News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जामा गत आर्थिक वर्षमा २० हजार ८८२ मेट्रिक टन सुन्तला बिक्रीबाट किसानले एक अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेका छन्।
- जिल्लामा सुन्तला खेतीको क्षेत्रफल बढेर दुई हजार ४५० हेक्टर पुगेको छ भने सुन्तला व्यवसाय किसानको मुख्य आम्दानीको स्रोत बनेको छ।
- वरिष्ठ कृषि अधिकृत अजय अधिकारीका अनुसार कोल्ड स्टोरको अभाव र सिट्रस ग्रीनिङ रोगको नियन्त्रणमा देखिएको चुनौतीले सुन्तला उत्पादनलाई केही प्रभावित पारेको छ।
१२ साउन, स्याङ्जा । स्याङ्जामा गत आर्थिक वर्ष सुन्तला बिक्रीबाट एक अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रकम भित्रिएको छ। उत्पादन बढ्दै जाँदा जिल्लाको सुन्तला व्यवसाय किसानको मुख्य आम्दानीको स्रोतका रूपमा स्थापित हुँदै गएको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाका प्रमुख वरिष्ठ कृषि अधिकृत अजय अधिकारीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाबाट २० हजार ८८२ मेट्रिक टन सुन्तला बाहिर निकासी हुँदा एक अर्ब ३२ करोड रुपैयाँ भित्रिएको हो ।
गत वर्ष जिल्लामा कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । उत्पादनमध्ये २३५६ मेट्रिक टन सुन्तला घरायसी उपभोग तथा कोसेलीका रूपमा जिल्लामै खपत भएको कार्यालयले जनाएको छ ।
अधिकारीका अनुसार कार्यक्रम कार्यान्वयन एकाइले गत आर्थिक वर्ष ८५ प्रतिशत भौतिक र ८० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।
स्याङ्जामा सुन्तला सुपरजोन कार्यक्रम सुरु हुँदा आर्थिक वर्ष २०७३/७४ मा ८८६ हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला खेती हुँदै आएको थियो । अहिले त्यो विस्तार भएर दुई हजार ४५० हेक्टर पुगेको छ ।
स्याङ्जाको सुन्तला रसिलो, चिल्लो र स्वादिलो हुने भएकाले देशका विभिन्न बजारमा यसको माग उच्च रहेको अधिकारीले बताए । पुतलीबजार नगरपालिकासहित जिल्लाका विभिन्न क्षेत्रमा सुन्तलाले छुट्टै पहिचान बनाएको छ । पछिल्ला वर्षमा सुन्तलाबाट जाम, जुस, वाइन तथा सौन्दर्य सामग्रीसमेत उत्पादन हुन थालेपछि यसको व्यावसायिक सम्भावना थप विस्तार भएको छ ।
गत आर्थिक वर्ष किसान प्रोत्साहन कार्यक्रमका लागि सात करोड रुपैयाँ बजेट विनियोजन भएकोमा चालु आर्थिक वर्ष २०८३/८४ मा भने उक्त बजेट घटेर चार करोड रुपैयाँमा सीमित भएको अधिकारीले जानकारी दिए ।
कार्यालयले सुन्तला, कफी, आँप, लिची, अदुवा र बेसारलाई सुपरजोन कार्यक्रमअन्तर्गत समेट्दै आएको छ । गत वर्ष सुन्तलाको ९३ हेक्टर, आँप–लिचीको १० हेक्टर, कफीको सात हेक्टर तथा अदुवा–बेसारको पाँच हेक्टर क्षेत्रफल विस्तार गरिएको थियो । १४५ हेक्टर विस्तार गर्ने लक्ष्य रहे पनि ११५ हेक्टरमा मात्रै कार्यक्रम सञ्चालन गर्न सकिएको कार्यालयले जनाएको छ ।
सिँचाइ पूर्वाधारतर्फ सुन्तलाका लागि १३ हेक्टर, आँप–लिचीका लागि २.०६ हेक्टर, कफीका लागि १.५५ हेक्टर तथा चैते धान प्रवर्द्धनका लागि ८.५ हेक्टर क्षेत्रफलमा सिँचाइ निर्माण तथा मर्मत गरिएको छ ।
जिल्लामा हाल ४३९ कृषि संघ–संस्था राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँग आबद्ध छन् । तीमध्ये २८५ कृषि उद्यमी, ९० कृषि समूह, ५८ सहकारी, चार कम्पनी र दुई प्राविधिक शिक्षालय रहेका छन् ।
सुन्तला, आँप–लिची, कफी तथा अदुवा–बेसारको ११५ हेक्टर क्षेत्रमा उन्नत प्रविधिसहित खेती विस्तार गर्न ४९ लाख २७ हजार रुपैयाँ खर्च गरिएको छ । यस्तै २९ मिनी टिलर, १३ कम्बाइन मिल, दुई थ्रेसर, २९६ आरी, ३३१ सिकेचर, ६९ ह्यान्ड स्प्रे र ८७ चार्जिङ स्प्रेसहित विभिन्न कृषि उपकरण वितरणमा २७ लाख सात हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।
त्यसैगरी तरकारी, अकबरे खुर्सानी, कुखुरापालन, बंगुरपालन, मौरीपालन तथा सुन्तलाको बोक्राबाट फेसप्याक, साबुन र अचार उत्पादनलगायत १५ वटा कृषि उद्यम सञ्चालनका लागि ४३ लाख ७४ हजार रुपैयाँ लगानी गरिएको छ ।
यद्यपि सुन्तला उत्पादनसँगै केही चुनौती पनि रहेको अधिकारीले बताए । उनका अनुसार सिट्रस ग्रीनिङ रोग लागेका बगैंचा व्यवस्थापनका लागि स्पष्ट कार्यविधि नहुँदा रोग नियन्त्रण प्रभावकारी हुन सकेको छैन ।
त्यसैगरी जिल्लामा सुन्तला भण्डारणका लागि पर्याप्त चिस्यान केन्द्र नहुँदा किसानले अफ सिजनमा राम्रो मूल्य पाउने अवसर गुमाइरहेका छन् । सुन्तलाका लागि कोल्ड स्टोर परीक्षणकै चरणमा रहेको र सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्तिको अभाव देखिएको अधिकारीले बताए ।
उनका अनुसार सिङ्गल–च्याम्बर कोल्ड स्टोर सञ्चालन गर्न दक्ष जनशक्ति आवश्यक छ भने भविष्यमा बहु–च्याम्बरयुक्त चिस्यान केन्द्र निर्माणको आवश्यकता पनि देखिएको छ ।
प्रतिक्रिया 4