News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग २०२६ का लागि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
- पहिलो संस्करणमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका जैबले आफू पुनः घर फर्कन पाउँदा खुसी रहेको बताएका छन्।
- सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले जैबबाट यसपटक पनि पहिलो संस्करणमा जस्तै उत्कृष्ट योगदानको अपेक्षा राखेको बताएका छन्।
२४ साउन, काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का लागि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।
जैब पहिलो संस्करणमा पनि सुदूरपश्चिमबाट खेलेका थिए । त्यतिबेला उत्कृष्ट प्रदर्शन गरेका उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । उनले नौ खेलमा दुई अर्धशतकसहित २७५ रन बनाउनुका साथै १२ विकेट लिएका थिए ।
दोस्रो संस्करणमा भने उनी चितवन राइनोजबाट खेलेका थिए जहाँ उनले ७ खेलमा ११६ रन बनाए भने ५ विकेट पनि लिए ।
इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेल्ने अवसर नपाएका जैब घरेलु क्रिकेटमा भने निरन्तर सक्रिय छन् । बायाँहाते ब्याटर जैबले टी–२० क्रिकेटमा ११२ खेल खेल्दै १४० भन्दा बढीको स्ट्राइक रेटमा १ हजार ७ सय ९२ भन्दा बढी रन बनाएका छन्। भाइटालिटी ब्लास्टमा मात्रै उनको नाममा १ हजार ६ सयभन्दा बढी रन छ ।
स्लो लेफ्ट आर्म बलिङ गर्ने जैबले टी–२० क्रिकेटमा २३ विकेट पनि लिएका छन् । उनले पछिल्लो समय भाइटालिटी ब्लास्ट र द हन्ड्रेडमा खेलेका छन् र उत्कृष्ट लयमा छन् ।
सुदूरपश्चिममा फर्किएपछि जैबले आफू पुनः ‘घर’ फर्किन पाउँदा खुसी रहेको बताएका छन् । ‘म फेरि आफ्नो घरमा फर्कन पाउँदा निकै खुसी छु र नेपालमा फेरि आएर खेल्न उत्साहित छु,’ उनले भनेका छन् ।
सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले जैबलाई पुनः टोलीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए।
‘जैबलाई फेरि टोलीमा स्वागत गर्न पाउँदा निकै खुसी र उत्साहित छौं । यसपटक पनि उनीबाट पहिलो संस्करणमा जस्तै योगदानको अपेक्षा राखेका छौं,’ खड्काले भने।
सुदूरपश्चिमले एनपीएल २०२६ का लागि कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको थियो ।
यस्तै अक्सनमार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई टोलीमा भित्र्याएको छ ।
प्रतिक्रिया 4