८ साउन, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. डेनियल म्युउली मोन्टेलियोनले शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो ।
भेटमा नेपाल र स्वीट्जरल्यान्डबीच द्विपक्षीय सम्बन्धका विभिन्न आयामहरूबारे छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले सन् १९५६ मा नेपाल र स्वीट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई मुलुकबीचको सम्बन्ध सधैं सौहार्दपूर्ण, मैत्रीपूर्ण तथा सहयोगात्मक रहँदै आएको स्मरण गरे ।
‘दुई मुलुकबीच उच्चस्तरीय भ्रमणहरूले हाम्रा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन र नयाँ गति दिन सहयोग पुगेको छ,’ उपराष्ट्रपति यादवले भने, ‘नेपालको शान्ति प्रक्रियामा स्वीस सरकारको निरन्तर सहयोग र सद्भावप्रति नेपालले हार्दिक धन्यवाद व्यक्त गर्दछ ।’
उपराष्ट्रपति यादवले स्वीस विकास तथा सहयोग नियोग (एसडीसी) को प्राथमिकतामा नेपाललाई निरन्तर राखेकोमा खुसी व्यक्त गर्दै भूकम्पपछिको पुनर्निर्माण, झोलुङ्गे पुल निर्माण, रोजगारी सृजना तथा प्राविधिक सहयोगजस्ता कार्यक्रमहरूले जनस्तरको तल्लो तहसम्म प्रत्यक्ष लाभ पुगेको उल्लेख गरे ।
राजदूत डा. मोन्टेलियोनले नेपाल र स्वीट्जरल्यान्डको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै स्वीस सरकार नेपालको उद्योगलगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताए ।
प्रतिक्रिया 4