११ साउन, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र दक्षिण कोरियाको सोल नेशनल युनिभर्सिटीका डाक्टरहरूको संयुक्त आयोजनामा ‘अस्पतालजन्य संक्रमण’ विषयक एक दिने कार्यशाला गोष्ठी बाँसबारीस्थित केन्द्रमा सम्पन्न भएको छ।
गोष्ठीमा अस्पतालजन्य संक्रमण न्यूनीकरणका उपायहरूबारे गहन छलफल हुनुका साथै दक्षिण कोरियाबाट आएका ५ जना आगन्तुक प्रोफेसरहरूले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रम फलदायी भएको र गोष्ठीबाट प्राप्त निचोडहरूलाई केन्द्रमा क्रमशः लागू गर्दै लैजाने शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निमित्त कार्यकारी निर्देशक डा. रविन्द्र भक्त तिमलाले जानकारी दिएका छन्।
यसअघि, सोल नेशनल युनिभर्सिटी अन्तर्गतको जेडब्लूली ग्लोबल मेडिकल सेन्टरका बाल हृदयरोग शल्यचिकित्सक डा. वुङ हान किम र गंगालाल हृदय केन्द्रका बालहृदय शल्यचिकित्सकहरूको संयुक्त टोलीले जटिल मुटुको समस्या भएका ७ जना बालबालिकाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको थियो।
शल्यक्रिया गरिएका सबै बालबालिकाहरूको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ। शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्न सक्षम बनाउन यस्ता प्रविधि हस्तान्तरण प्रक्रियाले महत्वपूर्ण भूमिका खेल्ने तिमलाले बताएका छन्।
प्रतिक्रिया 4