News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वी चितवन कृषि, पर्यटन र जैविक विविधताको प्रचुर सम्भावना बोकेको क्षेत्र भए पनि एकीकृत विकास योजनाको अभावमा अपेक्षित लाभ लिन सकिएको छैन।
- राप्ती र लोथर नदीको बाढी तथा वन्यजन्तुसँगको द्वन्द्व न्यूनीकरण गर्न एकीकृत विकास प्राधिकरण गठन गरी दिगो पूर्वाधार निर्माण गर्नु आवश्यक छ।
- स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्दै ‘फार्म टु टेबल’ अवधारणा लागू गरेमा वार्षिक रूपमा भइरहेको आर्थिक चुहावट रोकी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन सकिन्छ।
मानिसको जीवनमा जन्मभूमिसँगको सम्बन्ध भूगोलसँग मात्र सीमित हुँदैन; त्यो त स्मृति, संघर्ष, पहिचान र भविष्यका सपनासँग गाँसिएको हुन्छ। मेरो लागि पूर्वी चितवन एउटा स्थान मात्र होइन, यो मेरो जन्मभूमि हो, बाल्यकालका संघर्षहरूको साक्षी हो र इन्जिनियरिङ अध्ययन पूरा गरेपछि करिब आठ वर्ष निरन्तर सेवा गर्दा आफ्नो ज्ञान, सीप र अनुभव व्यवहारमा उतारेको कर्मभूमि पनि हो।
यसै क्रममा मैले पूर्वी चितवनलाई दुई फरक दृष्टिकोणबाट बुझ्ने अवसर पाएँ- एउटा यही माटोमा हुर्केको स्थानीयका रूपमा र अर्को विकास योजना कार्यान्वयन गर्ने प्राविधिकका रूपमा। मेरो पेसागत अनुभवका क्रममा चितवनको भूगोलमा देखिएका समस्या र अवसरहरूको मूल्याङ्कनले पूर्वी चितवनको समग्र राष्ट्रिय अर्थतन्त्रमा कति गहिरो प्रभाव पार्न सक्छ भन्ने कुरा सम्बन्धित निकायसम्म पुर्याउने हेतुले यो आलेख तयार पारेको हुँ।
आजको पूर्वी चितवनलाई झट्ट हेर्दा उर्वर भूमि, कृषि उत्पादन, जैविक विविधता र पर्यटनको सम्भावना मात्र देखिन्छ। तर, यस भूमिले पार गरेका कठिन अध्याय सम्झिने हो भने वर्तमान उपलब्धिको वास्तविक मूल्य अझ स्पष्ट हुन्छ। राष्ट्रिय राजमार्गसँग जोडिएको, राजधानीसँग तुलनात्मक रूपमा नजिक रहेको यस भूभागका बासिन्दाले दशकौंसम्म अत्यन्त कष्टकर जीवन बिताए।
एकातर्फ विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज संरक्षणको जिम्मेवारी, अर्कोतर्फ स्थायी बसोबाससमेत असुरक्षित बनाइदिने राप्ती र भित्री नदीका बाढी ! यी दुईबीच पूर्वी चितवनका नागरिकको जीवन निरन्तर संघर्षमै बित्यो। यसैले कुनै समय यस क्षेत्र ‘तराईको कर्णाली’ का रूपमा पनि परिचित थियो।
विकास यात्रा र वर्तमान अवस्था
पूर्वी चितवनको वास्तविक परिचय नदी संरक्षण, बसाइँसराइको गन्तव्य, कृषि र दशकौं लामो जनसंघर्षसँग गाँसिएको छ। उत्तरतर्फ चुरे र महाभारत पर्वत शृङ्खलाबाट बग्ने असंख्य खहरे, दक्षिणतर्फ राप्ती र लोथर नदी अनि बीचमा फैलिएको उर्वर समथर भूभाग- यही भूबनोटले पूर्वी चितवनलाई एकातर्फ उत्पादनका लागि उपयुक्त बनायो भने अर्कोतर्फ प्राकृतिक विपद्को उच्च जोखिममा पनि राख्यो।
वर्षायाममा चुरेबाट बग्ने गेग्रानले नदीको सतह क्रमशः उकास्दै लग्यो। कतिपय ठाउँमा नदीको सतह मानव बस्तीभन्दा माथि पुगेपछि सामान्य वर्षाले समेत ठूलो जोखिम निम्त्याउने भयो। राप्ती, लोथर र भित्री खोलाको बाढीले खेतीयोग्य जमिन, बस्ती र पूर्वाधारमा पुर्याएको क्षति बर्सेनि दोहोरिने नियति जस्तै थियो र छ।
२०४७, २०५० र २०५९ सालका बाढीले हजारौं परिवारलाई प्रत्यक्ष असर गर्यो। स्वर्गीय जेपी भेटवालले पूर्वी चितवनलाई बसोबासयोग्य र सुरक्षित बनाउन खेलेको भूमिका सम्मानपूर्वक स्मरणीय छ। बाढी नियन्त्रण, राप्ती–लोथर तटबन्ध निर्माण, सिँचाइ विस्तार, घरबारविहीन परिवारको व्यवस्थापन र सडक विस्तारका प्रयासहरू भए तापनि दिगो संरक्षण र व्यवस्थापनको अभाव, विश्वव्यापी चुनौतीका रूपमा रहेको जलवायु परिवर्तनको असर र वन्यजन्तुसँगको संघर्षले थप समस्या सिर्जना गरिरहेका छन्। त्यसैले, अबको आवश्यकता विगतका उपलब्धिको संरक्षणका साथै प्राकृतिक प्रणाली बुझेर विकासको नयाँ ढाँचा निर्माण गर्नु हो।
राष्ट्रिय अर्थतन्त्रको बलियो आधार
करिब २८ हजार हेक्टर कृषियोग्य जमिन भएको यस क्षेत्रले नेपालको खाद्य तथा कृषि अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याइरहेको छ। अण्डा र कुखुराको मासुमा करिब २५–३० प्रतिशत, मह उत्पादनमा २०–२५ प्रतिशत, केराखेतीमा १०–१२ प्रतिशत, दूधमा ४–५ प्रतिशत, धानमा करिब १.२ प्रतिशत र तरकारीमा ३–३.५ प्रतिशत योगदानसहित पूर्वी चितवन नेपालको प्रमुख कृषि उत्पादन केन्द्रमध्ये एक हो।
थारूदेखि अति सीमान्तकृत चेपाङसम्मका विविध जातीय/सांस्कृतिक समूहको सहअस्तित्व र समथर भूभागदेखि पहाडी पाखासम्म फैलिएको भूबनोटले यस क्षेत्रलाई बहुआयामिक पहिचान दिएको छ। ७० भन्दा बढी प्रजातिका स्तनधारी, ६०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी र ५० भन्दा बढी प्रजातिका सरीसृपसहितको जैविक विविधता, एकसिङ्गे गैंडा, पाटेबाघ, घडियाल गोही र रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्रले चितवन राष्ट्रिय निकुञ्जलाई विश्वमै परिचित बनाएका छन्।
यही सम्पदाले पर्यटनलाई बलियो आधार दिएको छ। नेपालकै तेस्रो ठूलो पर्यटकीय गन्तव्यमध्ये एक मानिने पूर्वी चितवनमा वार्षिक करिब २ लाख ५० हजार पर्यटक आउँछन्, जसले नेपालको समग्र पर्यटन गतिविधिमा करिब १५ प्रतिशत योगदान पुर्याएको छ।
देशमा आउने जंगल सफारी पर्यटकमध्ये करिब ७० प्रतिशत यहीँ आउँछन्। यसबाट वार्षिक करिब ७ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान छ। तर, यसको ६०–७० प्रतिशत हिस्सा आर्थिक चुहावट (इकोनोमिक लिकेज) का रूपमा स्थानीय अर्थतन्त्रबाट बाहिरिन्छ। अर्थात्, सिर्जित मूल्यको ठूलो अंश यहीँको उत्पादन, रोजगारी र उद्यममा रूपान्तरण हुन सकेको छैन।
किन अपेक्षाअनुसार परिणाम आउन सकेन?
पछिल्ला तीन दशकमा पूर्वाधार, कृषि र पर्यटनको क्षेत्रमा उल्लेखनीय प्रगति भए तापनि एकीकृत दृष्टिकोण र दीर्घकालीन सोचको अभावमा पूर्वी चितवनले आफ्नो वास्तविक क्षमता उजागर गर्न सकेको छैन।
हाम्रा विकासका योजनाहरू तत्कालीन आवश्यकता टार्ने गरी छरिएर अघि बढे, जसले गर्दा सडक, सिँचाइ, पर्यटन, निकुञ्ज र नदी संरक्षणजस्ता पर्यावरण तथा अर्थतन्त्रसँग जोडिएका महत्त्वपूर्ण आयामहरू सँगसँगै हिँड्न सकेनन्। नीतिगत र कार्यगत तहमा कृषि, पर्यटन, नदी प्रणाली र जैविक विविधतालाई एउटै साझा दृष्टिमा जोड्ने बलियो संस्थागत समन्वयकारी संयन्त्रको सधैं अभाव रहिरह्यो।
सत्तारूढ रास्वपाको कार्यभार
नयाँ राजनीतिक शक्तिका रूपमा रास्वपाले सुशासन, पारदर्शिता, नतिजामुखी प्रशासन, आर्थिक रूपान्तरण र दीर्घकालीन सोचको आवश्यकतालाई प्रमुख राजनीतिक र प्रशासनिक एजेन्डा बनाएको छ। यी प्रतिबद्धता व्यवहारमा रूपान्तरण गर्ने हो भने पूर्वी चितवनजस्तो सम्भावना बोकेको क्षेत्र स्वाभाविक रूपमा प्राथमिकतामा पर्नुपर्छ। यही भूमिले रास्वपाको राजनीतिक यात्रालाई राष्ट्रिय उचाइमा पुर्याउन ऐतिहासिक भूमिका खेलेको छ।
चितवन रास्वपाको जन्मभूमि हो, पार्टी सभापतिको कर्मभूमि हो र ठूलो पार्टीको आधारभूमि पनि हो। यति भनिरहँदा यहाँका अन्य पार्टीको भूमिकालाई नजरअन्दाज गर्न खोजिएको भने होइन, मात्र अभिभावकीय भूमिकामा रहेको पार्टीलाई जिम्मेवार बनाउन खोजिएको हो। यसको द्रुत विकासका लागि रास्वपालाई डोर्याउने काममा अन्य पार्टी, नागरिक समाज तथा सम्पूर्ण सरोकारवालाको महत्त्व आज व्यापक छ।
रास्वपाले अघि सारेको १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र र १२ लाख रोजगारी सिर्जनाको लक्ष्य घोषणापत्रका शब्दमा मात्र सीमित रहनु हुँदैन। कृषि, पर्यटन, संरक्षण, अनुसन्धान, उद्यम र स्थानीय उत्पादनलाई एउटै आर्थिक प्रणालीमा जोड्न सकियो भने पूर्वी चितवनले राष्ट्रिय अर्थतन्त्रको गतिलाई नयाँ उचाइमा पुर्याउन सक्छ भन्ने कुरामा कसैको दुईमत नहोला।
अबको प्राथमिकता : उच्चतम व्यावसायीकरणका लागि समाधानका उपायहरू
वर्तमान समयमा चितवनको भविष्यका लागि नयाँ अवसर खोज्नेमा भन्दा पनि पहिलेदेखि रहेका स्रोतलाई नयाँ दृष्टिले व्यवस्थापन गर्नेमा पहल गर्नुपर्छ। अबको आवश्यकता छुट्टाछुट्टै योजना होइन, एकीकृत विकास प्रणाली हो। यस सन्दर्भमा ‘एकीकृत चितवन पर्यटन तथा विकास प्राधिकरण’ जस्तो संस्थागत संयन्त्र गठन गर्ने विषयमा गम्भीर बहस आवश्यक देखिन्छ। यसको उद्देश्य नयाँ सरकारी कार्यालय थप्नु होइन, बरु संरक्षण, पर्यटन, कृषि, पूर्वाधार, विपद् व्यवस्थापन र नदी नियन्त्रण गर्ने निकायहरूबीच सहकार्य र समन्वय स्थापित गर्नु हो।
राष्ट्रियदेखि अन्तर्राष्ट्रिय ऐन–नियमले जेलिएको यस क्षेत्रको व्यावसायीकरण गर्न एकीकृत अधिकारसम्पन्न संस्था बाहेक सम्भव छैन। साथै, सरकारले पनि यस्तै छिटो र कम लागतमा दीर्घकालीन प्रतिफल दिने योजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउनुपर्छ। कृषि र पर्यटनलाई एकीकृत गर्ने यस्ता आयोजनाले कम लागतमा उच्च प्रतिफल र व्यापक रोजगारी दिन सक्छन्।
पर्यटनलाई पनि अब नयाँ दृष्टिले हेर्नुपर्ने भएको छ। वर्षौंदेखि जंगल सफारी, गैंडा र बाघ हेर्ने अनुभवमा मात्र केन्द्रित पर्यटनलाई विस्तार गर्न आवश्यक छ। मध्यवर्ती क्षेत्रका निश्चित भागलाई वैज्ञानिक अध्ययनका आधारमा प्रकृतिमैत्री ‘खुला वन्यजन्तु अवलोकन क्षेत्र’ (ओपन जु कन्सेप्ट) का रूपमा विकास गर्न सकिन्छ, जसले निकुञ्जको मूल संरक्षण क्षेत्रलाई असर नगरी पर्यटकीय अनुभवलाई थप विश्वसनीय बनाउँछ।
राप्ती–लोथर नदी प्रणाली र सिमसार क्षेत्रलाई आधार बनाई जलआधारित मनोरञ्जन र प्रकृति शिक्षाजस्ता वर्षभरि चल्ने पर्यटनका नयाँ आयाम खोज्न जरुरी छ। यसबाहेक माइस टुरिजम, स्वास्थ्य पर्यटन, अनुसन्धान पर्यटन, खेल पर्यटन र कृषि पर्यटनको पनि उत्तिकै सम्भावना छ।
मध्यवर्ती क्षेत्र र मानव बस्तीको सिमानामा ‘हाई राइज रोड’ सहितको अग्लो सडक निर्माण गर्दा यस क्षेत्रमा दूरगामी र सकारात्मक परिणामहरू महसुस हुनेछन्। यो पूर्वाधारले वर्षायाममा आउने विनाशकारी बाढीलाई बस्तीमा पस्नबाट रोक्नुका साथै वन्यजन्तु र मानवबीचको सिमाना छुट्ट्याई ‘मानव–वन्यजन्तु द्वन्द्व’ लाई समेत स्थायी रूपमा न्यूनीकरण गर्नेछ। यस्तो अग्लो सडकलाई पर्यापर्यटनका लागि ‘सफारी रुट’ का रूपमा प्रयोग गर्दा पर्यटकहरूले सुरक्षित र रोमाञ्चक ढंगले प्रकृतिको अवलोकन गर्न पाउनेछन्।
तथ्याङ्कअनुसार चितवन आउने पर्यटकको औसत बसाइ करिब २.२ दिन र दैनिक खर्च करिब १३८ अमेरिकी डलर मात्र छ। जबकि भुटानले उच्च मूल्यमा आधारित पर्यटन नीतिमार्फत बसाइ ५–७ दिन र दैनिक खर्च २५०–३०० डलरसम्म पुर्याएको छ। भुटानकै मोडल अपनाउनुपर्छ भन्ने होइन, तर पनि ‘उच्च मूल्य सिर्जना गर्ने पर्यटन’ तर्फ सोच्ने समय आएको छ।
समुद्र सतहदेखि करिब २०० मिटरदेखि १,९०० मिटरसम्म फैलिएको यस भूगोलमा १०–१५ किलोमिटरभित्रै असाधारण वातावरणीय विविधता पाइन्छ— तल्लो तटीय क्षेत्रको थारू संस्कृतिदेखि माथिल्लो भेगको चेपाङ जीवनशैलीसम्म। तर, यी सबैलाई आजसम्म एउटै एकीकृत प्याकेजमा समेटेर सेवा दिन सकिएको छैन, जसका कारण सौराहापछि पर्यटकहरूले चितवनको भ्रमण अधुरो भएको अनुभूति गरिरहेका छन्।
हुग्दीदेखि उपरदाङगढीसम्मको ‘चेपाङ ट्रेल’ लाई शक्तिखोर, सिद्दी, कान्दाचुली, कालिटार, लोथर हुँदै सौराहासम्मै जोड्न सकियो भने यो साहसिक पर्यटनको प्रमुख गन्तव्य बन्न सक्छ। विशेषगरी गर्मी छल्न आउने भारतीय पर्यटकका लागि उपयुक्त स्थानका रूपमा विकास गर्न सकिने सम्भावना व्यापक छ।
पर्यटन क्षेत्रबाट बाहिरिइरहेको वार्षिक ३ अर्बको आर्थिक चुहावट रोक्न स्थानीय उत्पादन र बजारलाई जोड्नु अपरिहार्य छ। पर्यटन व्यवसायमा खपत हुने खाद्यपदार्थका लागि बाह्य परनिर्भरता न्यूनीकरण गर्न तल्लो भेगको उन्नत खेती र माथिल्लो चेपाङ बस्तीको प्राङ्गारिक (अर्गानिक) उत्पादनलाई व्यावसायिक रूपमा प्रवर्द्धन गरिनुपर्छ। किसानको खेतबारीदेखि पर्यटकको टेबलसम्म (फार्म टु टेबल) सिधा आपूर्ति सुनिश्चित गर्न आवश्यक छ।
अन्त्यमा, विशिष्ट भूगोल र प्राकृतिक सम्पदाले भरिपूर्ण चितवन अपार सम्भावनाको भूमि हो। प्राकृतिक समस्याहरूलाई दिगो योजनामार्फत सम्बोधन गर्दै कृषि, पर्यटनसहित सबै क्षेत्रको एकीकृत विकास गर्न सके चितवनको समृद्धि समग्र राष्ट्रिय अर्थतन्त्रका लागि कोसेढुङ्गा साबित हुनेछ।
प्रतिक्रिया 4