+
+
Shares
समीक्षा :

‘स्वस्पर्श’ : जीवन जिउने कला सिकाउने

कथाकार डा. नवराज के.सी. को पुस्तक ‘स्वस्पर्श’ मा भुइँमान्छेहरूले बाँच्नका लागि गरेका संघर्ष र उनीहरूको जीवनमा आएको बदलावलाई उतारेका छन्। यी कथाहरूले पाठकको मन छुने मात्र होइन, जीवनप्रति नयाँ दृष्टिकोण र आशा जगाउन मद्दत गर्छन्।

दुर्गा सुवेदी दुर्गा सुवेदी
२०८३ भदौ २ गते ९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. नवराज के.सी.द्वारा लिखित पुस्तकमा समेटिएका भुइँमान्छेका संघर्षमय कथाहरूले पाठकहरूलाई जीवनप्रति आशा, प्रेरणा र भरोसा जगाउन सफल भएका छन्।
  • लेखकले चिकित्सकको भूमिकामा रहेर बिरामीको शारीरिक उपचारका साथै भावनात्मक र सामाजिक पक्षलाई समेत सम्बोधन गर्नुपर्ने सन्देश पुस्तकमा उल्लेख गरेका छन्।
  • विभिन्न कठिन परिस्थितिका पात्रहरूको कथा समेटिएको यो पुस्तकले सामाजिक जिम्मेवारी, कर्तव्यबोध र मानवीय सेवाको महत्वबारे गहिरो सन्देश प्रवाह गरेको छ।

भनिन्छ, जीवन एक यात्रा हो। जसरी यात्रामा उकाली–ओराली, भञ्ज्याङ–चौतारी, घुम्ती र मोडहरू आउँछन्, त्यसरी नै जीवनमा पनि सुख–दुःख, हाँसो–रोदन र मिलन–विछोडका मोडहरू आउँछन्। यस्ता जीवनका हरेक मोड तथा घटनाहरू हामीलाई केही न केही शिक्षा दिन आएका हुन्छन्। जसलाई हामी स्वीकारेर अघि बढ्न खोज्छौं, उनीहरूले केही पाठ सिकाएर जान्छन्। जसलाई हामी सहजै स्वीकार्न सक्दैनौं, तिनीहरूले हामीलाई असह्य पीडा दिन्छन्। त्यसैले त हामी त्यहीं टक्क रोकिन चाहन्छौं— केही मिनेट, घण्टा, दिन, हप्ता, महिना, वर्ष र वर्षौंसम्म पनि। तर समय हाम्रो लागि मात्र कहाँ रोकिन्छ र ?

हाम्रो चाहनाले मात्र जीवन कहाँ चल्छ र ? जीवन त्यसरी चल्छ, जसरी समय चलिरहन्छ। अनि समयसँगै हामी पनि त्यस्ता घटनाहरूलाई स्वीकारेर अघि बढ्छौं। अघि त बढ्छौं तर तिनीहरूले हामीलाई वर्षौंसम्म लखेटिरहन्छन्, अझ भनौं जिन्दगीभर। किनकि यस्ता घटनाहरूले हामीलाई रुवाएर मात्र गएका हुँदैनन्, हाम्रो मुटु नै टुक्र्याएर गएका हुन्छन्।

कहिलेकाहीं हाम्रो आँखै अगाडि घटेका घटना, आफन्त, साथीभाइ र छरछिमेकमा घटेका घटना, समाज र देश–विदेशका घटनाहरूले पनि हामीलाई चिमोटेर जान्छन् र केही समयसम्म दुखाइरहन्छन्। कहिलेकाहीं सिनेमाका पात्र, रङ्गमञ्चका रङ्गकर्मीहरूले पनि हामीलाई बिथोलेर जान्छन् र केही समयसम्म प्रताडित गरिरहन्छन्।

तर, कहिलेकाहीं यस्ता घटना जो न देखिएका, न सुनिएका, न आफन्तका, न साथीभाइका, न छिमेक, न समाज, न आफ्नो गाउँठाउँ जोडिएका हुन्छन्; तैपनि त्यसले हाम्रो मन, मस्तिष्क र चेतनालाई घुमाएर जान्छन्। ती घटनाहरूले दिनमा मात्र होइन राति सपनामा समेत आएर साउती मार्छन्। भर्खरै पढेको एउटा पुस्तक, जसका कथा र त्यसका केही पात्रहरूले मलाई छोएर गए, केहीले हल्लाएर गए। केहीले चिमोटेर गए, केहीले चसक्क दु:खाएरै गए। केहीले भने झक्झकाएर, आशा देखाएर, भरोसा दिलाएर गए।

यसरी बिथोल्ने स्वस्पर्शका कथाहरू थिए। तिनै कथाका पात्रहरू थिए। तिनीहरू एउटा लेखकले लेखेका कथाका पात्रहरू मात्र थिएनन्, तर पाठकलाई हरेक कथा आफ्नै कथा जस्तो, आफ्नै परिवारको कथा जस्तो, आफन्त, साथीभाइ र छिमेकीको कथा जस्तो, आफ्नै वरिपरिको कथा जस्तो लाग्ने। पाठकलाई किन हरेक कथा, हरेक घटना र पात्रहरूप्रति यति धेरै माया, स्नेह, सद्भाव र समानुभूति भएको ? लेखकको लेखकीय जादु र कलाले कथाका पात्रहरूलाई कति जीवन्त राख्न सकेको ? पात्रहरूका पीडादायी घटनाहरूलाई पनि कथानक बनाएर कति न्याय गर्न सकेको ? आम पाठकलाई हरेक कथा आफ्नै कथा हो कि जस्तो बनाउन सक्ने लेखकीय जादु र प्रस्तुतिप्रति एक पाठकका तर्फबाट डा. नवराज के.सी.लाई हार्दिक बधाई।

लेखकले आफ्ना कथाहरू मार्फत पाठकहरूलाई मात्र प्रेरणा दिएका छैनन्, बिरामीको सेवामा समर्पित सम्पूर्ण डाक्टरहरूलाई पनि बिरामीको उपचार गर्दा आफ्नो ज्ञान र अनुभवबाट मात्र होइन मनैदेखि उपचार गर्न प्रेरित गरेका छन्।

कथाकार केसीले आफ्नो पुस्तकमा देखेका र भेटेका पात्रहरूलाई जसरी टपक्क टिपेर कथाका पात्र बनाएका छन्, त्यसरी नै उनीहरूले बाँच्नका लागि गरेका संघर्षहरूलाई कथाको मालामा उनेर पुस्तकलाई कथानक बनाएका छन्। उनले कथामा पात्रहरूका घाउहरू कोट्याएर दु:खाएका मात्र छैनन्, उनीहरूलाई मलमपट्टी पनि गरिदिएका छन्। लेखकले पात्रहरूलाई मात्र होइन, पाठकहरूको घाउमा पनि मलमपट्टी गर्न भ्याएका छन्।

कथाका पात्रहरूले आफ्नो र परिवारका लागि बाँच्न संघर्ष गर्दा भोगेका अभाव, अवहेलना, तिरस्कार, विभेद, हतोत्साह, निराशाहरूसँग युद्ध जितेर प्राप्त गरेको जीवनमा आएको बदलाव र जीवनप्रतिको दृष्टिकोणको माध्यमबाट आम पाठक र समाजमा आशा, प्रेरणा र खुशी मात्र बाँडेका छैनन्, आड, भरोसा र विश्वास पनि दिलाएका छन्। एउटा भुइँमान्छेको कथा हजारौं लाखौं मान्छेहरूका लागि प्रेरणा बन्न सक्छ भन्ने चेतना नै लेखकको भावनात्मक बुद्धिमत्ता हो भन्ने लाग्छ।

त्यसो त उनी लेखक मात्र होइनन्, चिकित्सक पनि हुन्। मान्छेको शरीरको रोग मात्र नभएर उनीहरूको भावनात्मक र सामाजिक पक्षलाई गहिराइसँग अध्ययन गर्न सक्नु पनि लेखकको बलियो पक्ष हो; जसले हरेक बिरामीको उपचारमा मात्र सहयोग गर्दैन, अन्य बिरामीहरूलाई पनि प्रेरणा दिइरहेको हुन्छ। यसरी नै सबै चिकित्सकहरूले आफूमा भएको चिकित्सकीय विशेषज्ञता र भावनात्मक बुद्धिमत्ता प्रयोग गरेर बिरामीको उपचार गर्ने हो भने हरेक चिकित्सकहरू भगवान् भनिने मात्र थिएनन्, समाजमा पुजिने नै थिए।

भारतको कोइलाखानीमा काम गर्ने नेपाली मजदुर जो ट्रकको छतमा बसेर यात्रा गर्ने क्रममा करेन्ट लागेर अस्पतालमा एउटा हात काटिसकिएको र एउटा खुट्टा काट्ने तयारी भएको अवस्थामा होशमा आएका थिए। उनले आफ्नो एउटा खुट्टा काट्ने तयारीका साथ आएका डाक्टरहरूको टिमलाई ‘बडे डाक्टर’ बोलाउन लगाएर आफ्नो खुट्टा नकाट्न अनुरोध र प्रतिवाद गरेका थिए। तर, एक्लो नेपाली मजदुरका कुरा कसले सुन्थ्यो र ?

अन्त्यमा आफ्नो खुट्टा काटिने नै भएपछि मन्दिरेले बडो हिम्मतका साथ शायद कहिल्यै प्रत्यक्ष नदेखेकी, नभेटेकी प्रधानमन्त्री इन्दिरा गान्धीलाई बोलाउँछु भनेपछि उनको खुट्टा नकाटी बडे डाक्टरले नै उपचार गरी ठीक पारेका थिए। एक मजदुर, त्यो पनि अर्को देशको, कहाँबाट आयो होला उसलाई प्रधानमन्त्रीलाई बोलाउँछु भन्ने हिम्मत ? कहाँबाट आयो होला उसलाई इन्दिरा गान्धीको नाम ? केही नभएर पनि सबथोक भए झैं गर्नु, एक्लै बेसहारा भएर पनि कसैको ठूलो साथ र सपोर्ट छ भन्नु, कति फरक पर्दोरहेछ जीवनमा।

आफूलाई कुष्ठरोग लागेपछि गाउँलेको तिरस्कारले गाउँ छोडी शिक्षकबाट माग्नेमा परिणत भएका गर्वे दाइ, डाक्टरको सहयोगपछि रोग निको हुँदै गए पनि बाँच्नका लागि औषधि नै खान छोडेर रोग बल्झाएर फेरि माग्न थालेका थिए। लामो झरी परेपछि पैसा दिने मान्छे नआएर सँगै माग्न बसेको साथीले खान नपाउँदा आफूसँग भएको बचत पैसा दिएर अर्को माग्ने साथी बिरामी भएर अस्पताल लैजाँदा उपचार गर्ने पैसा नभएर पैसाको जोहो गर्न पर्खाल लगाउने काम गर्न थाले।

लेखकसँगको भेटमा उनले भनेका थिए, ‘अर्कालाई दिन जानेपछि मैले माग्न छाडें।’

मन्दिरमा माग्न बस्ने गर्वे दाइलाई यस्तो बुद्धत्व कहाँबाट प्राप्त भयो होला ? आइपरेको जिम्मेवारी मैले जसरी पनि निर्वाह गर्नुपर्छ भन्ने आत्मबोध कसरी प्राप्त भयो होला गर्वे दाइलाई ?

किरण एक टुहुरी अपाङ्ग किशोरी, जो मामामाइजूको सहारामा हुर्केकी थिइन्। उनी मामामाइजूकी एक मात्र सहारा पनि थिइन्। कर्णालीको अभाव र दुःख झेलेर हुर्की–बढी पढेकी पनि थिइन्। तर आफ्नो जीवन आफ्नै लागि, परिवारका लागि र समाजकै लागि पनि बोझ भएको ठानी कर्णाली नदीको तीरमा गई हामफाल्नै लाग्दा ‘म मर्न खोज्दैछु’ भनेर लेखकलाई फोन गरेकी थिइन्। जीवनदेखि हरेस खाएकी एक किशोरीले के त्यस्तो आशाको उज्यालो देखेर लेखकलाई फोन गरिन् होला ? मर्न हिंडेकी केटीलाई कुन विवेकले लेखकको नाम र फोन नम्बर याद गरायो होला ?

सुसाइड नोट लेख्दालेख्दै भेटेर आमाबुबाले अस्पताल ल्याइएका किशोरलाई उपचार गर्नुको सट्टा डाक्टरले सुनाएका भुइँमान्छेका कथाहरूप्रति कसरी भरोसा लाग्यो होला ? मर्ने योजना बनाएको किशोर दोस्रो दिन डाक्टरले दिएकै समयमा, डाक्टरले भने जसरी नै कलम र डायरी च्यापेर किन आयो होला ? डाक्टरले कुष्ठरोगीहरूलाई नुहाउने काममा लगाउँदा उनीहरूलाई नुहाइसकेर उनीहरूसँगै रमाउँदै टिकटक बनाउने उत्साह कहाँबाट आयो होला ? किशोरले डाक्टरप्रति भरोसा गर्‍यो कि भुइँमान्छेका कथाका पात्रहरूप्रति ? सुसाइड गर्न हिंडेको किशोर कसको प्रेरणाले देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पुग्यो होला ?

सानी नानी जो चरम निराशा र छटपटीमा थिइन्। आफ्नो पीडा आमाबुबा, आफन्त र साथीभाइ कसैसँग केही भन्न सकेकी थिइनन्। मर्नु भनेको के हो भन्ने पनि थाहा नपाउने उमेरमा उनी मर्न चाहन्थिन्। आमाबुबा, साथीभाइ कसैसँग पनि पोख्न नसकेको पीडा के विश्वासले लेखकलाई पोखिन् होला ? लेखकसँग कस्तो विश्वासको डोरीले बाँध्यो होला ती सानी नानीलाई र ठूलोबाले आफूलाई दु:खाएको कुरा भन्न सकिन् होला ?

अरूलाई दिएको माया आफ्ना लागि उपचार पो हुने रहेछ भन्ने दिव्य ज्ञान पाएका भेडा, टाउकामा लागेको ठूलो चोटका कारण मानसिक रूपमा विक्षिप्त थिए। डाक्टरको नियमित औषधि र परिवारको रेखदेखले पनि सञ्चो नभएका उनी अन्धकारमा जीवन काटिरहेका थिए। दिशाविहीन भएर बरालिंदै हिंड्दा एकदिन फोहोरको थुप्रोमाथि अर्धबेहोशी अवस्थामा फेला परेको कुकुरले उनको जीवनको गोरेटो भेट्टाइदियो। फोहोरको थुप्रोमा भोक र रोगले झन्डै मर्ने अवस्थामा भेटिएको कुकुरले के त्यस्तो शक्ति दियो जसले भेडाको जीवनको दिशानिर्देश गरिदियो ? सडकपेटीमा भेटिएका आफैं शक्तिहीन र बेसहारा पशुपन्छीमा के त्यस्तो अद्भुत शक्ति र सहारा पाए ? यस्ता पशुपन्छीको उद्धार गर्ने क्रममा भेडाको मानसिक अवस्था साधारण भई औषधि नै खान नपर्ने भयो र उनको दैनिकी नै फेरियो।

बुबाको ‘म छु नि है’ भन्ने एउटा साधारण वाक्यले दिएको हौसलाले अस्मितालाई कर्णालीको चरम गरिबी र विभेदलाई छिचोल्दै उच्च शिक्षाका लागि काठमाडौंसम्म यात्रा तय गर्न र कर्णालीका बादी समुदायका बालबालिकाको अभिभावकत्व लिंदै शिक्षा दिन प्रेरित गर्‍यो। ऋणले थलिएका बुबाआमाको ऋण तिरिदिएर बुबाआमालाई नै ‘म छु नि है’ भन्दै फर्किएको भरोसाको कथाले पक्कै पनि आजको युवा पुस्तालाई आमाबुबाप्रतिको जिम्मेवारीबोध गराउनेछ।

भेडाको कथाले असहायहरूको माया र हेरचाह गर्दा आफ्नो बाँच्ने सहारा भेटिने रहेछ भन्ने ज्ञान पाइनेछ।

मन्दिरमा माग्न बस्ने गर्वे दाइको ‘दिन जानेपछि माग्न छाडेका’ कथाले जिम्मेवारी, कर्तव्य र दायित्वबोध गराउनेछ। गर्वे दाइको कथाले आफू रित्तिएर अरूलाई दिंदा हुने आत्मसन्तुष्टिले जीवनलाई हेर्ने दृष्टिकोण नै बदलिंदोरहेछ भन्ने शिक्षा दिनेछ। मन्दिरेको कथाले आफूसँग केही नभए पनि सबथोक छ भन्ने हिम्मत राख्दा जस्तोसुकै अप्ठ्यारो परिस्थितिको पनि सामना गर्न सकिने रहेछ भन्ने पाठ सिकाउनेछ। सुसाइड गर्न लागेका किशोर र किशोरीको कथाले आफ्नोभन्दा अरूको दुःखलाई नजिकबाट नियाली दुःखमा परेकालाई सहयोग गर्ने र जीवनको अर्थ बुझ्नुपर्छ भन्ने ज्ञानबोध गराउनेछ।

भेडाको कथाले असहायहरूको माया र हेरचाह गर्दा आफ्नो बाँच्ने सहारा भेटिने रहेछ भन्ने ज्ञान पाइनेछ। एसओएसमा जागिर खाएर बसेकी एउटी निःसन्तान आमाको कथाले हरेक आमा र सन्तानहरूलाई मातृत्व के हो र सन्तानको खुशी के हो भन्ने कुराको बोध गराउनेछ। यस्ता धेरै कथाहरू छन् जसले पाठकलाई केही न केही सोच्न बाध्य बनाउनेछन्। यहाँका भुइँमान्छेका कथाले शिक्षा, स्वास्थ्य र रोजगारीका लागि शहर पसेर संघर्ष गर्दागर्दै एक्लिएको हाम्रो पुस्ता र एकल परिवार तथा सामाजिक सम्बन्धको साँघुरो आयतनभित्र हातमा प्रविधि लिएर जन्मे–हुर्केको पछिल्लो पुस्तालाई पनि आशा जगाउनेछन्। प्रेरणा दिनेछन्। भरोसा गराउनेछन्। विश्वास दिलाउनेछन्। खुशी बाँड्नेछन्।

लेखकले आफ्ना कथाहरू मार्फत पाठकहरूलाई मात्र प्रेरणा दिएका छैनन्, बिरामीको सेवामा समर्पित सम्पूर्ण डाक्टरहरूलाई पनि बिरामीको उपचार गर्दा आफ्नो ज्ञान र अनुभवबाट मात्र होइन मनैदेखि उपचार गर्न प्रेरित गरेका छन्। बिरामीका हरेक आयामलाई बुझेर उपचार गर्न सुझाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?