News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जाको अरौंदी खोलाको कजवेमा बर्खाका कारण पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि आवागमनमा पूर्ण रोक लगाएको छ।
- खोला तर्ने क्रममा पछिल्लो समय एक युवकको ज्यान गएपछि मानवीय क्षति रोक्न प्रशासनले अर्को आदेश नभएसम्मका लागि बाटो बन्द गरेको हो।
- कजवेबाट जबरजस्ती आवतजावत गरेको पाइएमा कानूनबमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो।
३० साउन, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ नारायणस्थान हुँदै वडा नं. ३ पुतलीखेततर्फ जोड्ने अरौंदी खोलाको कजवेमा आजदेखि आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ । बर्खासँगै खोलामा पानीको बहाव बढ्दा विगतमा मोटरसाइकल तथा मानिस बग्ने घटना दोहोरिएपछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्मका लागि कजवे बन्द गरेको हो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शनिबार जारी गरेको सूचनामा अरौंदी खोलाको कजवेबाट आवतजावत गर्दा विगतमा मोटरसाइकल तथा मानिस बगेर क्षति भएको र आगामी दिनमा समेत जनधनको क्षति हुनसक्ने संवेदनशीलतालाई ध्यानमा राख्दै दुवैतर्फको आवागमन रोकिएको जनाएको छ ।
प्रशासनले कजवे बन्द गरिएको स्थानबाट जबर्जस्ती आवतजावत गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीका अनुसार पछिल्लो समय लगातार वर्षा भइरहेकाले अरौंदी खोलामा पानीको बहाव बढेको छ । कजवेबाट आवतजावत गर्दा जोखिम बढ्ने भएकाले मानवीय क्षति रोक्न तत्कालका लागि आवागमन बन्द गरिएको हो ।
उनका अनुसार खोलाको बहाव सामान्य नभएसम्म जोखिम मोलेर कजवे पार नगर्न स्थानीयवासी तथा सर्वसाधारणलाई आग्रह गरिएको छ । प्रशासनले अवस्थाको निरन्तर निगरानी गर्ने र परिस्थितिअनुसार थप निर्णय गर्ने जनाएको छ ।
पटकपटक घटना
अरौंदी खोलामा दुई दिनअघि पुतलीबजार नगरपालिका–३ बाडखोला निवासी २१ वर्षीय सलिम मगरलाई मोटरसाइकलसहित बगाएको थियो ।
साउन २८ गते राति अरौंदी खोलाले ग ११ प ८१८३ नम्बरको मोटरसाइकलसहित मगरलाई बगाएर बेपत्ता बनाएको थियो । त्यसपछि नेपाली सेनाको सिंहसार्दुल गुल्म स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा र सशस्त्र प्रहरी नं. ३० गुल्मको टोलीले खोजी गरेको थियो ।
खोजीका क्रममा साउन २९ गते दिउँसो पुतलीबजार नगरपालिका–१३ गैरीजाँगरस्थित आँधीखोलामा मगर मृत अवस्थामा फेला परेका थिए ।
यो घटनालगत्तै प्रशासनले अरौंदी खोलाको कजवेबाट आवतजावत नै बन्द गर्ने निर्णय गरेको हो ।
दुई वर्षअघि पनि पुतलीबजार क्षेत्रमा आफन्तलाई भेट्न पुगेका भीरकोट नगरपालिका–४ छाङ्छाङ्दीका ४० वर्षीय सुरेश श्रेष्ठ स्कुटरसहित सम्पर्कविहीन भएका थिए । खोजीका क्रममा उनको शव पुतलीबजार–१३ गौरीजाँगरस्थित आँधीखोलाको किनारमा फेला परेको थियो ।
त्यतिबेला समेत श्रेष्ठ अरौंदी खोला तर्ने क्रममा स्कुटरसहित बगेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरिएको थियो ।
यसरी हेर्दा अरौंदी खोलाको कजवेमा वर्षायाममा पानीको बहाव बढ्दा जोखिम उत्पन्न हुने घटना पटक–पटक दोहोरिएको देखिन्छ ।
प्रशासनको निर्णयले यात्रु रोकिए, जोखिम भने घट्ने अपेक्षा
प्रशासनले कजवे बन्द गरेपछि नारायणस्थान–पुतलीखेततर्फ आवतजावत गर्ने स्थानीयले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने भएको छ । दैनिक आवतजावतमा केही असहजता भए पनि मानवीय क्षति रोक्न जोखिमयुक्त कजवे बन्द गर्नु आवश्यक रहेको प्रशासनको निष्कर्ष छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार प्रशासनको मुख्य उद्देश्य आवागमन असहज बनाउनु नभई सम्भावित दुर्घटना र मानवीय क्षति रोक्नु हो । खोलाको बहाव घटेर सुरक्षित अवस्था बनेपछि परिस्थितिको मूल्याङ्कन गरी थप निर्णय गरिने प्रशासनले जनाएको छ ।
प्रशासनको सूचनामा अर्को आदेश नभएसम्म अरौंदी खोलाको उक्त कजवेबाट दुवैतर्फ आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । बन्द गरिएको स्थानबाट जबर्जस्ती आवतजावत गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ ।
प्रतिक्रिया 4