+
+
Shares

सुनसरी घटनाको छानबिन समितिमा थपिए दुई सदस्य

सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सुनसरीको देवानगञ्ज झडप घटनाको छानबिन गर्न गठित समितिमा प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई सदस्यका रूपमा नियुक्त गरेको छ ।
  • गृह मन्त्रालयले सुनसरीलगायत संवेदनशील जिल्लाहरूमा शान्ति, सुव्यवस्था र आपसी सद्भाव कायम राख्न प्रमुख जिल्ला अधिकारीहरूमार्फत आवश्यक समन्वयलाई तीव्र पारेको छ ।
  • मन्त्रालयले वार्ताको माध्यमबाट समस्या समाधान गर्ने प्रयास गरिरहेको र हाल सुनसरीका संवेदनशील क्षेत्रहरूको अवस्था सामान्य बन्दै गएको जनाएको छ ।

१३ साउन, काठमाडौं । सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ ।

गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई सदस्यका रुपमा नियुक्त गरेको हो । समितिलाई घटनाको प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन समेत दिइएको छ ।

आइतबार राति सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडपका सम्बन्धमा छानबिन गर्न गत सोमबार गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको थियो । समितिमा संयोजक थापा, नेपाल प्रहरीका एसपी विपिन रेग्मी, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईं, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव शालिग्राम भण्डारी र जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य सचिव यसअघिनै छन् ।

मन्त्रालयले सुनसरीलगायतका अन्य जिल्लामा सोही प्रकृतिको घटना घट्न नदिनका लागि पूर्वतयारी समेत सुरु गरेको छ ।

यसका लागि मन्त्रालयले बाँके, कपिलवस्तु, धनुषा, सिरहा, सप्तरीलगायतका जिल्लामा शान्ति, सुव्यवस्था र आपसी सद्भाव कायम राख्न प्रमुख जिल्ला अधिकारीमार्फत आवश्यक समन्वय गरिरहेको छ ।

मन्त्रालयले उक्त क्षेत्रमा सुरक्षा अनुगमन र समन्वयलाई तीव्र पारेको छ । मन्त्रालयमा आज गृहमन्त्रीसहित सचिव र सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा जिल्लागत सुरक्षा अवस्थाबारे पनि गम्भीर समीक्षा गरिएको बताइएको छ ।

मन्त्रालयले वार्ताको माध्यमबाट सुनसरीको समस्या समाधान गर्न पहल गरिरहेको र हाल सुनसरीको देवानगञ्जलगायत अन्य संवेदनशील क्षेत्रमा अवस्था सामान्य बन्दै गएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?