+

सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने

२०८३ भदौ  ६ गते १९:३५ २०८३ भदौ ६ गते १९:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिम्बाबेका स्टार अलराउन्डर सिकन्दर राजा नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा चितवन राइनोजबाट खेल्ने भएका छन्।
  • राजाले १३३ टी–२० अन्तर्राष्ट्रिय खेलमा ३ हजार ८९ रन र १०७ विकेट लिएका छन्, र ३ हजार रन तथा १ सय विकेट पूरा गर्ने दुई खेलाडीमध्ये एक हुन्।
  • एनपीएलको तेस्रो सिजन कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुनेछ, र चितवनले कप्तान कुशल मल्लसहित सात खेलाडीलाई रिटेन गरेको छ।

६ भदौ, काठमाडौं । जिम्बाबेका स्टार अलराउन्डर सिकन्दर राजाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजबाट खेल्ने भएका छन् ।

विश्व क्रिकेटका अनुभवी अलराउन्डर राजा यसअघि पनि नेपालमा खेलिसकेका छन् । उनले सन् २०२१ मा भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा विराटनगर वारियर्सबाट खेलेका थिए । त्यतिबेला उनी पारस खड्काको कप्तानीमा रहेको विराटनगरको टोलीमा आबद्ध थिए ।

राजाको आगमनले चितवन राइनोजको टोलीलाई अन्तर्राष्ट्रिय अनुभव र अलराउन्ड क्षमताका हिसाबले थप बलियो बनाउनेछ । चितवनले यसअघि एनपीएलको तेस्रो सिजनका लागि कप्तान कुशल मल्लसहित सात खेलाडीलाई रिटेन गरेको थियो ।

राजा पछिल्लो समय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुर्लभ उपलब्धि हासिल गरेका खेलाडी हुन् । उनले १३३ टी–२० अन्तर्राष्ट्रिय खेलमा ३ हजार ८९ रन बनाएका छन् भने बलिङतर्फ १०७ विकेट लिएका छन् । उनको ब्याटिङ औसत २६.६२ र स्ट्राइक रेट १३६.९२ रहेको छ । बलिङमा उनको औसत २३.५४ र इकोनोमी ६.८८ छ ।

३ हजारभन्दा बढी रन र १ सयभन्दा बढी विकेट दुवै पूरा गर्ने पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका दुई खेलाडीमध्ये राजा एक हुन् । यो उपलब्धि हासिल गर्ने अर्का खेलाडी मलेसियाका विरानदीप सिंह हुन् ।

रजाले सन् २०२६ को टी–२० विश्वकपमा पनि प्रभावशाली प्रदर्शन गरेका थिए । प्रतियोगितामा उनले ६ खेलमा २०६ रन बनाउँदै एक अर्धशतक प्रहार गरेका थिए भने बलिङतर्फ पाँच विकेट लिएका थिए ।

टी–२० अन्तर्राष्ट्रियमा उनको उच्चतम स्कोर १३३ रन हो । उनको नाममा एक शतक र १७ अर्धशतक छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ५ विकेट लिएर १८ रन दिएको छ ।

नेपालसँग राजाको पुरानो सम्बन्ध पनि छ । सन् २०२१ को ईपीएलमा विराटनगर वारियर्सबाट खेल्दा उनले चितवन टाइगर्सविरुद्ध ४७ बलमा ६७ रनको प्रभावशाली इनिङ खेलेका थिए । उक्त खेलमा उनले सात छक्का प्रहार गरेका थिए ।

चितवन राइनोज एनपीएलको पहिलो संस्करणमा चौथो भएको थियो भने दोस्रो संस्करणमा सातमध्ये दुई खेल मात्रै जित्न सकेको थियो । आगामी सिजनका लागि टोलीले घरेलु खेलाडीको बलियो आधारसँगै विदेशी खेलाडीमार्फत टोलीलाई थप प्रतिस्पर्धात्मक बनाउने तयारी गरेको छ ।

एनपीएलको तेस्रो सिजन आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म आयोजना हुँदैछ ।

एनपीएल २०२६ चितवन राइनोज सिकन्दर राजा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय