News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको पहिलो र सबैभन्दा लामो नागढुङ्गा-सिस्नेखोला सडक सुरुङमार्गको सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ ।
- पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जाइकाका अध्यक्ष डा. तानाका अकिहिको र पूर्ण जोशीले संयुक्त रूपमा आयोजनाको उद्घाटन गरे ।
- परीक्षणकालका लागि हाल अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र अनुमति दिइएको र छिट्टै सबै प्रकारका सवारीसाधनका लागि खुल्ने मन्त्रालयले जनाएको छ ।
११ साउन, काठमाडौं । सडक यातायात प्रयोजनमा प्रयोग गरिने सुरुङमार्गमध्ये नेपालको पहिलो र सबैभन्दा लामो नागढुङ्गा-सिस्नेखोला टनेल सोमबारदेखि औपचारिक सञ्चालनमा आएको छ ।
यद्यपि, पहिलो चरणमा अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र प्रवेश अनुमति छ । केही समयको परीक्षणकालपछि सुरुङमार्ग सबै प्रकारका सवारीसाधनलाई खुला हुने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
संघीय राजधानी काठमाडौंलाई बाहिरी जिल्लासँग जोड्ने त्रिभुवन राजपथमा बनेको सुरुङमार्गको सोमबार पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) अध्यक्ष डा. तानाका अकिहिको र सुरुङ निर्माणमा संलग्न ६३ वर्षीय पूर्ण जोशीले संयुक्त रूपमा उद्घाटन गरे ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २२ अक्टोबर २०१९ मा शिलान्यास गरेको यो आयोजनाको काम थालनी भने १४ नोभेम्बर २०१९ देखि भएको हो ।
सुरुङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ ३ वैशाख २०८१ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । सुरुङमार्गको लम्बाई २ हजार ६ सय ८८ मिटर छ ।
कार्यक्रममा सञ्चारकर्मीसँग पूर्वाधारमन्त्री लम्सालले मुलुक पूर्वाधार निर्माणको अर्को चरणमा प्रवेश गरेको बताए । विगतप्रति गौरव गर्दै भविष्य उज्ज्वल बनाउनुपर्ने भन्दै उनले अब मुलुकमा धेरै सुरुङमार्ग निर्माण हुने समेत बताए ।
मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय सुरु भएको बताए । उनले कठिन भौगोलिक अवस्थितिबीच सुरुङमार्ग सञ्चालनमा आउनु महत्त्वपूर्ण विषय भएको बताए ।
राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्य भए नेपालले महत्त्वाकांक्षी पूर्वाधार सफलतापूर्वक सम्पन्न गर्ने उनले बताए ।

यस आयोजनामा जापानले सहुलियतपूर्ण ऋण सहयोग गरेको छ । उद्घाटनमा जाइका अध्यक्ष अकिहिकोले यो आयोजना नेपाल र जापानबीचको प्रगाढ सम्बन्ध र सहयोगको महत्त्वपूर्ण उपलब्धि रहेको बताए ।
उनले दुई वर्षअघिको अविरल वर्षा र त्यसले निम्याएको अवरोधले सुरुङमार्गको औचित्य पुष्टि गराएको समेत स्मरण गरे । हिमालय क्षेत्रको कठिन भूर्गभीय वनावटका कारण आयोजना निर्माणका बेला धेरै चुनौती सामना गर्नुपरेको समेत उनले स्मरण गरे ।
नेपालका लागि जापानी राजदूत माएदा तोरुले यस आयोजनालाई नेपालको पूर्वाधार विकासको ऐतिहासिक क्षण र नेपाल–जापान मैत्री सम्बन्धको कसिलो कडिका रूपमा चित्रण गरे ।
चुरियामाईपछि रोकिएको सुरुङ विकासले गति लिँदै
नेपालमा सडक सुरुङमार्गका रूपमा पहिलो सुरुङ मकवानपुर जिल्लामा पर्ने चुरियामाई सुरुङमार्गलाई लिइन्छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र पोलिसी इन्टरप्रेनर्स इन्कर्पोरेटेड (पीपीआई) ले संयक्त रुपमा गरेको विदेशी लगानीका पूर्वाधार आयोजना सम्बन्धी खोज अध्ययन पुस्तकमा उल्लेख भए अनुसार चुरियामाई सुरुङमार्ग निर्माण सन् १९१७ मा राणकालमा चन्द्रशमशेरले गराएका थिए ।
त्यसपछि सडकमा सुरुङ प्रयोग ठप्प भयो । माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजनाले आफ्नो प्रयोजनका लागि लमजुङमा बनाएको ३ सय ४० मिटर लामो सुरुङमा यातायात चल्छन् । तर, यो व्यावसायिक सडक प्रयोजनमा बनेको होइन ।

माथिल्लो तामाकोशी आयोजनाले बनाएको ३ सय ३७ मिटर लामो सुरुङमा पनि यातायात चल्छन् । तर, नागढुङ्गा भने व्यस्त राजमार्गमा बनेको पहिलो र सबैभन्दा लामो सुरुङमार्ग हो । संख्यात्मक हिसाबले नागढुङ्गा टनेल नेपालको चौथो सुरुङमार्ग हो ।
आधुनिक नेपालमा सबैभन्दा धेरै सुरुङ विकास जलविद्युत् आयोजनामा भयो । उक्त खोज प्रतिवेदन अनुसार जलविद्युत्, सिँचाइ, खानेपानी र सडक आयोजनामा गरी अहिले करिब २ सय ८० किलोमिटर सुरुङ बनिसकेको छ ।
राष्ट्रिय समाचार समितिले नेपाल टनेलिङ एसोसिएसनका पूर्वअध्यक्ष डा. ज्ञानेन्द्रलाल श्रेष्ठलाई उद्धृत गर्दै लेखे अनुसार जनवरी २०२६ सम्म नेपालमा सबै खालका सुरुङको लम्बाइ ५ सय ३७ किलोमिटर पुगेको छ । त्यसमध्ये जलविद्युत् आयोजनामा मात्र ४ सय ५४ किलोमिटर सुरुङ छ ।
निर्माणाधीन परियोजनामा २ सय ५० किलोमिटर सुरुङ बनिरहेको छ । जलविद्युत् बाहेक खानेपानी आयोजनामा सबैभन्दा लामो सुरुङ मेलम्चीको हो । जुन २६ किलोमिटर लम्बाइको छ । नागढुङ्गा सुरुङले सडक आयोजनामा नेपाली प्राविधिकलाई प्रविधि र सिप हस्तान्तरणको कामसमेत भएको छ । यसले आगामी परियोजना कार्यान्वयन गर्न सहज हुने अपेक्षा सरोकारवालाको छ ।
कस्तो बन्यो नागढुङ्गा-सिस्नेखोला सुरुङ ?
नागढुङ्गा–सिस्नेखोला सुरुङको कुल लम्बाइ २ हजार ६ सय ८८ मिटर छ । यो आयोजनामा २ हजार ५ सय ५७ मिटर लामो रेस्क्यु टनेल छ । सुरुङ बाहेक यहाँ फ्लाइओभर, पुल, बक्स कल्भर्ट, अन्डरपास र ओभरपास समेत कुल एक दर्जन थप संरचना निर्माण भएका छन् ।

सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ । सुरुङसम्म पहुँचमार्गका लागि बलम्बु चोक र सुरुङको मुख नजिकै फ्लाइओभर बनाइएको छ । बलम्बु फ्लाइओभर ६ सय १० मिटर लामो छ ।
यो आयोजना अध्ययन सन् २०१४ मा भएको थियो । २०१६ मा स्रोत सुनिश्चित भएपछि २०१७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा-आन्दो जेभीले आयोजना निर्माण सम्पन्न गरेको छ । यो कम्पनी कोटेश्वर-सूर्यविनायक खण्ड विस्तार तथा बीपी राजमार्ग निर्माणमा समेत सफल भएको कम्पनी हो । आयोजनामा टनेल बोरिङ मेसिन (टीबीएम) र विष्फोटक पदार्थ प्रयोग नगरी नै सुरुङ बनाइएको छ ।
अहिले सडकमा सानो अवरोध हुँदा नौबिसेबाट काठमाडौं आउन घण्टौं जाममा फस्नुपर्छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यो समय ४/५ मिनेटमा झर्ने छ ।
सुरुङमा मोटरसाइकल र अतिप्रज्ज्वलनशील पदार्थ बोकेर हिँड्ने सवारीसाधनले अनुमति पाउने छैनन् । अन्य सवारीसाधन भने धादिङ सिस्नेखोलाबाट सुरुङमार्ग हुँदै काठमाडौं प्रवेश गर्न सक्नेछन् ।
सडक सुरक्षाका दृष्टिले केही सवारीसाधनलाई प्रवेश रोक्न लागिएको हो । यस आयोजनाको प्रवेशद्वारमै आकस्मिक उद्धारका लागि अत्याधुनिक उपकरण र दमकल व्यवस्था गरिएको छ । जसलाई सवारी दुर्घटना वा आपतकालीन समयमा उपयोग गरिने छ । सीसीटीभी क्यामराले चौबिसै घण्टा निगरानी हुने सुरुङमार्गभित्र अत्याधुनिक सुरक्षा प्रविधि उपकरण जडान गरिएका छन् ।
२५ वर्षदेखिको सपना
नेपालको आग्रहमा जाइकाले सन् २००१ (२०५८ साल) मा काठमाडौं-नौबिसे सडक विस्तारको सम्भाव्यता अध्ययन गरेको थियो । जाइकाले यो सडकलाई चार लेनमा विस्तार गर्न सम्भव नभएको भन्दै वैकल्पिक सडक बनाउन सुझाव दिएको थियो । त्यसपछिको १० वर्षसम्म यो सडक विस्तार वा विकल्प केमा जाने भन्नेबारे सरकारले कुनै निर्णय गरेन ।

२०६८ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारले नागढुङ्गामा सुरुङ बनाउने निर्णय गर्यो । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले पेस गरेको आव २०६८/६९ को बजेटमा नागढुङ्गा सुरुङ बनाउन बजेट नै विनियोजन भएको थियो । सरकारले सुरुङ बनाउने भनी निर्णय गरेको २ वर्षपछि २०७० सालमा सडक विभागले प्रारम्भिक अध्ययन प्रतिवेदन बनायो । त्यसपछि सुरुङमार्ग निर्माणका लागि चाहिने प्रारम्भिक कामले गति लिएका थिए ।
२०७३ सालमा जापानका परराष्ट्रमन्त्री नोबुओ किशोको नेपाल भ्रमणका बेला सुरुङमार्गका लागि नेपाललाई सहुलियतपूर्ण ऋण दिने घोषणा जापानले गरेको थियो । त्यो भ्रमण नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औं वर्षगाँठका अवसरमा भएको थियो ।
१६ डिसेम्बर २०१६ मा अर्थ मन्त्रालयमा नेपाल र जापानका अधिकारीबीच ऋण सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार १६ अर्ब ३६ करोड ६० लाख जापानी येन जापान सरकारले नेपाललाई उपलब्ध गराउने र बाँकी लागत नेपाल सरकारले बेहोर्ने सहमति भएको थियो ।
सुरुङमार्ग र पहुँचमार्ग समेत यो आयोजनाको सुरुवाती लागत २२ अर्ब रुपैयाँ हाराहारी हो । तर जग्गा मुआब्जा, कोभिड महामारी, स्थानीयको अवरोध लगायत कारण समय र आयोजनाको म्याद थप हुँदा लागत समेत बढेको छ ।
आयोजना सञ्चालन तथा व्यवस्थापन जिम्मा भने युसिन एआरटी जेभीले पाएको छ । यस कम्पनीले १ अर्ब १० करोडमा ५ वर्षका लागि सञ्चालन तथा व्यवस्थापनको जिम्मा पाएको छ । सुरुङ आयोजनाको सञ्चालन आयु ३० वर्ष हो ।
कति पर्छ सवारी प्रवेश शुल्क ?
नागढुङ्गा सुरुङ प्रयोग गरेबापत सर्वसाधारणले सडक दस्तुर तिर्नुपर्ने हुन्छ । यस्तो दर २६ साउन २०८२ मा तय भएको थियो । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै दस्तुर दर सार्वजनिक गरिसकेको छ ।

सार्वजनिक दर अनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीले काठमाडौं छिर्दा ६५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्ने छ ।
मिनिबस, मिनिट्रिपर/ट्रकले काठमाडौं आउँदा १ सय १५ र काठमाडौंबाट जाँदा ८० रुपैयाँ तिर्नुपर्छ । बस, ट्रक (सिंगल रियर एक्सल) का हकमा काठमाडौं छिर्दा २ सय ६० र बाहिरिँदा २ सय रुपैयाँ दस्तुर तोकिएको छ ।
त्यस्तै मल्टिएक्सल ट्रक/सवारीसाधन र भारी उपकरणलाई भित्र छिर्दा ६ सय रुपैयाँ र बाहिरिँदा २ सय ५० रुपैयाँ दस्तुर तोकिएको छ । यो दस्तुर भने सडक बोर्ड नेपालले उठाउने छ ।
बोर्डका अनुसार दस्तुर संकलन गर्न रेडियो फ्रिक्वेन्सी आइडन्टिफिकेसन प्रविधिमा आधारित ‘एन-ट्याग’ नामक उपकरण व्यवस्था गरिएको छ । यो सवारी साधनमा जडान गरिन्छ ।
त्यसपछि टोल प्लाजामा सवारीसाधन रोकिनु नपरी स्वत: टोल शुल्क कट्टा हुने बोर्डले जनाएको छ । एनट्याग सम्बन्धित बैंकका शाखा र बैंकले तोकेको एजेन्टबाट प्राप्त गर्न सकिने छ ।
पाइपलाइनमा दुई दर्जन सुरुङ आयोजना
नेपालमा बहुचर्चित दुई सुरुङमार्ग आयोजना नागढुङ्गा र सिद्धबाबा हुन् । यसमध्ये एक आयोजना आजदेखि औपचारिक सञ्चालनमा आएको छ । सिद्धबाबा निर्माण अन्तिम चरणमा छ ।
ग्वार्को-सातदोबाटो फ्लाइओभर सञ्चालनमा आइसकेको छ । यी आयोजनासँगै दुई दर्जन सुरुङ आयोजना पाइपलाइनमा छन् । यी सुरुङ काठमाडौं-तराई-मधेस द्रुतमार्गमा बनिरहेका सुरुङभन्दा अलग हुन् ।
नेपालमा धरान लेउती सुरुङमार्ग, दुम्कीबास-बर्दघाट, हेम्जा-नयाँपुल, मझिमटार-शक्तिखोर, नयाँ बानेश्वर अन्डरपास, प्रवास-जोर्ते (पाल्पा), बबई-छिन्चु, ताथली–रविओपी, विपिनगर-खुटिया, गोदावरी-मानचौर सुरुङमार्ग अहिले अध्ययन चरणमा छन् ।
यसैगरी छोरेपाटन-गुडीखोला, बागलुङ-नरेठाँटी, कुशेपाटन-इमिचला (जुम्ला), सुनमाई राजदूबोल (इलाम), बेसीसहर-नाल्म, जाजरकोट-ब्याउलीढुङ्गा-टोप्ला, टोखा-छहरे सहित आयोजनामा अहिले विभिन्न चरणमा अध्ययन भइरहेको पूर्वाधार मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4