+
+
Shares

नाइमा मोबिलिटी एक्स्पो : कुन गाडीमा कस्ता प्रविधि ?

यसपालि नाइमा अटो शोमा नयाँ प्रविधि सहित विभिन्न ब्रान्डका गाडी प्रदर्शनमा राखिएका छन् । यी लक्जरीदेखि आकर्षक प्रविधि देखिएका गाडीमा ग्राहकको भिडभाड देखिन्छ ।

कौशल काफ्ले कौशल काफ्ले
२०८३ साउन ३१ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा ५५ भन्दा बढी ब्रान्डका विद्युतीय, हाइब्रिड र कनेक्टेड-कार प्रविधियुक्त सवारीसाधन आकर्षणको केन्द्र बनेका छन् ।
  • एक्स्पोमा निसान टेकटन, चेरी क्यु, आर्कफक्स टी१ र टाटा पन्च ईभीसहित ४० भन्दा बढी नयाँ मोडेल तथा उत्पादन सार्वजनिक गरिएका छन् ।
  • नेपालमै एसेम्बल भएको हुन्डाई भेन्युमा पहिलो पटक लेभल-२ एडीएएस प्रविधि उपलब्ध गराइएको छ भने प्रदर्शनमा रहेका गाडीहरूमा भीटुएल र ३६० डिग्री क्यामरा जस्ता आधुनिक सुविधा छन् ।

३१ साउन, काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा यसपालि विद्युतीय गाडी, हाइब्रिड, प्लग-इन हाइब्रिड र कनेक्टेड-कार प्रविधियुक्त सवारीसाधन मुख्य आकर्षण बनेका छन् ।

आयोजकका अनुसार एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड सहभागी छन् भने ४० भन्दा बढी नयाँ मोडेल तथा उत्पादन सार्वजनिक वा प्रदर्शनमा राखिएका छन् ।

एक्स्पोमा आएका गाडीमा मोबाइल एप, फास्ट चार्जिङ, लामो रेन्ज, भ्वाइस कन्ट्रोल, ३६० डिग्री क्यामरा, एडीएएस (एड्भान्स ड्राइभिङ एसिस्टेन्ट सिस्टम) र भीटुएल (भेइकल टु लोड) जस्ता प्रविधि देखिएका छन् ।

यसपालि नाइमा अटो शोमा नयाँ प्रविधि सहित विभिन्न ब्रान्डका गाडी प्रदर्शनमा राखिएका छन् । यी लक्जरीदेखि आकर्षक प्रविधि देखिएका गाडीमा ग्राहकको भिडभाड देखिन्छ ।

निसान टेकटन : मोबाइलबाटै गाडी स्टार्ट र एसी नियन्त्रण

निसान टेकटन नाइमा एक्स्पोमा सार्वजनिक गरिएको नयाँ एसयूभी हो । कम्पनीका अनुसार टेकटनमा मोबाइल एपमार्फत ५५ भन्दा बढी कनेक्टेड-कार सुविधा प्रयोग गर्न सकिन्छ । मोबाइलबाटै गाडी स्टार्ट गर्न, एसी चलाउन, ढोका लक तथा अनलक गर्न, हेडलाइट र हर्न नियन्त्रण गर्न तथा गाडीको अवस्था जाँच गर्न सकिन्छ । पार्किङ गरेको स्थान पत्ता लगाउने ‘फाइन्ड माइ कार’ सुविधा पनि यसमा छ ।

टेकटनमा १.० लिटर र १.३ लिटर टर्बो पेट्रोल इन्जिनका विकल्प छन् । १.० लिटर इन्जिनले १०० पीएस शक्ति र १६६ एनएम टर्क उत्पादन गर्छ भने १.३ लिटर इन्जिनले १६३ पीएस शक्ति र २८० एनएम टर्क उत्पादन गर्छ ।

यसमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, वायरलेस फोन चार्जिङ, भेन्टिलेटेड सिट, पानारोमिक सनरुफ, ६ वटा एयरब्याग र लेभल-२ एडीएएस छन् । यसको मूल्य ५१ लाख २९ हजारदेखि ८३ लाख ५९ हजार रुपैयाँसम्म पर्छ ।

चेरी क्यु : ५४० डिग्री क्यामरा भएको ईभी

चेरी क्यु सहरमा चलाउन लक्षित विद्युतीय क्रसओभर हो । यसमा ४१.२ किलोवाट-आवरको एलएफपी ब्याट्री र ९० किलोवाटको रियर-ह्विल ड्राइभ मोटर छ ।

कम्पनीका अनुसार चेरी क्युले एनईडीसी (न्यु युरोपियन ड्राइभिङ साइकल) परीक्षण अनुसार एक पटक चार्ज गर्दा ४ सय किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी छ ।

यसमा १५.६ इन्चको टचस्क्रिन, २० भन्दा बढी एडीएएस फिचर र ५४० डिग्री सराउन्ड-भ्यु क्यामरा छन् । यो क्यामराले गाडीको वरिपरिका साथै तलको भागसमेत देखाउन सहयोग गर्छ ।

चेरी क्युमा भीटुएल सुविधा पनि छ, जसबाट गाडीको ब्याट्री प्रयोग गरी बाहिरी विद्युतीय उपकरण चलाउन सकिन्छ । अगाडि ७० लिटरको फ्रंक र पछाडि ३ सय ७५ लिटरको बुट छ । यसको नाइमा विशेष अफर ३० लाख ९९ हजारदेखि ३२ लाख ९९ हजार रुपैयाँसम्म छ ।

आर्कफक्स टी१ : सानो ईभीमा भ्वाइस कन्ट्रोल

बीएआईसी समूहको विद्युतीय ब्रान्ड आर्कफक्सले टी१ मोडेल नेपालमा सार्वजनिक गरेको छ । यसमा ४१.२ किलोवाट-आवरको ब्याट्री र ९० किलोवाटको रियर मोटर छ । कम्पनीका अनुसार यसको रेन्ज ४ सय २५ किलोमिटरसम्म छ ।

आर्कफक्स टी१ मा १५.६ इन्चको एचडी टचस्क्रिन, ६ वटा स्पिकर, भ्वाइस कन्ट्रोल, एप्पल कारप्ले र इजिलिंक कनेक्टिभिटी छन् । यसमा अगाडि तथा पछाडिको पार्किङ सेन्सर, इलेक्ट्रिक पार्किङ ब्रेक, अटोमेटिक पार्किङ, क्रुज कन्ट्रोल र लेन डिपार्चर वार्निङजस्ता सुविधा पनि छन् । यसको नाइमा विशेष अफरमा ३२ लाख ९६ हजार रुपैयाँदेखि सुरु हुन्छ ।

टाटा पन्च ईभी फेसलिफ्ट : कनेक्टेड कार र भ्वाइस सनरुफ

टाटा पन्च ईभी फेसलिफ्टमा ३० किलोवाट-आवर र ४० किलोवाट-आवर ब्याट्री विकल्प छन् । कम्पनीका अनुसार ४० किलोवाट-आवर संस्करणले एआरएआई (अटोमोटिभ रिसर्च एसोसिएसन अफ इन्डिया) परीक्षण अनुसार ४ सय ६८ किलोमिटरसम्म यात्रा गर्न सक्छ । यसमा ६५ किलोवाट डीसी फास्ट चार्जिङ सुविधा छ ।

गाडीमा १०.२५ इन्चको टचस्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस फोन चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइटिङ, कनेक्टेड-कार प्रविधि र ३६० डिग्री क्यामरा छन् । भ्वाइसबाट खोल्न सकिने सनरुफ, ६ एयरब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल-होल्ड र टायर प्रेसर निगरानी पनि यसमा राखिएका छन् ।

प्रोटोन ई.मास ५ : स्मार्ट स्टोरेज र भीटुएल

प्रोटोन ई.मास ५ मा ७० लिटरको अगाडिको फ्रंक, सिटमुनि २८ लिटर र सेन्टर कन्सोलमुनि २० लिटरको अतिरिक्त स्टोरेज छ । पछाडिको बुट ३ सय ७५ लिटरको छ । यसमा १४.६ इन्चको फुल एचडी डिस्प्ले, रियर मल्टिलिंक इन्डिपेन्डेन्ट सस्पेन्सन, जिट्राक ट्र्याक्सन कन्ट्रोल र भीटुएल सुविधा छन् ।

प्रिमियम भेरिएन्टमा ८५ किलोवाटको ११-इन-१ इलेक्ट्रिक मोटर, पावर्ड टेलगेट र ३६० डिग्री क्यामरा उपलब्ध छन् ।

हुन्डाई भेन्यु : नेपालमै एसेम्बल भएको पहिलो लेभल-२ एडीएएस मोडेल

नयाँ पुस्ताको हुन्डाई भेन्यु नेपालमै एसेम्बल भएर नाइमा एक्स्पोमा सार्वजनिक भएको हो । कम्पनीका अनुसार नेपालमा भेन्युमा पहिलो पटक लेभल-२ एडीएएस उपलब्ध गराइएको छ । यसमा एडाप्टिभ क्रुज कन्ट्रोल, फर्वार्ड कोलिजन एभोइडेन्स र लेन किपिङ एसिस्ट छन् ।

यस अतिरिक्त ३६० डिग्री क्यामरा, अगाडिको पार्किङ सेन्सर, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, भेन्टिलेटेड सिट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट उपलब्ध छन् ।

हुन्डाई भेन्यु एन लाइन : स्पोर्टी डिजाइन सहित एडीएएस

भेन्यु एन लाइन भेन्युको स्पोर्टी संस्करण हो । यसको बाहिरी डिजाइन र इन्टेरियरमा एन लाइन अनुसार विशेष परिवर्तन गरिएका छन् । यसमा भेन्युका लेभल-२ एडीएएस, एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ एसिस्ट, फर्वार्ड कोलिजन एभोइडेन्स र ३६० डिग्री क्यामरा छन् । स्पोर्टी डिजाइनसँगै इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड र डिजिटल इन्फोटेनमेन्ट यसका मुख्य सुविधा हुन् ।

बीएआईसी बीजे३०ई : हाइब्रिडमा भीटुएल

बीएआईसी बीजे३०ई पाँच सिटे हाइब्रिड एसयूभी हो । यसमा १.५ लिटर टर्बो पेट्रोल इन्जिनसँग दुई वटा इलेक्ट्रिक मोटर जोडिएका छन् । कम्पनीका अनुसार अल-ह्विल ड्राइभ संस्करणले ४०९ एचपी शक्ति र ६८५ एनएम टर्क उत्पादन गर्छ ।

यसमा २१५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले र फोल्ड गर्न मिल्ने पछाडिका सिट छन् । क्याम्पिङ वा बाहिरी गतिविधिका लागि गाडीको ब्याट्रीबाट विद्युत् दिन सकिने भीटुएल सुविधा पनि यसमा छ । यसको मूल्य १ करोड १९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

डेन्जा बी५ : लक्जरी प्लग-इन हाइब्रिड

डेन्जा बी५ प्लग-इन हाइब्रिड एसयूभी हो । यसमा पेट्रोल इन्जिनसँग दुई वटा इलेक्ट्रिक मोटर र अल-ह्विल ड्राइभ प्रणाली छ । कम्पनीका अनुसार यसले ४२५ किलोवाट संयुक्त शक्ति र ७६० एनएम टर्क उत्पादन गर्छ ।

यसमा बीवाईडी ब्लेड ब्याट्री, १०० किलोवाट डीसी फास्ट चार्जिङ, एडाप्टिभ सस्पेन्सन, पानारोमिक रुफ, मसाजिङ सिट, प्रिमियम साउन्ड सिस्टम र बिल्ट-इन रेफ्रिजेरेटर छन् ।

एमजी एचएस हाइब्रिड : दुई प्रकारका हाइब्रिड विकल्प

एमजी एचएस हाइब्रिड पेट्रोल र इलेक्ट्रिक मोटरको संयुक्त प्रणालीमा चल्ने एसयूभी हो । यसको प्लग-इन संस्करणलाई वाह्य चार्जरबाट चार्ज गर्न सकिन्छ । यसमा १९ इन्च एलोय ह्विल, हिटेड लेदरेट सिट, ३६० डिग्री क्यामरा र की-लेस इन्ट्री छन् । नाइमा एक्स्पो अवधिमा ग्राहकलाई ३ लाख रुपैयाँ छुट दिने योजना पनि सार्वजनिक गरिएको छ ।

बीवाईडी एट्टो सिरिज : ब्लेड ब्याट्री र मोबाइल एप

बीवाईडीले नाइमा एक्स्पोमा एट्टो १, एट्टो २ र एट्टो ३ का नयाँ तथा फेसलिफ्ट संस्करण प्रदर्शन गरेको छ । एट्टो १ सानो सहरिया ईभी, एट्टो २ कम्प्याक्ट एसयूभी र एट्टो ३ ठूलो विद्युतीय एसयूभी हो ।

यी मोडेलमा ब्लेड ब्याट्री, मोबाइल एप, डिजिटल इन्फोटेनमेन्ट र डीसी फास्ट चार्जिङ छन् । मोबाइल एपबाट ब्याट्री प्रतिशत, चार्जिङ अवस्था र गाडीको केही जानकारी हेर्न सकिन्छ । एडीएएस, ३६० डिग्री क्यामरा र भीटुएल भने भेरिएन्ट अनुसार फरक हुन सक्छन् ।

किया साइरोस ईभी : ९५ भन्दा बढी कनेक्टेड फिचर

किया साइरोस ईभीमा ४२ किलोवाट-आवरको ब्याट्री र १७१ पीएसको इलेक्ट्रिक मोटर छ । कम्पनीका अनुसार यसको रेन्ज ४ सय ४३ किलोमिटरसम्म छ । १०० किलोवाट डीसी फास्ट चार्जिङबाट ब्याट्रीलाई १० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब ३९ मिनेटमा चार्ज गर्न सकिन्छ ।

यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, रियर एसी भेन्ट, इलेक्ट्रोनिक पार्किङ ब्रेक र रिजेनेरेटिभ ब्रेकिङका लागि प्याडल सिफ्टर छन् । उच्च भेरिएन्टमा किया कनेक्ट २.० अन्तर्गत ९५ भन्दा बढी कनेक्टेड फिचर, ओभर-द-एयर सफ्टवेयर अपडेट, वायरलेस चार्जिङ, स्मार्ट ड्यासक्याम, ३६० डिग्री क्यामरा, भीटुएल र लेभल-२ एडीएएस उपलब्ध छन् । यसको बुकिङ मूल्य ३५ लाख ९० हजार रुपैयाँबाट सुरु हुन्छ ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?