News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता इमरान हाशमी अभिनित फिल्म ‘आवारापन २’ शुक्रबारदेखि हलमा रिलिज भएको छ ।
- फिल्मले प्रदर्शनको दुई दिनमा भारतीय बक्स अफिसमा ५७.४९ करोड भारु र विश्वव्यापी रूपमा ७२.९० करोड भारु कमाएको छ ।
- नितिन कक्कड निर्देशित उक्त फिल्मले अभिनेता हाशमीको करिअरमै सबैभन्दा ठूलो ओपनिङको कीर्ति कायम गरेको छ ।
मुम्बई । लामो प्रतीक्षापछि बलिउड अभिनेता इमरान हाशमी अभिनित फिल्म ‘आवारापन २’ शुक्रबारदेखि हलमा रिलिज भएको छ । उत्साहजनक प्रतिक्रिया पाएको फिल्मले पहिलो दिन भारतमा २३.४० करोड भारुको सानदार ओपनिङ गर्यो ।
पहिलो दिनमै यसले अघिल्लो फिल्मको लाइफटाइम कलेक्सनसमेत पार गरेको छ । दोस्रो दिन पनि बक्सअफिस प्रदर्शन बलियो देखियो । फिल्मले दोस्रो दिन भारतीय बक्स अफिसमा ३४.०९ करोड भारु नेट कलेक्सन गर्यो ।
यससँगै फिल्मको कुल घरेलु नेट कलेक्सन ५७.४९ करोड भारु पुगेको छ । विश्वव्यापी रूपमा फिल्मले ७२.९० करोड भारु कमाएको छ । बक्स अफिसमा फिल्मले उत्साहजनक आँकडा प्रस्तुत गरे पनि समीक्षकहरूको प्रतिक्रिया भने केही संयमित देखिएको छ ।
‘स्क्रिन’को समीक्षाको एक अंशमा भनिएको छ, ‘हाशमीले फिल्मलाई चलायमान राखेका छन् र ‘आवारापन’ केही आकर्षक तथा स्टाइलिस दृश्यहरूको बलमा अगाडि बढ्दासम्म पीडासँग पुरानो सम्बन्ध भएको हाम्रो साहसी एन्टी–हिरोसँगको यो यात्रा रमाइलो लाग्छ । दुःखको कुरा, फिल्मको तेस्रो अंक दोहोरिने र फिक्का बन्दै जान्छ, जसले बाँकी भागका सक्षम विधागत पक्षहरू लगभग बिर्साइदिन्छ ।’
फिल्ममा हाशमीले शिवम पण्डितको भूमिकालाई पुनः निरन्तरता दिएका छन् । उनीसँगै दिशा पटानी, पुरन गब्बी, अनिरुद्ध रावल, शबाना आजमी, सुविन्दर विक्की, विजयन्त कोहली र अतुल कुमारको अभिनय छ । नितिन कक्कड निर्देशित फिल्मलाई विशेष फिल्म्सको ब्यानरमा विशेष भट्ट र मुकेश भट्टले निर्माण गरेका हुन् ।
‘आवरापन २’ अभिनेता हाश्मीको करिअरमा सबैभन्दा ठूलो ओपनिङ हो । सन् २०१७ मा रिलिज भएको फिल्म ‘बादशाहों’ ले १२.६० करोड भारु कमाएको थियो ।
प्रतिक्रिया 4