News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको संस्थापन इतर समूहले २९ देखि ३१ साउनसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गर्दै ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।
- डा. शशांक कोइरालाको संयोजकत्वमा गठन गरिएको उक्त समितिले पार्टीको सांगठनिक सुदृढीकरण, नीतिगत बहस र आगामी महाधिवेशनको तयारीमा केन्द्रित रहेर १६ वटा उपसमितिहरू निर्माण गरेको छ ।
- पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन र वैचारिक स्पष्टताका लागि भेला आयोजना गरिएको उल्लेख गर्दै नेताहरूले पार्टी एकताको पक्षमा जोड दिएका छन् ।
१६ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्र चुलिएको आन्तरिक विवाद र आगामी महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै आफ्नो संगठनात्मक गतिविधिलाई तीव्र बनाएको छ ।
राष्ट्रिय भेलाको तयारीस्वरूप समूहले ५५१ सदस्यीय मूल आयोजक समितिसहित विभिन्न १६ वटा समिति गठन गर्दै संगठनात्मक तयारीलाई औपचारिक रूपमा अघि बढाएको हो ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रचार-प्रसार समिति संयोजक मीन विश्वकर्माले राष्ट्रिय भेलाको तयारीका लागि मूल आयोजक समितिसहित विभिन्न समिति गठन गरिएको जानकारी दिए ।
उनका अनुसार समितिहरूले भेला व्यवस्थापनदेखि राजनीतिक, संगठनात्मक र नीतिगत तयारीसम्मका जिम्मेवारी सम्हाल्नेछन् ।
इतर समूहले गठन गरेको ५५१ सदस्यीय मूल आयोजक समितिमा १४औं महाधिवेशनबाट निर्वाचित तथा मनोनीत पदाधिकारी र केन्द्रीय सदस्यहरू, पूर्व पदाधिकारी तथा केन्द्रीय सदस्यहरू, प्रदेश कार्यसमितिका सभापति र पदाधिकारी, जिल्ला कार्यसमितिका सभापति, उपत्यकाभित्रका जिल्ला कार्यसमितिका पदाधिकारी तथा महानगर र नगर कार्यसमितिका सभापतिहरूलाई समेटिएको छ ।
यस्तै, समितिमा संघीय सांसद, प्रदेश सांसद, पूर्व संघीय तथा प्रदेश मन्त्री, पूर्वसांसद, भ्रातृ संस्थाका केन्द्रीय प्रमुख तथा शुभेच्छुक संस्थाका प्रमुखहरूलाई पनि समावेश गरिएको छ ।

व्यापक प्रतिनिधित्वसहित समिति गठन गरेर इतर समूहले पार्टीभित्र आफ्नो संगठनात्मक आधार कमजोर नरहेको सन्देश दिन खोजेको देखिन्छ । इतर समूहका एक पूर्वपदाधिकारीले पनि मूल आयोजक समितिको संरचनाले आफ्नो संगठनात्मक हैसियत पुष्टि गरेको दाबी गरे ।
‘हामी पार्टीमा कमजोर छैनौं । मूल आयोजक समिति गठनमार्फत त्यो देखाइसकेका छौं,’ उनले भने, ‘हाम्रो उद्देश्य भेला आयोजना गर्ने मात्र होइन, त्यहाँबाट पार्टीका राजनीतिक एजेन्डा र महाधिवेशनको दिशाबारे स्पष्ट धारणा तयार गर्नु पनि हो ।’
राष्ट्रिय भेलाको तयारीका क्रममा समूहले राजनीतिक प्रस्ताव तयारी समिति, समसामयिक राजनीतिक प्रस्ताव समिति, संगठनात्मक प्रस्ताव समिति, विधान संशोधन मस्यौदा समिति, आर्थिक नीति तयारी समितिलगायत विभिन्न विषयगत समिति गठन गरेको छ ।
यसले भेला केवल औपचारिक जमघटमा सीमित नरही आगामी महाधिवेशनका एजेन्डा, पार्टीको संगठनात्मक दिशा तथा नीतिगत बहसलाई केन्द्रमा राख्ने तयारी भएको संकेत गरेको छ ।
विशेषगरी विधान संशोधन मस्यौदा समिति गठनलाई इतर समूहले पार्टीको वर्तमान संरचना, विधान वा निर्वाचन प्रणालीबारे आफ्ना प्रस्ताव अघि सार्ने तयारीका रूपमा पनि हेरिएको छ ।
यद्यपि, पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा आगामी नेतृत्वका लागि शक्ति परीक्षण गर्ने उद्देश्य रहेको भन्ने कुरा प्रत्यक्ष रूपमा उल्लेख गरिएको छैन ।
तर, व्यापक प्रतिनिधित्वसहित समिति गठन, राष्ट्रियस्तरको तयारी र विभिन्न विषयगत समितिको सक्रियताले इतर समूहले महाधिवेशनअघि आफ्नो संगठनात्मक क्षमता र प्रभाव प्रदर्शन गर्न खोजेको सन्देश दिएको राजनीतिक वृत्तमा चर्चा छ ।
इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ । पत्रकार सम्मेलनमा संयोजक कोइरालाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न लागिएको दाबी गरे ।

पार्टीलाई वैचारिक र सांगठनिक रूपमा नयाँ गति दिन २९–३१ साउनमा काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरिएको कोइरालाको भनाइ थियो । नेपाली राजनीति विगत एक वर्षदेखि अनिश्चितता र हिंसाको भूमरीमा रुमल्लिएको उल्लेख गर्दै उनले त्यसको प्रत्यक्ष असर कांग्रेसमा परेको जिकिर गरे ।
२४ भदौ २०८२ को हिंसात्मक घटनामा तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा र तत्कालीन केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमण र पार्टी कार्यालयहरूमा भएको तोडफोडका कारण उत्पन्न त्रासदीपूर्ण अवस्थाको स्मरण गर्दै कोइरालाले संकटका बेला एकताको आवश्यकता भए पनि हुन नसकेको बताए ।

‘पार्टीको विधानबमोजिम कार्यकाल थप गर्नुपर्ने विषम परिस्थितिमा अप्रत्याशित रूपमा विशेष महाधिवेशनको प्रसंग उठाइँदा आन्तरिक मतभेद बढ्यो, जसका कारण निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन सकेन,’ कोइरालाले भने, ‘धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नै हाम्रो राष्ट्रिय एकताको आधार हो, यसलाई कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।’
पत्रकार सम्मेलनमा इतर समूहका अधिकांश नेताहरू सहभागी भएपनि १४ औं महाधिवेशनमा देउवासँग प्रतिष्पर्धा गरेका नेता डा. शेखर कोइराला भने अनुपस्थित थिए ।
उनको अनुपस्थितिका बारेमा पत्रकार सम्मेलनमा पत्रकारहरूले जिज्ञासा राखेका थिए । जवाफमा संयोजक कोइरालाले अभियानमा डा. शेखरको पूर्ण समर्थन रहेको र व्यस्तताका कारण उपस्थित हुन नसकेपनि ऐक्यबद्धता जनाएको जानकारी दिए ।
कांग्रेसको संस्थापन इतर समूहले ४४ औं बीपी स्मृति दिवसको अवसर पारेर ६ साउनमा राष्ट्रिय भेलाको घोषणा गरेको थियो । राष्ट्रिय भेलाबाट कांग्रेस विभाजन हुने कतिपयको अशांका छ । तर, कांग्रेसका दुवै समूहमा रहेका नेताहरू पार्टी विभाजन नहुने तर्क गर्दै आएका छन् ।

चुनदेवी पत्रकार सम्मेलनमा उपस्थित इतर समूहका नेता एनपी साउदले अनलाइनखबरसँगको संक्षिप्त कुराकानीमा पार्टीका लागि एकता अत्यन्तै जरूरी रहेको बताए ।
‘हाम्रो पार्टीका लागि एकता सबैभन्दा जरुरी छ । एकताको अनुभूति हुनुपर्ने ठाउँ भनेको पार्टीको नेतृत्व हो,’ उनले भने, ‘नेतृत्वले उदारतापूर्वक सबैलाई समेट्नुपर्छ भन्ने हामी आग्रह गर्दैआएका छौं ।’
प्रतिक्रिया 4