+
+
Shares

सामाजिक सद्‌भाव कायम राख्न सिरहा प्रशासनको अपिल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी घटनापछि सामाजिक सञ्जालमा फैलिन सक्ने अफवाह तथा द्वेषपूर्ण अभिव्यक्तिप्रति जिल्ला प्रशासन कार्यालय सिरहाले गम्भीर चासो व्यक्त गरेको छ ।
  • सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले सामाजिक सद्‌भाव बिथोल्ने कार्य नगर्न र भ्रामक सूचनाको पछि नलाग्न सबै नागरिकलाई सचेत गराएका छन् ।
  • धार्मिक वा सामाजिक सद्भावमा खलल पुर्‍याउने जो-कोहीलाई प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।

१३ साउन, सिरहा । सुनसरी जिल्लामा भएको घटनापछि धार्मिक तथा साम्प्रदायिक सद्भाव बिथोल्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना, अफवाह तथा द्वेषपूर्ण अभिव्यक्ति फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले सबै नागरिकलाई संयमित हुन आग्रह गरेको छ ।

बुधबार सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले सूचना जारी गरी पुराना घटनालाई वर्तमान घटनासँग जोडेर भ्रम सिर्जना गर्ने, कुनै धर्म, समुदाय, संस्कृति वा आस्थामाथि लक्षित गरी घृणा फैलाउने तथा सामाजिक सद्‌भाव खलबल्याउने गतिविधिबाट टाढा रहन सबैमा अनुरोध गरेका हुन् ।

प्रशासनले सिरहा जिल्लामा विभिन्न जातजाति, भाषा, धर्म तथा समुदायबीच कायम रहेको आपसी एकता, सद्भाव, सहिष्णुता र भाइचारालाई जोगाउनु सबै नागरिकको साझा दायित्व भएको उल्लेख गरेको छ । साथै, धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालालाई सामाजिक सद्‌भाव संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ ।

साथै, सामाजिक उत्तेजना फैलाउने, धार्मिक भावनामा आघात पुग्ने गतिविधि गर्ने वा कानुनविपरीत कार्यमा संलग्न हुने जो–कोहीलाई मुलुकी अपराध संहिता, २०७४ तथा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कानुनी कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बरालले सिरहामा लामो समयदेखि कायम रहेको धार्मिक तथा सामाजिक सद्‌भाव सबैको साझा सम्पत्ति भएकाले कुनै पनि अफवाह वा भ्रामक सूचनाको पछि नलाग्न सबैसँग आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न, आपसी एकता, सहिष्णुता र भाइचारा कायम राख्न तथा कानुनविपरीत कुनै पनि गतिविधिमा संलग्न नहुन अनुरोध गरेका छन् ।

साथै, शान्ति, सुरक्षा र सामाजिक सद्‌भावमा खलल पुर्‍याउने जो–कोहीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने पनि स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?