+
+
Shares

टीकाथलीबाट युवक अपहरण : प्रहरी हौं भन्दै लगेर गए, २० घण्टा बित्दा छैन अत्तोपत्तो

मोटरसाइकलमा सवार रहेका बेला कञ्चनपुरका पुष्पेश भाटलाई प्रहरी हौं भन्दै आएको टोलीले शनिबार झारेर लगेका थिए । त्यसयता उनको अवस्था अज्ञात छ ।

आदित्य नेपाल आदित्य नेपाल
२०८३ साउन २४ गते १५:१४
एआईको सहायतामा निर्मित प्रतीकात्मक चित्र

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको कोटेश्वरबाट मोटरसाइकलमा सवार पुष्पेश भाटलाई अज्ञात समूहले प्रहरी भन्दै अपहरणको शैलीमा स्कर्पियोमा राखेर लगेको छ ।
  • याङ्गो चालक जिलाप तामाङले आफूलाई प्रहरी भनी परिचय दिने समूहले भाटलाई गाडीमा हालेर लगेको र पैसासमेत तिरेको अनलाइनखबरलाई बताएका छन् ।
  • घटनाको २० घण्टा बितिसक्दा पनि कुनै पनि प्रहरी कार्यालयले उक्त व्यक्ति आफ्नो नियन्त्रणमा नरहेको बताएपछि परिवारजन चिन्तामा परेका छन् ।

२४ साउन, काठमाडौं । शनिबार दिउँसो साढे ३ बजेतिर कोटेश्वरस्थित नरेफाँटदेखि बोजेपोखरी जाने बाटोमा जिलाप तामाङ मोटरसाइकलमा सवार थिए ।

अचानक चार स्कुटर र एक जिपले उनलाई घेरा हाले । स्कुटर र जिपमा आएका मानिसहरूले त्यसरी घेरेपछि एकछिन जिलापको दिमागले कामै गरेन ।

चार–पाँच जना स्कुटरबाट झरे । र, आफूहरू ‘पुलिस हौं’ भन्दै आए ।

त्यो समूहले जिलापलाई केही गरेनन् । तर, जिलापको मोटरसाइकलको पछाडि बसेका पुष्पेश भाटलाई झारेर स्कर्पियोमा हुले । र, लगे ।

खासमा पुष्पेशले कोटेश्वरबाट टीकाथलीस्थित डेरा जान ‘याङ्गो बुक’ गरेका थिए । याङ्गोमार्फत आएको रिक्वेस्ट एक्सेप्ट गरेर आफूले बोकेर हिँडेको जिलाप बताउँछन् ।

प्रहरी भन्दै आएको समूहले त्यसरी लग्दा आफूलाई पुष्पेश कुनै फरार अभियुक्त हुनसक्ने लागेर चासो नदिएको जिलापले बताए ।

‘मलाई त स्कुटरबाट झरेकी एक महिलाले कति पैसा भयो भनेर सोधिन् र पैसा तिरिदिइन्,’ जिलापले अनलाइनखबरसँग भने, ‘यसो हेर्दा पुलिस हो कि होइन जस्तो पनि लाग्यो । बर्दीमा नभएर चिन्न गाह्रो लागिरहेको थियो ।’

त्यो घटनाको ठीक आधा घन्टापछि ‘पुष्पेश किन घर नपुगेको ?’ भन्दै  उनका भाइ शुभम भाटले जिलापलाई फोन गरे ।

‘भाइको फोनबाट याङ्गो गर्नुभएको रहेछ । भाइले त्यहाँ तोकिएको पैसाभन्दा कम पैसा तिरेको देखेर र कोठा पनि नपुगेको पाएर मलाई फोन गर्नु भएको रहेछ,’ जिलाप भन्छन्, ‘मैले उहाँलाई सबै कुरा सुनाइदिएँ । उहाँ पनि छक्क पर्नुभयो ।’

पुष्पेशले याङ्गो गरेको मोबाइल उनकै भाइ शुभम भाटको थियो । पुष्पेश शुभमसँगै टीकाथलीस्थित डेरामा बस्दै आएका थिए । पुष्पेश हिजो अबेर दिउँसोदेखि गायब भएयता शुभम टीकाथली प्रहरी चौकी, सातदोबाटो प्रहरी वृत र बानेश्वर प्रहरी वृत धाइसकेका छन् ।

तर कतैबाट कुनै ठोस् जानकारी पाएका छैनन् । ‘कसैले फलानो चौकीमा जानुस् भन्छ । कसैले कता जाउ भन्छ,’ शुभमले दुखेसो पोखे, ‘तर, कहाँ लगेको हो ? लैजाने को हो ? साँच्चै प्रहरी हो कि होइन ? केही जानकारी पाएको छैन ।’

पुष्पेशबारे बुझ्न अनलाइनखबरले टीकाथली प्रहरी चौकी, जिल्ला प्रहरी परिसर ललितपुर, जिल्ला प्रहरी परिसर काठमाडौं, अपराध अनुसन्धान महाशाखा टेकु, उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी मुख्यालय नक्सालसम्मलाई सम्पर्क गरेको थियो ।

सबै कार्यालयबाट एकैखालको जवाफ आयो, ‘हामीलाई यो विषयमा जानकारी छैन, बुझ्नुपर्छ ।’

चिन्तामा परिवार

पुष्पेश बेपत्ता भएको खबर शुभमले शनिबार नै कञ्चनपुरस्थित परिवारलाई जानकारी गराइसकेका छन् ।

पुष्पेशका दाइ विविध भाटका अनुसार उनी पाटन बहुमुखी क्याम्पसमा अध्ययनरत छन् । उनले पुष्पेश स्नातक पहिलो वर्षको परीक्षा दिन साउन १५ गते मात्रै काठमाडौं आएका जानकारी दिए।

‘प्रहरीसँग हामी निरन्तर सम्पर्कमै छौं । अहिले बुबा र दाइ पनि यहाँबाट काठमाडौंका लागि हिँड्नुभयो,’ विविधले भने, ‘हामीले हराएको खबर पाएको पनि २० घण्टा भइसक्यो । भाइको कुनै खबर प्राप्त भएको छैन ।’

समय घर्किँदै जाँदा परिवारमा तनाव र चिन्ता बढ्दै गएको उनले बताए ।

लेखक
आदित्य नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?