+
+
Shares

के स्पेन बदलिंदै छ ? नेपालीलाई किन चासो ?

अब युरोपको बहस कता मोडिएला ?

सेउटामा केही घण्टामै भएको अभूतपूर्व आप्रवासी प्रवेशले युरोपेली राजनीतिमा नयाँ बहस सुरु गरेको छ । स्पेन आफ्नो आप्रवासन नीतिमा अडिग देखिए पनि युरोपभर बढेको दबाबले यहाँ बसिरहेका र भविष्यमा स्पेन आउने योजना बनाइरहेका नेपालीमा पनि नयाँ जिज्ञासा जन्माएको छ ।

वसन्त रानाभाट वसन्त रानाभाट
२०८३ साउन १८ गते १०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनको सेउटा सीमामा भएको आप्रवासीहरूको चापले युरोपेली संघको आप्रवासन नीति र सुरक्षाबारे नयाँ बहस सिर्जना गरेको छ।
  • श्रमिक अभावका कारण स्पेनले आप्रवासी नियमितीकरण नीतिलाई निरन्तरता दिए पनि युरोपेली सदस्य राष्ट्रहरूले यसमा प्रश्न उठाएका छन्।
  • युरोपको बदलिँदो आप्रवासन नीतिले स्पेनलाई आफ्नो भविष्यको गन्तव्य बनाउने योजनामा रहेका हजारौं नेपालीमा अन्योल थपिदिएको छ।

१८ साउन, र्सिलोना । स्पेनमा बस्ने नेपालीहरूका लागि सेउटा धेरै टाढाको ठाउँ हुन सक्छ । तर केही दिनअघि त्यही सानो सीमावर्ती सहरमा जे भयो, त्यसको तरंग अहिले बार्सिलोनादेखि म्याड्रिडसम्म मात्र होइन, माल्टा, क्रोएसिया, रोमानिया र बुल्गेरियामा बसेर स्पेन आउने योजना बनाइरहेका नेपालीसम्म पुगेको छ ।

सेउटाको संकट विस्तारै नियन्त्रणमा आएको छ । तर त्यसले उठाएको बहस अझै सकिएको छैन । अहिले प्रश्न सीमा पार गरेका हजारौं आप्रवासीको मात्र होइन, स्पेनको आप्रवासन नीति अब कता जाँदैछ भन्ने पनि हो ।

केही दिनअघि सेउटाको समुद्री किनारमा हजारौं मानिस समुद्र हुँदै स्पेन प्रवेश गर्ने प्रयासमा थिए । स्पेनी प्रहरी, गार्डिया सिभिल र सैनिक उनीहरूलाई रोक्ने, उद्धार गर्ने र अवस्था नियन्त्रणमा ल्याउने प्रयासमा थिए । केही घण्टामै ती दृश्य संसारभरका सञ्चारमाध्यमको प्रमुख समाचार बने ।

तर वास्तविक कथा समुद्रमै टुंगिएन । सीमा विस्तारै शान्त भयो, धेरै आप्रवासी फर्किए । तर त्यससँगै अर्को लहर सुरु भयो– राजनीतिक लहर । आज बहस समुद्रमा होइन, ब्रसेल्समा भइरहेको छ । प्रश्न अब सीमा पार गरेका हजारौं आप्रवासीको मात्र छैन । प्रश्न यो पनि हो– स्पेनले अपनाएको आप्रवासन नीति सही थियो कि थिएन ? युरोपेली संघको बाह्य सीमा कसरी सुरक्षित राख्ने ? र सदस्य राष्ट्रहरूले आप्रवासनलाई एउटै दृष्टिकोणबाट हेर्न सक्छन् कि सक्दैनन् ?

स्पेन किन बहसको केन्द्रमा पुग्यो ?

युरोपमा आप्रवासनको संकट नयाँ होइन । इटालीको लाम्पेदुसा, ग्रीसका टापुहरू वा बाल्कन मार्ग हुँदै वर्षौंदेखि हजारौं मानिस युरोप प्रवेश गर्ने प्रयास गर्दै आएका छन् । सेउटाले यसपटक युरोपलाई दुई कारणले झस्कायो– समय र संख्या ।

केही घण्टामै हजारौं मानिस एउटै सीमाबाट प्रवेश गर्न खोजे । स्पेनले अवस्था नियन्त्रणमा ल्यायो । धेरैलाई मोरक्को फर्कायो । समुद्रमा नयाँ सुरक्षा अवरोध बनाउन सुरु गर्यो । तर त्यसपछि २२ युरोपेली सदस्य राष्ट्रले बाह्य सीमा थप कडा बनाउनुपर्ने धारणा सार्वजनिक गरे । उनीहरूको चिन्ता एउटै थियो– युरोपमा अनियमित रूपमा प्रवेश गर्न सकिन्छ भन्ने सन्देश जानु हुँदैन ।

तर स्पेन किन फरक देखिन्छ ? यही प्रश्न अहिले धेरै नेपालीले पनि सोधिरहेका छन् । स्पेन किन युरोपका अन्य केही मुलुकजस्तो कडा देखिँदैन ? यसको उत्तर केवल राजनीतिमा खोजेर पुग्दैन ।

स्पेनलाई अहिले श्रमिक चाहिएको छ । कृषि, निर्माण, पर्यटन, होटल–रेस्टुरेन्ट, वृद्धवृद्धाको हेरचाहदेखि सेवा क्षेत्रसम्म विदेशी श्रमिक अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनिसकेका छन् । न्यून जन्मदर र वृद्ध बन्दै गएको जनसंख्याले यो आवश्यकता अझ बढाएको छ । यही कारण स्पेनले विगतमा पनि पटक–पटक कागजपत्रविहीन आप्रवासीलाई नियमितीकरण गर्ने नीति अपनाएको थियो । पेद्रो सान्चेज सरकारले अघि बढाएको पछिल्लो नियमितीकरण कार्यक्रम पनि यही सोचको निरन्तरता हो ।

सरकारको तर्क छ– पहिल्यै काम गरिरहेका मानिसलाई कानुनी प्रणालीमा ल्याउँदा राज्यलाई कर आउँछ, सामाजिक सुरक्षा प्रणाली बलियो हुन्छ र श्रम शोषण पनि घट्छ । तर यही नीतिलाई अहिले युरोपका केही सदस्य राष्ट्रले चुनौती दिइरहेका छन् । उनीहरूको प्रश्न छ– यस्तो नीति अपनाउँदा युरोप प्रवेश गर्ने नयाँ लहरलाई प्रोत्साहन त हुँदैन ? यही प्रश्नको वरिपरि अहिले स्पेन र युरोपबीच नयाँ बहस सुरु भएको छ ।

स्पेनमा भन्दा बाहिर बसेका नेपालीलाई किन छ चासो ?

सेउटा संकटपछि स्पेनमा बस्ने नेपालीले पनि समाचार नियालिरहेका छन् । तर अहिले सबैभन्दा धेरै चासो भने स्पेनबाहिर रहेका नेपालीमा देखिन्छ ।

विशेषगरी माल्टा, क्रोएसिया, रोमानिया, बुल्गेरिया वा साइप्रसमा बसेर भविष्यमा स्पेन आउने योजना बनाइरहेका नेपालीमा । किनकि पछिल्ला केही वर्षमा धेरै नेपालीको युरोप यात्रा सिधै स्पेनबाट सुरु भएको छैन । कसैले अध्ययनका लागि अर्को युरोपेली मुलुक रोजेका छन् । कसैले कामका लागि । कतिपयले अस्थायी बसोबास अनुमति पाएपछि अन्तिम गन्तव्यका रूपमा स्पेनलाई रोजेका छन् ।

त्यसैले अहिले उनीहरूको प्रश्न एउटै छ– यदि युरोपको सीमा नीति बदलियो भने त्यसको असर स्पेन पुग्ने योजनामा पनि पर्छ कि पर्दैन ? अहिलेसम्म त्यसको स्पष्ट उत्तर छैन । तर प्रश्न भने जन्मिसकेको छ ।

चासो किन बढेको छ ? यसको पछाडि केही स्पष्ट कारण छन् । पछिल्ला केही वर्षमा स्पेन धेरै नेपालीका लागि युरोपको प्रमुख गन्तव्य बनेको छ । स्पेनस्थित नेपाली राजदूतावासले पछिल्ला दुई वर्षमा जारी गरेका नयाँ राहदानीको तथ्यांकलाई आधार मान्ने हो भने मात्रै पनि करिब १० देखि १५ हजार नेपाली थपिएको अनुमान गर्न सकिन्छ । त्यसमाथि पोर्चुगलले आप्रवासन नीति क्रमश: कडा बनाउँदै गएपछि धेरै नेपालीको रोजाइ पनि स्पेनतर्फ मोडिएको देखिन्छ ।

यहाँ आएका सबै नेपाली प्रत्यक्ष नेपालबाट आएका भने होइनन् । धेरैले रोमानिया, क्रोएसिया, माल्टा,बुल्गेरिया वा अन्य युरोपेली मुलुकमा केही समय बिताएपछि अन्तत: स्पेनलाई आफ्नो गन्तव्य बनाएका छन् ।

स्पेनको नियमितीकरण कार्यक्रम, श्रम बजारमा रहेको कामदारको माग र यहाँ स्थापित नेपाली समुदायले पनि यो आकर्षण बढाएको छ । त्यसैले सेउटा संकटपछि युरोपभर आप्रवासनबारे बहस चर्किँदा धेरै नेपालीले त्यसलाई आफ्नो भविष्यसँग जोडेर हेर्न थालेका छन् ।

अब युरोपको बहस कता मोडिएला ?

एउटा घटना, धेरै हल्ला सेउटा संकटपछि सामाजिक सञ्जालमा धेरै कुरा लेखिए । कसैले स्पेनले ढोका बन्द गर्यो भने । कसैले नियमितीकरण रोकिन्छ भने । कतिपयले अब स्पेन जान असम्भव भयो भन्नेसम्म लेखे । तर यथार्थ त्यति सरल छैन ।

स्पेनले आफ्नो नीति परिवर्तन गरेको छैन । नियमितीकरण प्रक्रिया रोकिएको छैन । कानुनी रूपमा बसिरहेका आप्रवासीलाई लक्षित गरेर कुनै नयाँ प्रतिबन्ध पनि आएको छैन । त्यसैले अहिले सबैभन्दा आवश्यक कुरा अफवाह होइन, आधिकारिक निर्णय पर्खनु हो ।

अब स्पेन मात्र बुझेर पुग्दैन सायद सेउटा संकटले नेपालीलाई दिएको सबैभन्दा ठूलो सन्देश यही हो ।

केही वर्षअघि स्पेनको नीति बुझ्नु पर्याप्त हुन्थ्यो । आज त्यससँगै युरोपेली संघको राजनीति पनि बुझ्नुपर्ने भएको छ । किनकि स्पेनको आप्रवासन नीति अब म्याड्रिडको निर्णयमा मात्र सीमित छैन । ब्रसेल्समा हुने छलफल । युरोपेली संघका सदस्य राष्ट्रहरूको दबाब र सीमा सुरक्षाबारे साझा निर्णयले पनि त्यसलाई प्रभाव पार्न थालेको छ ।

त्यसैले स्पेन आउने सपना देख्नु गलत होइन । तर अब त्यो सपना केवल स्पेनसँग होइन, युरोपसँग पनि जोडिएको छ । स्पेनको वास्तविक चुनौती स्पेन अहिले दुई फरक यथार्थबीच उभिएको छ । एउटा यथार्थ भन्छ– देशलाई श्रमिक चाहिएको छ । अर्को यथार्थ भन्छ– युरोपको बाहिरी सीमा सुरक्षित हुनुपर्छ ।

सेउटा संकटपछि यही आवाज अझ बलियो बनेको छ । यही कारण अहिले स्पेनले केवल आफ्ना नागरिकलाई मात्र होइन, युरोपेली साझेदारलाई पनि एउटै प्रश्नको उत्तर दिनुपरेको छ । श्रमिकको आवश्यकता र सीमा सुरक्षाबीच सन्तुलन कसरी मिलाउने ? बहस अहिलेको मात्र होइन, भोलिको पनि हो ।

प्रधानमन्त्री पेद्रो सान्चेज अहिले आफ्नो नीतिमा अडिग देखिन्छन् । तर राजनीति सधैँ एउटै ठाउँमा अडिँदैन । आजको सरकार भोलि नहुन सक्छ । आजको नीति भोलि परिवर्तन हुन सक्छ । त्यसैले अहिलेको बहसलाई केवल एउटा घटनाको प्रतिक्रिया भनेर मात्रै हेर्न मिल्दैन । यो स्पेनको भविष्यको आप्रवासन नीतिबारे सुरु भएको नयाँ राजनीतिक बहस पनि हो ।

नेपालीका लागि यसको अर्थ के ?

स्पेनमा वर्षौंदेखि बसिरहेका नेपालीका लागि अहिलेको जीवन भोलिबाटै बदलिने कुनै संकेत छैन । तर स्पेनलाई भविष्यको गन्तव्य बनाउने नेपालीका लागि एउटा सन्देश भने स्पष्ट देखिन्छ । केही वर्षअघि युरोपको कुनै एउटा देश पुगेपछि अन्तत: स्पेन जाने योजना धेरैका लागि सम्भव देखिन्थ्यो । आज त्यही यात्रालाई युरोपेली राजनीतिले पनि प्रभाव पार्न थालेको छ । यसको अर्थ आजै बाटो बन्द भयो भन्ने होइन । तर अब हिजोको अनुभवलाई भोलिको निश्चितता ठान्न पनि सकिँदैन ।

सेउटाले दिएको सन्देश केही दिनअघि संसारभरका टेलिभिजनमा एउटै दृश्य दोहोरिइरहेको थियो । समुद्रमा हजारौं मानिस, किनारमा सुरक्षाकर्मी र बीचमा युरोप पुग्ने सपना । आज त्यो दृश्य हराइसकेको छ । तर त्यसले उठाएको प्रश्न अझै बाँकी छ । स्पेन कति खुला रहने ? युरोप कति कडा बन्ने ? र ती दुईबीचको सन्तुलन कहाँ भेटिने ?

सायद यसको उत्तर आज आउने छैन । आगामी केही महिनामा पनि नआउला । तर एउटा कुरा भने निश्चित छ– सेउटा संकटले स्पेनको आप्रवासन नीतिमाथि नयाँ प्रश्न उठाइदिएको छ ।

सेउटाको समुद्र अहिले फेरि शान्त छ । तर त्यसले उठाएको बहस अझै शान्त भएको छैन । ब्रसेल्स, म्याड्रिड र युरोपका अन्य राजधानीमा त्यसको उत्तर खोजिँदै छ । त्यसको दिशा भने स्पेनलाई आफ्नो भविष्यको गन्तव्य बनाउने सोचमा रहेका हजारौं नेपालीले पनि चासोका साथ नियालिरहेका छन् । किनकि अहिले उनीहरूको प्रश्न ‘स्पेन कसरी जाने ?’ मात्र होइन, ‘स्पेन कता जाँदैछ ?’ भन्ने पनि हो ।

लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?