१ भदौ, काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागितासहित सम्पन्न भएको छ ।
साउन २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ६ दिने एक्स्पोको अन्तिम दिन मात्रै ३० हजारभन्दा बढीले अवलोकन गरेको नाइमाले जनाएको छ । नाइमाका अनुसार उद्घाटनको दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार र पाँचौँ दिन ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए ।
नाइमाले ६ दिनमा डेढ लाख अवलोकनकर्ता आउने अपेक्षा गरेको थियो । तर अपेक्षाभन्दा ३० हजारभन्दा बढी मानिस एक्स्पोमा पुगेका हुन् ।
५५ भन्दा बढी ब्रान्ड, ५३ नयाँ उत्पादन
नाइमा अध्यक्ष रितु सिंह वैद्यले ५५ भन्दा बढी ब्रान्डको सहभागिता, एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता र ५३ वटा नयाँ उत्पादन सार्वजनिक हुनु एक्स्पोको प्रमुख उपलब्धि भएको बताइन् ।
उनका अनुसार एक्स्पोलाई नयाँ सवारीसाधन र प्रविधि प्रदर्शनमा मात्र सीमित नगरी ज्ञान तथा सिकाइको प्लेटफर्मका रूपमा विकास गर्ने प्रयास गरिएको थियो । ‘यो अन्त्य होइन, सुरुवात हो’ भन्दै अध्यक्ष वैद्यले आगामी दिनमा अझ ठूलो र बलियो एक्स्पो आयोजना गर्ने लक्ष्य रहेको बताइन् ।
अपेक्षाभन्दा बढी बुकिङ र इन्क्वायरी
एक्स्पोको अवलोकनकर्ताको संख्या मात्र नभई सवारीसाधनप्रतिको ग्राहकको चासो र बुकिङसमेत अपेक्षाभन्दा राम्रो भएको आयोजकको दाबी छ ।
अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले सोचेभन्दा धेरै मानिसले एक्स्पो अवलोकन गरेको र इन्क्वायरी तथा बुकिङ पनि अपेक्षाभन्दा राम्रो भएको बताए ।
नाइमाका बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले पनि ठूलो संख्यामा मानिसको सहभागितालाई अटोमोबाइल उद्योगका लागि सकारात्मक संकेतका रूपमा व्याख्या गरे ।
नाइमाका स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले एक्स्पोलाई ‘सुपरहिट’ भएको बताए ।
सवारीसाधन प्रदर्शनसँगै बहस र संवाद
यसपटकको एक्स्पोलाई सवारीसाधन प्रदर्शनमा मात्र सीमित नगरी विभिन्न विषयमा छलफल तथा अन्तरक्रियासमेत आयोजना गरिएको थियो ।
समापनका दिन नाइमा मोबिलिटी संवाद आयोजना गरिएको थियो । उक्त संवादमा प्रतिनिधिसभा सदस्य विदुषी राणा, नाइमाका बोर्ड सदस्य एवं पद्मज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, पद्मकन्या क्याम्पसकी सहायक प्राध्यापक भगवती सेडाइँ र थापाथली इन्जिनियरिङ क्याम्पसका एसिस्टेन्ट प्रोफेसर लोचनकेन्द्र देवकोटा सहभागी थिए ।
एक्स्पो अवधिभर एआई तथा अटोमोटिभ प्रविधि, ब्याट्री रिसाइकल, इथानोल ब्लेन्डिङ, वित्त तथा बीमा, मोबिलिटीको वर्तमान र भविष्य, लगानी तथा प्रत्यक्ष वैदेशिक लगानीलगायत विषयमा छलफल गरिएको थियो ।
दिगो र प्रविधिमैत्री यातायातमा जोड
नाइमाका अनुसार नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्धन गर्ने उद्देश्यले एक्स्पोको दोस्रो संस्करण आयोजना गरिएको हो । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले बृहत् प्रदर्शनीसँगै सिकाइ सत्र, सहकार्य र मागकेन्द्रित व्यवस्थापनमा ध्यान दिइएको बताए । उनका अनुसार अवलोकनकर्ताको सन्तुष्टि नै एक्स्पोको सफलताको प्रमुख मापक हो ।
यसपटकको एक्स्पोमा विभिन्न बैंक, बीमा कम्पनी, प्रविधि तथा चार्जिङ कम्पनी, शैक्षिक संस्था, राइड सेयरिङ, स्वास्थ्य तथा सुरक्षा क्षेत्रका संस्थाहरूको समेत साझेदारी रहेको थियो ।
नाइमाले ठूलो संख्यामा अवलोकनकर्ता र नयाँ उत्पादनप्रति देखिएको चासोले नेपालको अटोमोबाइल तथा मोबिलिटी बजारप्रति ग्राहकको रुचि अझै बलियो रहेको देखाएको जनाएको छ।
प्रतिक्रिया 4