News Summary
Generated by OK AI. Editorially reviewed.- राजबहादुर साने निर्देशित कथानक फिल्म ‘लज्जावती’ यही २९ साउनदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउँदैछ ।
- अभिनेता मुकुन भुसालले रिक्सा चालकको भूमिका निर्वाह गरेको यो फिल्म आफ्नो पहिलो लभस्टोरी कथा भएको बताएका छन् ।
- फिल्मका निर्माता कमलप्रसाद शर्माले बलियो कथावस्तुका कारण लगानी सुरक्षित हुनेमा आफू ढुक्क रहेको उल्लेख गरेका छन् ।
काठमाडौं । कथानक फिल्म ‘लज्जावती’ २९ साउनदेखि प्रदर्शन तयारीमा छ । राजबहादुर साने निर्देशित यो फिल्म प्रेमकथामा आधारित छ । आयोजित पत्रकार सम्मेलनमा कलाकारले फिल्मबारे जानकारी गराए ।
अभिनेता मुकुन भुसालले नेपालीपन बोकेको फिल्म भएकाले आफू जोडिएको बताए । नेपाली समाजकै प्रेम कथामा आधारित भएकोले फिल्म धेरै नेपालीको जीवनकथासँग सम्बन्धित हुनसक्ने अनुमान गरे । यो फिल्म मुकुनको पहिलो लभस्टोरी फिल्म पनि हो ।
उनले भने, ‘यो मेरो पहिलो लभस्टोरी कथा हो । यसअघि अन्य कथामा नै अभिनय गरिरहेको थिए । त्यसैले पनि सिनेमाप्रति उत्साहित छु ।’ फिल्ममा भुसाल रिक्सा चालकको भूमिकामा प्रस्तुत छन् ।
रिक्सा हाँकेर गुजारा गर्दै आएको उक्त पात्र होटल साहुनीसँग नजिकिन्छ त्यसपछि सम्बन्धको कथा अघि बढ्छ ।
अभिनेता श्रीकृष्ण निरौला प्रेममा पागल हुने एक पात्रको रोलमा छन् । ट्रेलरमा आफ्नो भूमिका हेरेपछि दर्शकले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए । ‘मेरो चरित्रलाई धेरै शुभचिन्तकले मन पराउनुभएको छ । त्यसैले निकै आशावादी छु’ उनले भने ।
श्रीकृष्णका अनुसार जीवनमा पहिलोपटक मायामा परेको व्यक्तिले प्रेममा पाउने पीडा र उतारचढाव कसरी सामना गर्छ भन्ने कुरा उनको पात्रमार्फत देखाइएको छ । आफूले उक्त चरित्रलाई निकै माया गरको र यसका लागि लामो समय पर्खिएको उनले बताए ।
निरौला ‘सिटामोल’बाट अभिनयमा डेब्यू गरेका थिए । जानुका विश्वकर्मा र मेनुका माझीले पनि पहिलोपटक मुख्य भूमिकामा काम गर्न पाउँदा उत्साहित रहेको बताए ।
जानुका भट्टी साउनीको भूमिकामा छिन् । उनी मुकुनको जोडीका रूपमा देखिएकी छन् ।
पत्रकार सम्मेलनमा लगानीकर्ता कमलप्रसाद शर्माले कथा मन परेर लगानी गरेको बताए । प्रचार सामग्रीमा आएको सकारात्मक प्रतिक्रिया र कथावस्तुलाई हेर्दा लगानी उठाउन सक्नेमा आफू ढुक्क रहेको उनले बताए ।
फिल्ममा विनोद श्रेष्ठ, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, दीपक थापा र काजल भुजेललगायतको पनि अभिनय छ ।
प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिम केही सातादेखि प्रचारमा व्यस्त छ । आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई सौरभ वलीले प्रस्तुत गरेका हुन् । कमलप्रसाद शर्मा र सन्दीप रोकाया निर्माता हुन् । कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन् ।
प्रतिक्रिया 4