News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सांसद प्रा. डा. चन्द्रमोहन यादवले धनुषाको ढल्केबरस्थित ट्रमा सेन्टर निर्माण प्रक्रियामा देखिएको अन्योलताबारे सरकारको आधिकारिक धारणा माग गरे।
- सांसद यादवले निर्माण कार्यमा भएको ढिलासुस्तीले स्थानीय स्तरमा आन्दोलन चर्कन सक्ने र त्यसले शान्ति सुरक्षामा समेत असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरे।
- उनले \'अहिलेको संवेदनशील अवस्थामा विकास निर्माणका विषयलाई लिएर पुन: आन्दोलन चर्कियो भने अमनचयनको वातावरण बिग्रन सक्छ\' भन्दै सरकारलाई बेलैमा स्पष्ट हुन आग्रह गरे।
२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रा. डा. चन्द्रमोहन यादवले धनुषाको ढल्केबरस्थित ट्रमा सेन्टर निर्माण प्रक्रियामा देखिएको अन्योलताबारे सरकारको आधिकारिक धारणा माग गरेका छन् ।
सोमबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद यादवले उक्त विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
यसअघि प्रतिनिधि सभाको बैठकमा पनि आफूले यो मुद्दा उठाएको र सभामुखबाट सरकारलाई सदनमा स्पष्ट धारणा राख्न निर्देशन भइसकेको स्मरण गराउँदै यादवले हालसम्म उक्त विषय सदनको कार्यसूचीमा नपरेकोमा असन्तुष्टि व्यक्त गरे ।
ढल्केबर ट्रमा सेन्टरका लागि आवश्यक सबै तयारी पूरा भइसकेको अवस्थामा पनि सरकारले ढिलासुस्ती गर्दा विभिन्न शङ्का–उपशङ्का उब्जिएको उनको भनाइ छ ।
सांसद यादवले ढल्केबरमा ट्रमा सेन्टर निर्माणको मागलाई लिएर स्थानीय स्तरमा आन्दोलन चर्कन सक्ने र त्यसले शान्ति सुरक्षामा समेत असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरे ।
हालै सुनसरीमा घटेको साम्प्रदायिक घटनाको सन्दर्भ जोड्दै उनले भने, ‘अहिलेको संवेदनशील अवस्थामा विकास निर्माणका विषयलाई लिएर पुन: आन्दोलन चर्कियो भने अमनचयनको वातावरण बिग्रन सक्छ । त्यसैले सरकारले यस विषयमा बेलैमा स्पष्ट पार्नुपर्छ ।’
समितिका सभापतिमार्फत स्वास्थ्य मन्त्रीलाई सार्थक पहलका लागि आग्रह गर्दै उनले ट्रमा सेन्टर निर्माणमा किन अवरोध सिर्जना भएको हो भन्नेबारे देशलाई स्पष्ट पार्न माग गरे ।
सोमबारको समिति बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल भइरहँदा सांसद यादवले उक्त धारणा राखेका हुन् ।
प्रतिक्रिया 4