+
+
Shares

ग्यास अभाव छैन, हल्लाको पछि लागेर भण्डारण नगर्नू : उद्योगमन्त्री

उद्योगमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्ति र मौज्दात पर्याप्त रहेको भन्दै हल्लाको पछि लागेर नआत्तिन उपभोक्तालाई आग्रह गरेकी छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बजारमा एलपी ग्यासको पर्याप्त मौज्दात रहेको भन्दै अनावश्यक हल्लाको पछि नलाग्न उपभोक्तालाई आग्रह गरेकी छिन्।
  • मन्त्रालयले कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारीमा संलग्न जोकोहीलाई कडा कारबाही गरिने चेतावनी दिएको छ।
  • मन्त्री यादवले ग्यास वितरण प्रणालीमा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल आयल निगमलाई निर्देशन दिएकी छिन्।

११ साउन, काठमाडौं । पछिल्लो केही दिनयता बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो बढ्न थालेपछि सरकारले त्यसमा सत्यता नरहेको बताएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्ति र मौज्दात पर्याप्त रहेको भन्दै हल्लाको पछि लागेर नआत्तिन उपभोक्तालाई आग्रह गरेकी छिन् ।

बजारमा कृत्रिम अभावको हल्ला चलेपछि त्यसतर्फ विशेष चासो व्यक्त गर्दै मन्त्री यादवले आपूर्ति व्यवस्था र ग्यास मौज्दात मन्त्रालयको सूक्ष्म निगरानीमा रहेको बताएकी हुन् ।

अभाव हल्लासँगै उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास सिलिन्डर सञ्चय गर्न थालेपछि वितरण प्रणालीमा केही चाप परेको मन्त्रालयको निष्कर्ष छ ।

यसै परिस्थिति मध्यनजर गर्दै मन्त्रालयले सर्वसाधारणलाई तत्काल जति आवश्यक छ, त्यतिमात्र खरिद गर्न अनुरोध गरेको छ ।

अनावश्यक ग्यास भण्डारण गरिदिँदा बजारमा साँच्चिकै असहज परिस्थिति सिर्जना हुन सक्ने भन्दै मन्त्रालयले त्यसो नगर्न उपभोक्ताको ध्यानाकर्षण गराएको छ ।

यसैबीच मन्त्री यादवले बजारमा देखिएको वितरणगत समस्या तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था पूर्ववत् सहज बनाउन नेपाल आयल निगमलाई निर्देशन दिएकी छिन् ।

आयल निगमले बजार अनुगमनलाई तीव्रता दिने र ग्यास वितरण प्रणालीमा देखिएका समस्या समाधान गरी थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको मन्त्रालयको भनाइ छ ।

हल्लाकै भरमा बजारमा ग्यास लुकाउने वा कृत्रिम अभाव सिर्जना गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?