+

स्की संघको साधारण सभा सम्पन्न, वार्षिक बजेट ३४ लाख ८० हजार

२०८३ साउन  २४ गते १४:३२ २०८३ साउन २४ गते १४:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्की संघको सातौं साधारण सभाले आर्थिक वर्ष २०८३/८४ का लागि ३४ लाख ८० हजार ८ सय रुपैयाँको बजेट पारित गरेको छ ।
  • अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदमा रहेको अस्थिरता अन्त्य भए खेलकुदको विकास र राष्ट्रको गौरव बढाउन सकिने धारणा व्यक्त गर्नुभयो ।
  • संघले नयाँ विधान संशोधन गर्दै अब पदाधिकारी तथा सदस्यहरूले भर्चुअल माध्यमबाट समेत साधारण सभामा सहभागी हुन पाउने व्यवस्था गरेको छ ।

२४ साउन, काठमाडौं । नेपाल स्की संघको सातौं साधारण सभा आइतबार सम्पन्न भएको छ ।

काठमाडौंको स्वयम्भूस्थित वज्र होटलमा भएको साधारण सभाले आर्थिक वर्ष २०८३/८४ का लागि ३४ लाख ८० हजार ८ सय रुपैयाँको वार्षिक बजेट पारित गरेको छ।

स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठको सभापतित्वमा भएको बन्द सत्रले राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय प्रतियोगिता तथा कार्यक्रममा सहभागिता, प्रशिक्षण कार्यक्रम र विन्टर ओलम्पिक्सको तयारीका लागि उक्त बजेट छुट्याएको हो।

बन्द सत्रले उपाध्यक्ष रमा भट्टराईले प्रस्तुत गरेको कार्ययोजना, महासचिव विजय श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष जितेन्द्र श्रेष्ठले पेश गरेको आर्थिक प्रतिवेदनसमेत पारित गरेको छ।

सभाले नयाँ लेखापरीक्षक नियुक्त गर्ने निर्णय गर्दै बीआर पराजुली एन्ड एसोसिएट्सलाई लेखापरीक्षक चयन गरेको छ । साथै आगामी वर्ष नियमित साधारण सभा गर्ने निर्णय पनि भएको छ।

संघको नयाँ विधानमा भौतिक रूपमा उपस्थित हुन नसक्ने पदाधिकारी तथा सदस्यले भर्चुअल माध्यमबाट समेत साधारण सभामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। सोहीअनुसार साधारण सभामा पदाधिकारी तथा सदस्यहरूको भौतिक र भर्चुअल सहभागिता रहेको थियो ।

यसअघि उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्की संघका अध्यक्ष श्रेष्ठले खेलकुदमा रहेको अस्थिरताका कारण अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको बताए । सबैले आ–आफ्नो ठाउँबाट वैधानिक व्यवस्थाअनुसार इमानदारीपूर्वक काम गरे खेलकुद क्षेत्रको अस्थिरता अन्त्य हुने र खेल संघहरूले निर्धक्क रूपमा खेलको विकासमा अघि बढ्न सक्ने उनको भनाइ थियो ।

देशमा भएको परिवर्तनसँगै खेलकुद क्षेत्रमा पनि सकारात्मक परिवर्तन हुनेमा आफू आशावादी रहेको बताउँदै श्रेष्ठले अन्योल, अस्थिरता र हस्तक्षेप अन्त्य भए खेलकुदको विकास तथा राष्ट्रको गौरव बढाउने काममा सफलता हासिल गर्न सकिने बताए ।

स्की खेलको विकासका लागि संघले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै श्रेष्ठले अपेक्षाअनुसार धेरै काम गर्न नसकिए पनि सम्भव भएसम्म गतिविधि अघि बढाइरहेको बताए । हिमालै हिमाल भएको नेपालमा विन्टर खेलकुदबारे अझै धेरैलाई जानकारी नभएको उल्लेख गर्दै उनले स्की खेलको विकास गर्न सके नेपाललाई स्की खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने बताए ।

यस्तै संघकी उपाध्यक्ष रमा भट्टराईले स्की खेलको प्रवर्द्धनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । महासचिव विजय श्रेष्ठले नेपालमा स्की खेल सञ्चालनका लागि धेरै चुनौती रहे पनि सम्भव भएसम्म संघले खेलको प्रवर्द्धनमा काम गरिरहेको बताए ।

उद्घाटन समारोहमा नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा, नेपाल ह्यान्डबल संघका अध्यक्ष पिताम्बर तिमिल्सिना, एनओसीका उपाध्यक्ष चतुरानन्द राजवैद्य, महासचिव राजीव श्रेष्ठ तथा राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि धन शाहीले शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभाको अवसरमा नेपाल स्की संघले स्की गतिविधि तथा लेख समेटिएको ‘स्नोलाइन’ म्यागेजिनको पहिलो अंक पनि सार्वजनिक गरेको छ । संघका अध्यक्ष श्रेष्ठलगायत अतिथिहरूले म्यागेजिनको पहिलो अंक अनावरण गरेका थिए ।

नेपाल स्की संघ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय