२४ साउन, बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक करोड छ लाख १९ हजार ३१९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी हो ।
कार्यालय प्रमुख लोकेन्द्रबहादुर सिंहले कार्यालयले गत आर्थिक वर्षका लागि ९० लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य पाएकामा लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको जानकारी दिए ।
उनले सङ्कलित सम्पूर्ण राजस्व आयातित वस्तुमा लाग्ने भन्सार महसुल, पैठारी सेवा दस्तुर, मूल्य अभिवृद्धिकर, अन्त:शुल्क तथा दण्ड, जरिवाना र लिलामबाट प्राप्त भएको बताए । यस भन्सार कार्यालयबाट निर्यात भने शून्य रहेको प्रमुख सिंहले जानकारी दिए ।
कार्यालयका अनुसार भन्सार महसुलबाट २६ लाख ६८ हजार ७८७ रुपैयाँ, पैठारी सेवा दस्तुरबाट दुई लाख १२ हजार ५०० रुपैयाँ, मूल्य अभिवृद्धिकरबाट २१ लाख ४२ हजार १५५ रुपैयाँ, अन्त:शुल्कबाट एक लाख २२ हजार ७०४ रुपैयाँ र दण्ड, जरिवाना, धरौटी र लिलामबाट ५४ लाख ६१ हजार १७३ रुपैयाँ राजस्व सङ्कलन भएको हो ।
चालु आर्थिक वर्षका लागि कार्यालयले ९२ लाख राजस्व सङ्कलनको लक्ष्य पाएको छ ।
प्रतिक्रिया 4