+
+
Shares

कांग्रेस बैठकमा ६ प्रदेश सभापति सहभागी, सुदूरपश्चिमका मात्रै अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १६:२६

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा सात प्रदेशका सभापतिमध्ये ६ प्रदेशका सहभागी भएका छन् भने  सुदूरपश्चिमका सभापति अनुपस्थित रहेका छन् ।

आइतबारबाट केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा प्रदेश सभापतिलाई आमन्त्रित सदस्यका रूपमा बोलाइएको छ ।

बैठकमा उपस्थित हुने प्रदेश सभापतिमा कोशीका उद्धव थापा, मधेशका कृष्ण यादव, बागमतीका इन्द्र बानियाँ, गण्डकीका शुक्रराज शर्मा,लुम्बिनीका अमरसिंह पुन र कर्णालीका ललितजंग शाही छन् ।

 सुदूरपश्चिमका वीरबहादुर बलायर बैठकमा सहभागी नभएको एक केन्द्रीय सदस्यले जानकारी गराएका छन ।

हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ । बैठकमा छलफलका लागि आठ एजेण्डा तय गरिएको छ ।

पार्टीसँग सम्बन्धित छलफलका एजेण्डाहरूमा १५ औं महाधिवेशन तयारी, नियमावली र निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक र वितरण,  महाधिवेशन तयारी समिति गठन, विधान मस्यौदा समिति गठन, प्रचार प्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापन लगायतका उपसमिति गठन र कार्यसम्पादन समितिका निर्णय अनुमोदन, सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुमोदन, जनसम्पर्क समिति भ्रातृ संस्थाहरूको विधान लगायत छन् ।

बैठकका थप एजेण्डाहरूमा पछिल्लो समयमा तराई मधेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने,  सरकारका १०० दिन, तत् पश्चातका गतिविधि र प्रमुख प्रतिपक्ष दलका रूपमा संसद र संसद बाहिर पार्टीको भूमिका, प्रदेश सरकारका सन्दर्भमा विकसित राजनीतिक परिस्थिति र समसामयिक छन् ।

यसअघि प्रकाशित समाचारमा कर्णालीका सभापति ललितजंग शाही  पनि अनुपस्थित भनेर स्रोतले दिएको तथ्य फरक परेकाले क्षमासहित सच्याइएको छ  ।- सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?