+
+
Shares

बहुप्रतीक्षित बलिउड फिल्म ‘रामायणम्’ को ट्रेलर : रणवीर र यश आमनेसामने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १२:५२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नितेश तिवारी निर्देशित बहुप्रतीक्षित बलिउड फिल्म ‘रामायणम्’को ट्रेलर सार्वजनिक भएको छ।
  • फिल्ममा रणवीर कपूर राम र यश लंकापति रावणको भूमिकामा देखिएका छन्।
  • करिब ४ हजार करोड भारु बजेटको यो फिल्म दुई भागमा प्रदर्शन हुनेछ।

प्रतीक्षित बलिउड फिल्म ‘रामायणम्’को ट्रेलर सार्वजनिक भएको छ । नितेश तिवारी निर्देशित फिल्मको ट्रेलरमा रणवीर कपूर भगवान् राम र यश लंकापति रावणको भूमिकामा देखिएका छन् ।

ट्रेलरमा रणवीर र यशबीचको टकरावको झलक प्रस्तुत गरिएको छ । ट्रेलरमा साई पल्लवी, रवि दुबे, अरुण गोविल, विवेक ओबेरोय र रकुल प्रीत सिंहलगायतका कलाकार देखिएका छन् ।

ट्रेलरको सुरुवात यशले निर्वाह गरेको रावणको पात्रबाट हुन्छ । फकिरको भेषमा अनुहार लुकाएर दरबार प्रवेश गर्न खोज्दा रक्षकले उनलाई सोध्छन्, ‘तिमी को हौ?’ जवाफमा रावण भन्छन्, ‘तिमीहरूको नयाँ राजा ।’ त्यसपछि उनले लात प्रहार गरेर दरबारको विशाल ढोका खोली भित्र प्रवेश गर्छन् ।

त्यसपछि रावणको आवाज सुनिन्छ, ‘देवलोक, पृथ्वीलोक, पाताललोक… तीनै लोकमा एउटै शासन हुनेछ, रावणराज ।’

रावणको ताण्डवपछि राजा दशरथको भूमिकामा रहेका अरुण गोविललाई हवन र यज्ञ गरिरहेको देखाइएको छ । रावणको प्रकोपका कारण देवता र राजाहरू भविष्यप्रति भयभीत भएपछि भगवान् विष्णु सहायताका लागि आउँछन् । पृथ्वीमा आएको संकटबाट मानिसलाई बचाउन उनी राजा दशरथका छोरा रामका रूपमा जन्म लिन्छन् ।

त्यसपछि रामको भूमिकामा रहेका रणवीर विभिन्न विशाल जनावर र राक्षससँग युद्ध गरिरहेको देखिन्छन् । रानी कैकेयीको भूमिकामा लारा दत्तालाई प्रस्तुत गरिएको छ । उनले रामका लागि १४ वर्षको वनवास माग्छिन् । राजा दशरथ गह्रुँगो मन र टुटेको हृदयसहित रामलाई वनवासका लागि बिदाइ गर्छन् ।

साई पल्लवी सीताको भूमिका र स्वरूपमा देखिएकी छन् । उनले माता सीताको सरलता र सौम्यतालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रयास गरेकी छन् । ट्रेलरमा उनी राम बनेका रणवीरसँग वनवास जान चाहेको बताउँदै गरेको पनि देखिन्छिन् ।

यसअघि ‘रामायणम्’को पहिलो झलक अर्थात् टिजर सार्वजनिक हुँदा व्यापक आलोचना भएको थियो । भिजुअल इफेक्ट्सका साथै राक्षसलाई जनावरजस्तो देखाइएको भन्दै आलोचना गरिएको थियो । तर जुलाई १८ मा नयाँ दिल्लीमा आयोजित ‘प्रथम संकल्प’ नामक कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएपछि यसको प्रशंसा भएको थियो ।

‘रामायणम्’को बजेट ४ हजार करोड भारु छ । फिल्मलाई दुई भागमा प्रदर्शन गरिनेछ । पहिलो भाग यस वर्ष दीपावलीको अवसरमा नोभेम्बर ८ मा प्रदर्शन हुनेछ । सनी देओल हनुमानको भूमिकामा छन्, तर ट्रेलरमा उनको झलक देखाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?