+
+
Shares

पार्टीभित्रको आन्तरिक चुनौती सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गरिएको हो : कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १६ गते १५:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको आन्तरिक चुनौती र राजनीतिक अस्थिरतालाई सम्बोधन गर्न साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेका छन् ।
  • पाँच सय ५१ सदस्यीय आयोजक समितिको संयोजनमा हुने यस भेलामा पार्टीका पदाधिकारी, सांसद, जिल्ला सभापति तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूलाई निमन्त्रणा गरिएको छ ।
  • डा. कोइरालाले पार्टीमा नीतिगत स्पष्टता कायम गर्न र निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसकेका कारण उत्पन्न निराशा चिर्न उक्त भेला आवश्यक रहेको बताए ।

१६ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता डा. शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको दाबी गरेका छन् ।

शनिबार सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा नयाँ गति दिन ५ सय ५१ सदस्यीय आयोजक समितिको संयोजनमा भेला बोलाइएको जिकिर गरे ।

नेपाली राजनीति विगत एक वर्षदेखि अनिश्चितता र हिंसाको भूमरीमा रुमल्लिएको उल्लेख गर्दै डा. कोइरालाले यसको प्रत्यक्ष असर नेपाली कांग्रेसमा परेको उनको भनाइ थियो ।

२०८२ भदौ २४ गतेको हिंसात्मक घटनामा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रिय सदस्य डा. आरजु राणा देउवामाथि भएको साङ्घातिक आक्रमण र पार्टी कार्यालयहरूमा भएको तोडफोडका कारण उत्पन्न त्रासदीपूर्ण अवस्थाको स्मरण गर्दै त्यस्तो संकटका बेला एकताको आवश्यकता रहेकोमा त्यसो हुन नसकेको उनले बताए ।

‘पार्टीको विधानबमोजिम कार्यकाल थप गर्नुपर्ने विषम परिस्थितिमा अप्रत्याशित रूपमा विशेष महाधिवेशनको प्रसङ्ग उठाइँदा आन्तरिक मतभेद बढ्यो, जसका कारण निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन सकेन,’ उनले भने, ‘धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नै हाम्रो राष्ट्रिय एकताको आधार हो, यसलाई कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।’

पार्टीभित्रको निराशा चिर्न र नीतिगत स्पष्टता कायम गर्न आयोजना गरिएको यस राष्ट्रिय भेलामा वर्तमान तथा पूर्व पदाधिकारीहरू, सांसदहरू, प्रदेश तथा जिल्ला सभापतिहरू, भ्रातृ संगठनका प्रतिनिधिहरू र लोकतान्त्रिक आन्दोलनका बुद्धिजीवीहरूलाई निमन्त्रणा गरिएको छ ।

पार्टीका अर्का नेता डा. शेखर कोइरालाको सन्दर्भमा सोधिएको प्रश्नमा उनले डा. शेखरको यस अभियानमा पूर्ण समर्थन रहेको र व्यस्तताका कारण उपस्थित हुन नसके पनि ऐक्यवद्धता जनाएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?