News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभामा बोल्दै सांसद नीता घतानीले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सांसद हरि ढकालको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएकी छन् ।
- सांसद घतानीले सिंहदरबारको इतिहास मेटाउने चलखेल बन्द गर्न चेतावनी दिँदै जनतामा बढ्दो निराशाप्रति सरकार गम्भीर नभएको आरोप लगाइन्।
- उनले बजारमा ग्यासको अभाव अन्त्य गर्न, स्वास्थ्य बीमा प्रभावकारी बनाउन, सहकारी पीडितको रकम फिर्ता गर्न र नागरिकलाई राज्यको अनुभूति दिलाउन सरकारसँग माग गरेकी छन् ।
२५ साउन, काठमाडौं । नेकपा एमालेकी सांसद नीता घतानीले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सत्तारुढ दलका सांसद हरि ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै ढकालको उक्त अभिव्यक्तिप्रति सांसद घतानीले आपत्ति जनाएकी हुन् ।
सांसद ढकालले आइतबार एक सार्वजनिक कार्यक्रममा बोल्दै सिंहदरबारको नाम परिवर्तन गरेर अनामनगर दरबार राख्नुपर्ने टिप्पणी गरेका थिए ।
सांसद घतानीले सिंहदरबार जलाउनु नै पर्याप्त भएन र ? भन्दै प्रश्न गरिन् ।
उनले सिंहदरबारको इतिहास मेटाउने चलखेल बन्द गर्न समेत चेतावनी दिइन् ।
उनले जनतामा बढ्दो निराशाप्रति सरकार गम्भीर नबनेको आरोप पनि लगाइन् ।
उनले बजारमा रहेको ग्यासको अभाव तत्काल समाधान गर्न, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन तथा सहकारी पीडितको बचत फिर्ताको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
उनले किसानलाई रासायनिक मल र बजार उपलब्ध गराउन तथा युवालाई रोजगारी र व्यापारीलाई सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकारसँग माग गरिन् ।
उनले भनिन्, ‘जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले ढुक्क बनाएको छ ? प्रधानमनत्रीको सीमासम्बन्धी विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयोस् । ग्यासको अभाव तत्काल समाधान गरियोस् । स्वास्थ्य बीमा कार्यक्रम पुनः प्रभावकारी बनाइयोस् ताकि गरिव तथा विपन्न नागरिकले उपचारबाट वञ्चित हुन नपरोस् । सहकारी पीडितको बचत फिर्ता पाउने सुनिश्चित गरियोस् । किसानलाई मल र बजार दिइयोस् । युवालाई रोजगारी र व्यापारीलाई व्यापार गर्ने वातावरण बनाइयोस्, राहदानी, लाइसेन्स र अस्पतालमा रहेको कहालीलाग्दो लाइन अन्त्य गरियोस् ।’
उनले अगाडि थपिन्, ‘सुकुमवासी, सहकारी पीडित, किसान, शिक्षक, दलित, युवा सबैको एउटै प्रश्न छ, सरकार हामीलाई कहिले देख्छौ ? राज्य छ भन्ने अनुभूति नेपाली नागरिकले कहिले पाउने ? अन्त्यमा सिंहदरबार जलाएर घाइते बनाउने काम पर्याप्त भएन र ? अब यसको नाम मेटाएर यसको इतिहास नै मेटाउने चलखेल हुँदैछ । बन्द गरियोस् ।’
जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले ढुक्क बनाएको छ ? सांसद घतानीको प्रश्न छ ।
प्रतिक्रिया 4