News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिष्ट पार्टीहरू आफ्नो आधारभूत वर्ग र समुदायबाट टाढिएको निष्कर्ष सुनाए।
- महासचिव पोखरेलले \'पार्टी सदस्य र उसको निकटको सदस्यमा आधारित जनमतबाहेक अन्य जनमत हामीले हासिल गर्न सकेनौँ\' भनी स्वीकार गरे।
३१ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिस्ट पार्टीहरू आफ्नो आधारभूत वर्ग र समुदायबाट टुटेको निष्कर्ष सुनाएका छन्।
आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै महासचिव पोखरेलले गत प्रतिनिधिसभा निर्वाचनमा एमालेले पार्टी सदस्य र उनीहरूको निकट जनमतबाहेक अन्य समुदायको मत पाउन नसकेको स्वीकारे ।
वामपन्थी शक्तिहरू पूर्वाधार विकासमा बढी केन्द्रित हुँदा सामाजिक विकास, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दामा प्रभावकारी काम गर्न नसकेको उनले बताए।
‘पार्टी सदस्य र त्यसको पेरिफेरीको सम्बन्ध नै कम्युनिस्ट जनमत होला जस्तो भयो। पार्टी सदस्य र उसको निकटको सदस्यमा आधारित जनमतबाहेक अन्य जनमत हामीले हासिल गर्न सकेनौँ,’ उनले भने, ‘त्यसअर्थ अहिले हामी आधारभूत वर्ग र समुदायबाट पनि टुटेको अवस्थामा छौँ।’
आधारभूत वर्गबाट टुट्नुको कारण खोतल्दै महासचिव पोखरेलले वामपन्थीहरू शिक्षा, स्वास्थ्य र रोजगारीको प्रत्याभूति गराउने सन्दर्भमा महासचिव पोखरेलले चुकेको बताए। नेपालको श्रमशक्तिको सबैभन्दा ठूलो हिस्सा कृषिमा निर्भर रहे पनि कृषिमा संलग्न परिवारकै शिक्षित युवाहरू कृषि पेसामा फर्कन नचाहँदा समाजमा शैक्षिक बेरोजगारी बढेको उनको भनाइ छ।
उनले भने, ‘कृषिलाई पेसा मान्ने समुदायभित्रको लेखपढ गरेको पुस्ताले कृषिमा फर्कन मानेन। त्यो पुस्ता शैक्षिक बेरोजगारको रूपमा समाजमा उपस्थित भयो। जसले रोजगारी वा काम दिन सक्दछ, त्यसमा उनीहरूको संलग्नता भएन। आफू शैक्षिक बेरोजगार बस्दाको असन्तुष्टि र विद्रोह अन्ततः वैदेशिक पलायन र राज्यविरुद्धको घृणामा बदलियो।’
मुलुकको वर्तमान संकटको एउटा प्रमुख कारण शिक्षित पुस्तामा बढेको बेरोजगारी र त्यसबाट उत्पन्न असन्तुष्टि नै भएको पोखरेलले दाबी गरे।
वर्तमान परिस्थितिमा पार्टीको समग्र पुनर्गठन आजको आवश्यकता भएको औंल्याउँदै उनले वामपन्थी कार्यकर्तामा उत्पन्न भएको निराशालाई उत्साह र गतिशीलतामा बदल्न जरुरी रहेको बताए। आगामी दिनमा वामपन्थी आन्दोलनलाई अघि बढाउन जनतासँगको सम्बन्ध थप बलियो र सुदृढ बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
प्रतिक्रिया 4