२८ साउन, हुम्ला । यसवर्षदेखि हुम्लामा उत्पादित स्याउ बेच्न सम्बन्धित पालिकाको सिफारिस अनिवार्य चाहिने भएको छ ।
जिल्लाबाट गुणस्तरीय स्याउमात्रै निर्यात होस् भन्ने उद्देश्यले कृषि विकास कार्यालय हुम्लाले यस्तो नियम लगाएको छ । काँचो स्याउ निर्यात हुँदा जिल्लामा उत्पादित स्याउको छवि धमिलो हुने भन्दै नयाँ नियम लगाइएको कृषि विकास कार्यालयले जनाएको छ ।
कृषि प्राविधिकका अनुसार स्याउमा पाकेको स्याउमा मात्र उत्कृष्ट गुलियोपना आउँछ । यहीकारण पाकिसकेपछि मात्रै राम्रो र गुलियोपना भएको स्याउ निर्यात होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको कृषि विकास कार्यालयका कार्यालय प्रमुख चूडामणि पन्तले बताए ।
स्याउ निर्यातका लागि सिफारिस गर्दा गुलियोपना प्रमाणीकरणका आधारमा सम्बन्धित पालिकाको कृषि विकास शाखाले तोकेको फरम्याटमा सिफारिस गरिने पन्तले बताए ।
स्याउ निर्यात गर्दा कृषकलाई आवश्यक पर्ने कार्टुन कृषि विकास कार्यालय र राष्ट्रिय कृषि आधुनिकीकरणबाट उपलब्ध गराइने पन्तले जानकारी दिए ।
प्रतिक्रिया 4