+
+
Shares

सरकारले घोषणा गर्‍यो तर एकजना युवा स्वदेश फर्काउन सकेन : आङ्देम्बे

'युवालाई मतदान गर्ने जमात होइन, राष्ट्र निर्माणको शक्ति स्वीकार्नुपर्छ '

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते ९:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले युवालाई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्ने बताएका छन् ।
  • उनले दैनिक करिब २ हजार युवा रोजगारीको खोजीमा विदेशिन बाध्य हुनु देशको लागि विडम्बनापूर्ण अवस्था भएको उल्लेख गरेका छन् ।
  • आङदेम्बेले विदेशबाट फर्किएका युवाको सीप र पुँजी परिचालन गर्न सरकारले 'रिटर्नी युवा उद्यमशीलता' सम्बन्धी ठोस नीति ल्याउनुपर्नेमा जोड दिएका छन् ।

२७ साउन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले युवालाई मतदान गर्ने जमातका रूपमा मात्रै नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङदेम्बेले युवाको अधिकार, सहभागिता, सशक्तीकरण र भविष्यका विषयमा गम्भीर बहस आवश्यक रहेको बताएका हुन् ।

उनले १६ देखि ४० वर्ष उमेर समूहका युवा जनसंख्या ४२.५६ प्रतिशत रहेको उल्लेख गर्दै यो नेपालको ‘जनसांख्यिक लाभांश’ का रूपमा रहेको बताएका छन् । तर, रोजगारी र अवसरको खोजीमा दैनिक करिब २ हजार युवा विदेशिन बाध्य हुनु विडम्बनापूर्ण रहेको उनको भनाइ छ ।

उनले शुभकामना सन्देशमा जेनजी आन्दोलन र उनीहरुका माग सम्बोधनको विषय पनि उल्लेख गरेका छन् । जेनजी विद्रोहले रोजगारी, सुशासन, जवाफदेहिता र देश निर्माणको जनादेश मागेको बताउँदै उनले त्यसपछि भएको निर्वाचनमा पनि युवासहितका मतदाताले परिवर्तनको चाहना मतमार्फत व्यक्त गरेको बताएका छन् ।

तर, सरकारले यी युवाको सम्बोधन गर्न नसकेको भन्दै उनले प्रश्न गरेका छन् । ‘जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ? उनीहरूले चाहेको सुशासन कहाँ छ ? विदेशिन बाध्य युवालाई स्वदेश फर्काउने योजना कहाँ छ ?’ उनले प्रश्न गरेका छन् ।

चुनावअघि अमेरिका, क्यानडा र युरोपका विभिन्न ठाउँमा पुगेर सरकार बनेको १०० दिनमै ‘स्टिकर टाँस्ने’ तथा विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने घोषणा गरिएको स्मरण गराउँदै उनले सरकार गठन भएको साढे चार महिना बितिसक्दा पनि एक जना युवालाई स्वदेश फर्काउन नसक्नु गम्भीर प्रश्न भएको बताएका छन् ।

यसले युवामा पुनः निराशा बढ्न थालेको उनको भनाइ छ । त्यसका केही ज्वलन्त उदाहरणका रूपमा उनले देशमै स्वरोजगार भएका युवा उमेरका गणेश नेपालीदेखि विवेक मण्डलसम्मले गरेको आत्मदाहको घटनालाई उल्लेख गरेका छन् ।

आङदेम्बेले विदेशबाट फर्किएका युवाको ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशमै परिचालन गर्न ‘रिटर्नी युवा उद्यमशीलता’ सम्बन्धी ठोस नीति आवश्यक रहेको बताएका छन् । तीनै तहका सरकारले युवाको सहभागिता, नेतृत्व र सिर्जनशीलतालाई विकासको केन्द्रमा राख्नुपर्ने उनको सुझाव छ । ‘अन्तर्राष्ट्रिय युवा दिवस’ युवाहरूले नेपालमै आफ्नो भविष्य देख्न सक्ने नेपाल निर्माणको प्रतिबद्धता व्यक्त गर्ने दिन बनोस्’, उनले शुभकामना सन्देशमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?