकले कार्यान्वयनमा ल्याएको थिएन । आवश्यक प्रक्रियागत व्यवस्था पूरा भएपछि केन्द्रीय बैंकले बिहीबारदेखि प्रयोग खुला गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?