१३ साउन, सप्तरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा प्रहरीको गोली लागेर युवकको मृत्यु भएको घटनाको विरोध गर्दै सप्तरी सदरमुकाम राजबिराज बन्द गरिएको छ ।
हनुमानगर बजार पनि बन्द गरिएको छ । तिरहुत गाउँपालिका -४ डिमनमा हुलाकी सडकखण्ड अवरुद्ध पारी प्रदर्शन भइरहेको छ ।
यसअघि कन्चनरुप नगरपालिका वडानम्बर – ११ सिमरा चोकमा युवाहरुले टायर बालेर पूर्वपश्चिम राजमार्गमा केहीबेर चक्काजाम गरेका थिए ।
उनीहरूले घटनाको निष्पक्ष छानबिन, पीडितलाई नि:शुल्क उपचार तथा क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गरेका छन् ।
यसैबीच, देवानगञ्जमा जारी कर्फ्युको असर छिमेकी जिल्ला सप्तरीमा समेत देखिन थालेको छ। पूर्वबाट हुने ढुवानी प्रभावित भएपछि खाना पकाउने एलपी ग्याँसको आपूर्तिमा समस्या उत्पन्न भएको व्यवसायीहरूले बताएका छन्।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्न दुई बुँदे सहमति सोमबार गरेको थियो । तर, सो सहमति विपरीत जिल्ला प्रदर्शन भइरहेको छ । यसलेगर्दा जिल्लाको सुरक्षा चुनौती थपिएको छ ।
आइतबार राति सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । उक्त झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर एक जना युवकको मृत्यु भएको थियो ।
प्रतिक्रिया 4