+
+
Shares

संवादमा अघि-अघि रवि, पछि-पछि बालेन

सामाजिक सद्भाव कायम राख्नका लागि गरिएका पहलकदमीमा प्रधानमन्त्री बालेन शाह भन्दा रास्वपा सभापति रवि लामिछाने अघि देखिएका छन् । सरोकारवाला विभिन्न पक्षसँग सभापति लामिछानेले संवाद गरेपछि मात्रै प्रधानमन्त्रीले छलफल गरेका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ साउन १५ गते २०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी र मधेसका विभिन्न जिल्लामा भड्किएको हिंसात्मक घटनापछि सामाजिक सद्भाव कायम राख्न रास्वपा सभापति रवि लामिछानेले विभिन्न पक्षसँग निरन्तर संवाद र पहलकदमी जारी राखेका छन् ।
  • प्रधानमन्त्री बालेन्द्र शाहले भने रास्वपा सभापति लामिछानेको तुलनामा ढिलो गरी राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउने तथा विभिन्न राजनीतिक दलका नेताहरूसँग संवाद थाल्ने काम गरेका छन् ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहलाई पछिल्लो सङ्कटपूर्ण अवस्थाबारे छलफल गर्दै सबै पक्षलाई समेटेर संयमतापूर्वक स्थितिलाई साम्य पार्न र शान्ति कायम गर्न आग्रह गरेका छन् ।

१५ साउन, काठमाडौं । सामाजिक सद्‌भाव कायम राख्नका लागि सरकारी पक्षबाट भन्दा बढी पहलकदमी रास्वपा सभापति रवि लामिछानेले लिएका छन् । सभापति रवि लामिछानेले सरोकार पक्षसँग निरन्तर संवाद गरिरहेपछि त्यही शैली प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पछ्याउन थालेका छन् ।

पछिल्लो घटनाक्रममा विभिन्न पक्षसँग संवाद गर्न सरकारको नेतृत्व गरेको व्यक्तिबाट तदरुकता नलिएको प्रश्न बालेन माथि उठेपछि संवाद सुरु गरेका छन् ।

तर, सभापति लामिछानेभन्दा प्रधानमन्त्री बालेनले संवादको सुरुवात ढिलो गरी सुरु गरे । सुनसरीमा १० साउनमा भएको घटनामा सार्वजनिक रूपमा सभापति लामिछाने भन्दा प्रधानमन्त्री बालेन ढिलो गरी बोले ।

सुनसरीमा भएको दुईपक्षको विवादले विस्तार हुँदै गएपछि पार्टीका तर्फबाट सभापति लामिछानेले १२ साउनमा विज्ञप्ति निकाले ।

कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने रास्वपाको मान्यता रहेको उल्लेख गर्दै सभापति लामिछानेले वक्तव्यमा लेखे,‘नेपाली समाजको सबैभन्दा ठूलो शक्ति र सौन्दर्य भनेकै हाम्रो बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सदियौंदेखिको सामाजिक सदभाव हो । यसलाई खलबलाउने, साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पुर्याउने गरी कुनै पनि गतिविधि नगर्न/नगराउन हामी सम्पूर्ण आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्वहरू र सरोकारवाला पक्षहरूमा हार्दिक अपिल गर्दछौं ।’

सुनसरीमा भएको हिंसात्मक घटनामा रास्वपाको नेतृत्व, अन्य दल, समाजका अगुवाहरुले सदभाव कायम राख्न अपील गरिरहँदा प्रधानमन्त्री बालेन दुई दिनसम्म बोलेनन् ।

रास्वपाको वक्तव्य आएकै दिन मध्यरातमा सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री बालेन देखिए । प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालबाट अपिल गर्दै भने,‘मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु हो । र, सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पिडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथासक्य चाँडो गर्नेछ ।’

कार्यकारी प्रमुख सामाजिक सञ्जालमा मात्रै देखिएको र सरोकारवाला पक्षसँग संवाद नगरेको भन्दै प्रधानमन्त्री माथि आलोचना भइरहे । संकटको समयमा सर्वदलीय बैठक विगतमा प्रधानमन्त्रीको अगुवाइमा हुने गरेको थियो । सर्वदलीय बैठक आह्वान प्रधानमन्त्री बालेनले गरेनन् । प्रतिनिधि र राष्ट्रिय सभामा रहेका दलहरूका शीर्ष नेताहरूलाई आमन्त्रण गरी सभापति लामिछानेले बुधबार बिहान छलफल गरे ।

सर्वदलीय बैठक आह्वान गरेकोमा रास्वपा सभापति लामिछानेको पहलकदमीलाई दलका नेताहरूले स्वागत गरे । तर, प्रधानमन्त्री बालेनप्रति भने प्रश्न राखे ।

पछिल्लो घटनाक्रममा सरकार ‘नदेखिएको’ भन्दै दलका नेताहरूले प्रधानमन्त्रीको आलोचना गरे । प्रधानमन्त्रीको कार्यशैलीप्रति आक्रोशित हुँदै कांग्रेस सभापति गगन थापाले भने,‘यस्तो बेलामा पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने हो ? यस्तो बेलामा पनि प्रधानमन्त्री ठालु भएर बस्ने हो ? सबैसँग सम्पर्क गर्ने, सबै पक्षलाई जोड्ने र सबैलाई समेटेर अघि बढ्ने प्रयास गर्नुपर्दैन ?’ प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्ने, राष्ट्रपतिसँग भेट गर्नुपर्ने तथा प्रदेश र स्थानीय सरकारसँग संवाद गर्नुपर्ने भएपनि त्यसो नगरेको भन्दै थापाको असन्तुष्टि थियो ।

सर्वदलीय बैठक आह्वान गर्नुअघि हिंसात्मक घटनाहरुका बारेमा सभापति लामिछानेले गृहमन्त्री सुधन गुरुङसँग कुराकानी गरिसकेका थिए ।

दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न प्रधानमन्त्रीलाई सुझाव दिएपनि उनी भन्दा अघि सभापति लामिछाने गएर भेटे ।

बुधबार मध्यान्ह सभापति लामिछाने राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे । सभापति लामिछानेले पछिल्लो घटनाक्रम र सर्वदलीय छलफलका विषयलाई राष्ट्रपति पौडेललाई जानकारी गराए ।

बुधबार तुलनात्मक रूपमा कोशी र मधेसमा अघिल्लो दिनभन्दा शान्त थिए । बिहीबार सिरहाको गोलबजार अशान्त बन्यो । कर्फ्यू लागेकै अवस्थामा सिरहा र जनकपुरमा प्रदर्शन भए ।

सुनसरीको कप्तानगञ्जमा भएको घटना घाइते भएका जयप्रकाश मेहताको उपचारको क्रममा बुधबार ज्यान गयो । सिरहामा भएको प्रदर्शनमा सुरक्षाकर्मीको गोलीबाट बुधबार नै गणेश यादवको मृत्यु भयो । मधेसमा प्रदर्शन बढेलगत्तै रास्वपा सभापति लामिछानेले बुधबार विभिन्न पक्षसँगको छलफललाई तीव्रता दिए ।

बिहीबार कोशी र मधेसका रास्वपा सांसदहरूसँग सभापति लामिछानेले छलफल गरे । सभापति लामिछानेले सांसदहरूलाई आ-आफ्नो जिल्ला र क्षेत्रमा गएर सामाजिक सद्भावका काममा जुट्न निर्देशन दिएका छन् ।

सांसदहरू आ–आफ्ना क्षेत्र र जिल्लामा गएर कसरी समन्वयकारी भूमिका निर्वाह गर्न सभापतिले निर्देशन दिएको रास्वपा सांसद रहबर अन्सारीले बताए । ‘सद्भावको सन्देश यहाँबाट सुरु गरेर गाउँ–टोलमा पुगेर दिँदै यस किसिमका कुनैपनि द्वेष फैलाउने काम, बाहिरी तत्वहरूले सामाजिक सद्भाव भड्काउन खोजेका छन् भने त्यसलाई मत्थर पार्न सम्पूर्ण सांसदको भूमिका रहनुपर्छ भनेर उहाँले स्पष्ट रूपले निर्देशन दिनुभएको छ’ उनले भने ।

बिहीबार राति सभापति लामिछानेले मधेसवादी दलका नेताहरूलाई डाकेर पछिल्लो संकटका विषयमा छलफल गरेका थिए । पार्टीका शीर्ष नेताहरूलाई साथमै राखेर सभापति लामिछानेले गरेको छलफलमा मधेस केन्द्रित दलका आधा दर्जन बढी नेतासँग संवाद गरेका थिए । पार्टी सभापति लामिछानेले निरन्तर छलफल गरिरहँदा प्रधानमन्त्री बालेन बिहीबार दिउँसो मात्रै राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाके । सुरक्षा परिषद् बैठकले सामाजिक सद्धाव र राष्ट्रिय एकता कायम राख्न सबै सुुरक्षा निकाय तथा सरोकारवाल वीचमा समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको थियो ।

बिहीबार मधेसका जिल्लाहरूमा तनाव बढ्न थालेपछि प्रधानमन्त्री थप खोजी भयो । बिहीबार राष्ट्रका नाममा सम्बोधन गरेका प्रधानमन्त्री बालेनले हिजो राति नै राष्ट्रपति पौडेललाई भेट्न पुगे ।

सभापति लामिछानेले राष्ट्रपतिलाई पछिल्लो अवस्था व्रिफिङ गरेको एकदिन पछि प्रधानमन्त्री बालेन शितलनिवास पुगेका हुन् । १५ मिनेटको भेटमा राष्ट्रपति पौडेलले सबै पक्षलाई साथमा लिएर संयममतापूर्वक स्थितिलाई साम्य पार्न प्रधानमन्त्री शाहसँग आग्रह गरेका थिए । हिजो राति नै प्रधानमन्त्री शाहले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग फोनमा कुराकानी गरे ।

सभापति लामिछानेले छलफल गरेको एकदिन पछि मधेस केन्द्रीत दलका नेताहरूलाई प्रधानमन्त्रीले सिंहदरबार बोलाएर शुक्रबार संवाद गरे । डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायत छलफलमा थिए । मधेस केन्द्रित दलका शीर्ष नेतासँग छलफल गर्दा रास्वपाका सांसद अमरेशकुमार सिंह पनि थिए ।

मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले यसपटक भएका सम्झौताहरूलाई रद्दीको टोकरीमा नफाल्न प्रधानमन्त्री शाहलाई सुझाव दिएका छन् । प्रधानमन्त्रीसँगको भेटपछि राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने,‘सम्झौता भयो । त्यसलाई रद्दीको टोकरीमा नफालिदिनुहोला । विगतका सरकारले जस्तो नगर्नुहोला भनेका छौं ।’ प्रधानमन्त्री शाहले संघीयतालाई लिएर आफू माथि अविश्वास नगर्न आग्ह गरेका थिए ।

मधेसबाट प्रतिनिधित्व गर्ने आफ्नै दलका सांसदहरुलाई पनि प्रधानमन्त्री शाहले सभापति लामिछानेले भन्दा एकदिन पछि छलफलका लागि डाकेका छन् । छलफलमा सांसदहरु मनिष झा, मोहनलाल आचार्य, रहबर अन्सारी, नितिमा भण्डारी (कार्की), रविन्द्र पटेल, रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, बिक्रम थापा, जाला शमिम मिकरानीलगायत सांसद उपस्थित थिए ।

छलफलमा सहभागी सांसद मोहनलाल आचार्यले हिंसा भड्किन नदिन गर्नुपर्ने कार्यहरुका विषयमा छलफल भएको जानकारी गराए ।

मिथ्या सूचनाको प्रवाहलाई रोक्नका लागि अपाउनुपर्ने विधिमा पनि छलफल भएको जानकारी दिँदै आचार्यले भने,‘स्थिति नियन्त्रणमा आउँदै गरेको बुझाई छ । सोसल मिडियामा आएका अफवाह कसरी हटाउन सकिन्छ भन्ने बारेमा कुराहरु भएको छ ।’

राष्ट्रपति, उपराष्ट्रपति, मधेस केन्द्रीत दलका नेता, मधेसबाट प्रतिनिधित्व गर्ने रास्वपाका सांसद लगायतसँग छलफल गरेका प्रधानमन्त्री शाहले सर्वदलीय छलफल भने गरेका छैनन् ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?