News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद जयन्तीदेवी राईले आन्तरिक तथा बाह्य शक्तिहरूको चलखेलले कम्युनिष्ट आन्दोलन र राष्ट्रिय स्वाधीनता कमजोर बनेको टिप्पणी गरिन् ।
- उनले लामो संघर्षबाट प्राप्त महिला अधिकार खोसिने खतरा रहेको भन्दै यसप्रति सचेत रहन सबैलाई आग्रह गरिन् ।
- मुलुकमा बढ्दो हिंसा र तनाव समाधानका लागि समाजमा शान्ति र मेलमिलाप कायम गर्न एकजुट हुनुपर्नेमा उनले जोड दिइन् ।
१७ साउन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा सांसद जयन्तीदेवी राईले आन्तरिक तथा वाह्य शक्तिहरुको चलखेलको कारण पार्टी र मुलुकको कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको टिप्पणी गरेकी छिन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित अखिल नेपाल महिला संगठनको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधिनतासँगै लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक समावेशिता समेत कमजोर बन्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरिन् ।
लामो समयको संघर्षबाट प्राप्त महिला अधिकार खोसिने डर रहेको भन्दै यसतर्फ सबै सचेत हुन आवश्यक रहेको पनि उनले आग्रह गरिन् ।
‘अहिले नेपाली कम्युनिष्ट पार्टीमाथि ठूलो संकट रहेको छ । देशदेखि विदेशी शक्तिहरुको चलखेल र प्रहार भइरहेको छ । हाम्रो आन्दोलनको साथसाथै हाम्रो पार्टी पनि कमजोर अवस्थामा पुगेको छ । यससँगै राष्ट्र जनअधिकार, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक समावेशीता पनि कमजोर बन्दै गइरहेको छ । र हामीले प्राप्त गरेका अधिकारहरू फेरि खोसिने डर रहेको छ,’ उनले भने ।
राईले मुलुकमा आत्महत्याका घटना, सामाजिक हिंसा तथा जातीय र धार्मिक तनाव बढ्दो चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै यस्ता समस्या समाधानका लागि समाजमा शान्ति र मेलमिलापको वातावरण निर्माण गर्न आवश्यक सबै पक्ष एकजुट हुनुपर्नेमा समेत जोड दिइन् ।
‘मुलुकमा शान्ति कामय गर्नको लागि समन्वयकारी भूमिका खेल्नको लागि हामी सबै तयार हुनुपर्छ । त्यसैगरी समाजमा महिलामाथि भइरहेको उत्पीडन, र हिंसा उन्मुलनको लागि लड्न पनि जरुरी छ,’ राईले भनिन् ।
प्रतिक्रिया 4